क्वार्टरफाइनलमा ब्राजिल र क्राेएसिया भिड्ने, नेयमार बने विश्वकपको ३ संस्करणमा गोल गर्ने तेस्रो ब्राजिलियन

ब्राजिल कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराउँदै क्राेएसियासँगकाे भेट पक्का गरेकाे हाे।

तस्वीर : फिफा

काठमाडाैँ– दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराउँदै पाँच पटकको च्याम्पियन ब्राजिलले क्राेएसियासँगकाे भेट पक्का गरेकाे हाे। खेलको सातौँ मिनेटमा नै भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाएका थिए। १९औँ खेलमा ब्राजिलका लागि भिनिसियसको यो दोस्रो गोल हाे भने जारी विश्वकपमा पहिलो गोल हो।

१३औँ मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनाएको थियो। रिचार्लिसनलाई फाउल गरेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएका थिए। नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए। नेयमारको यो ७६औँ अन्तर्राष्ट्रिय गोल हो। उनी ब्राजिलका लागि सर्वकालीन सर्वाधिक गोलकर्ताको रूपमा पेलेभन्दा एक गोल मात्र पछाडि छन्। नेयमारले ब्राजिलका लागि अन्तिम ६ गोल पेनाल्टीमा गरेका छन्।

नेयमार जारी विश्वकपको पहिलो खेलमा घाइते भएका थिए र समूह चरणका बाँकी दुई खेल खेलेका थिएनन्। टोलीमा फर्किने बित्तिकै उनले यो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेयमार विश्वकपको तीन संस्करणमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी पनि बनेका छन्। नेयमारले सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा गोल गरेका छन्। नेयमारभन्दा पहिले महान फुटबलर पेले (१९५९, १९६२, १९६६, १९७०) र रोनाल्डो नाजारियो (१९९८, २००२, २००६) को संस्करणमा लगातार गोल गरेका थिए।

२९औँ मिनेटमा रिचार्लिसनले सेट पिसमा उत्कृष्ट गोल गरे। ३६औँ मिनेटमा भिनिसियसको पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि चौथो गोल गरेका थिए। ब्राजिलले पहिलो हाफमा चार गोल गरेको थियो। यसअघि ब्राजिलले सन् १९५४ मा मेक्सिकोविरुद्ध पहिलो हाफमा चार गोल गरेको थियो।

ब्राजिल सन् २०१४ पछि विश्वकपको नकआउट चरणको पहिलो हाफमा चार गोल गर्ने पहिलो टोली बनेको छ। सन् २०१४ को विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध जर्मनीले पहिलो हाफमा चार गोल गरेको थियो। ७६औँ मिनेटमा ब्राजिलको बक्स बाहिरबाट कोरियाका पाइक सेउङ होले उत्कृष्ट गोल गरे। सन् १९८६ को विश्वकपपछि कोरियाले भन्दा ब्राजिलले मात्र बक्स बाहिरबाट धेरै गोल गरेको छ। सन् १९८६ को विश्वकपमा कोरियाले पहिलो गोल गरेको थियो।

त्यसयता ब्राजिलले बक्स बाहिरबाट १६ गोल गरेको छ भने कोरियाले १५ गोल गरेको छ। दोस्रो हाफमा ब्राजिलको टोलीले त्यति राम्रो खेल देखाउन सकेन। सन् १९९८ पछि पहिलो पटक ब्राजिलले विश्वकपको नकआउट चरणमा चार गोल गरेको छ। सन् १९९८ मा ब्राजिलले चिलीलाई ४-१ ले हराएको थियो।

ब्राजिलले समूह चरणमा तीन टोलीविरुद्ध कुल ३ गोल गरेकोभन्दा दक्षिण कोरियाविरुद्ध ३६ मिनेटमा बढी (४) गोल गरेको थियो। ब्राजिलले साेमबारकाे खेल क्यान्सरसँग जुधिरहेका महान् फुटबलर पेलेप्रति समर्पित गरेकाे थियाे।