सर्वोच्च अदालतमा आगजनीको आरोपमा २ जना पक्राउ

प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका २ जनामाथि ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापाको भद्रपुर नगरपालिका–१ बस्ने २८ वर्षीया ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ बस्ने ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसरका अनुसार, उनीहरू भदौ २४ गते प्रदर्शनको क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनीका साथै सुरक्षाकर्मीको हतियार लुटपाटमा पनि संलग्न थिए। उनीहरूमाथि प्रदर्शनकारीहरूलाई आपराधिक कार्यका लागि उक्साउने र उत्तेजित बनाउने अपराधमा संलग्न भएको समेत आरोप छ।

परिसरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ। “नियन्त्रणमा लिइएका दुई जनालाई काठमाडौँ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव गर्न नहुने कसुर’मा अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिइएको छ,”  उनले भने।