इजरायलका ‘नयाँ शर्तहरू’ अमान्य भन्दै वार्ताबाट पछि हट्यो हमास

हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि अमेरिकालगायतका मध्यस्थकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ।  

हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ शर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ। 

जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको अलजजिराले जनाएको छ।

वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो। गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्थकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ।  

हमासले अमेरिकी राष्ट्रपति बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई–२ को सम्झौतामा मात्र सहमत हुने दावी गरेको हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजापट्टीबाट पूर्ण रूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिए।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्वीकार्नका लागि नयाँ शर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ शर्त आफ्नो समूहका लागि मान्य नहुने बताएका थिए।

हमदानका अनुसार नयाँ शर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी कोरिडोरमा इजरायली सेनाको पुनःस्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दावी छ। यसैबीच नेतन्याहुले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहने कुरामा जोड दिएका छन्।

हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासि गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो। 

बदलामा इजरायलले गाजामा शुरू गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। 

यसैबीच, हमास निकट समूहविरूद्धको कारबाहीस्वरूप इजरायलले शुरू गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ। आइतबार इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो। तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए।

हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबीच ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको थियो।