सहभागी प्रिय साथीसंगीसँग पुगेजति सबै सुन्दर ठाउँमा प्रशस्त फोटो खिचेँ। ती सबै फोटोभन्दा चम्किलो भएर आँखामा घुमिरहेको थियो मेरो बाटो कुरिरहेका कलिला छोराहरूको मासुम आकृति।
जुम्ल्याहा बच्चाको आमा भएपछि मैले झन्डै बाहिरी संसार भुलिसकेको थिएँ। घरबाट निस्कने एक मिनेट पनि थिएन मसँग। कामकाजबाट फुर्सद भएको एक दिन चितवनकी साथी प्रमितालाई फोन गरेको थिएँ। हालखबर सोधपुछपश्चात् उनले उत्साहसाथ भनिन्, “पत्रकार महासंघ चितवनले पत्रकार महिलाका लागि पोखरा भ्रमण तयारी गर्दै छ, दुई दिन समय निकालेर जसरी पनि जानुपर्छ ल।”
प्रमिता मेरो सहपाठी मात्र नभई पत्रकार महासंघ चितवनको उपाध्यक्ष पनि थिइन्। अझ यस भ्रमण कार्यक्रमको संयोजक पनि रहिछन्। त्यसो हुँदा सूचना पूर्ण आधिकारिक थियो। बरु मैले दुई दिनका लागि घरबाट छुट्टी निकाल्न सक्नेमा भने आफैँभित्र सन्देह थियो। विगत पाँच वर्षयता मेरो दिनचर्या त्यसअघिको स्वतन्त्र र पेसागत पत्रकारभन्दा जुम्ल्याहा बच्चाका आमाको रूपमा व्यतीत हुँदै आएको थियो।
मातृत्वको दैनिक अभिभाराबाट छुट्टी लिएर एक दिन मात्र पनि घर बाहिर विचरण गर्न मलाई सम्भव थिएन। कसैको दबाब या बन्देजले बाँधिनु परेको होइन। एक जिम्मेवार आमा हुनुका नाताले दुई कलिला सन्तान छाडेर निस्फिक्रीसँग डुल्ने स्वीकृति आफ्नै मनले नदिएपछि गुनासो पनि कोसँग गर्नु?
तर मेरा बाबुहरू स्कुल जान थालेकाले यस पटकको प्रस्ताव भने अस्वीकार गर्नुपर्ने बाध्यता आई नपर्ला भन्दै पुलकित भएँ। भ्रमणको मिति पर्खँदै बसेँ। प्रमितासँग कुराकानी भएको तीन चार दिनपछि महासंघकै अर्की सदस्य समीक्षा पुरीले २०७९ फागुन १३ र १४ गतेका लागि भ्रमण तय भएको जानकारी गराइन्। मिति तय भएपश्चात् हरेक दिनजसो मेरो मन पोखरा जाँदै र आउँदै गरिरह्यो। तर मनलाई जस्तो निर्बाधसँग निस्कने अवसर ज्यानलाई त्यति सजिलै कहाँ मिल्थ्यो र!
व्यग्र पर्खाइबीच बल्लतल्ल निर्धारित मिति फागुन १३–१४ आउनै लागेको थियो। मेरो अनुपस्थितिमा बाबुहरूको पूर्ण रेखदेखको जिम्मा उनीहरूका बाबाले लिन मन्जुर गरिसक्नुभएकोले म ढुक्क थिएँ। तथापि, घरबाट निस्कन छुट्टी नमिल्ने अन्य भइपरी आउने कारणका सम्भावना पनि यथेष्ट थिए। कुनै प्रतिकूल परिस्थितिले मलाई रोकिहाल्ने पो हो कि भन्ने भयले मन धुकचुक भइरहेको थियो।
आखिर जे नहोस् भन्ने सोचेको थिएँ, त्यही भइछाड्यो। पहिलेदेखि नै बिरामी सासूआमा ११ गते मध्यरात सिकिस्त हुनुभयो। पोखरा जान तम्तयार भएर फटफटाइरहेका मेरा पखेटाको वेगलाई हठात् उत्पन्न परिस्थितिवश संयमपूर्वक रोकेर सासूआमाको सेवा र औषधि उपचारमा आफूलाई तयार बनाएँ। चिन्तित मनलाई सान्त्वना दिँदै सम्झाउने कोशिश गर्दै थिएँ। फुरुङ्ग भएर खुट्टा उचालिसकेपछि रोकिनुपर्दा स्विकार्न एकातिर गाह्रो भइरहेको थियो, अर्कोतिर आफैँले आफैँलाई खुच्चिङ भनेर गिज्याइरहेको आभास हुँदै थियो।
कहिलेकाहीँ परिस्थितिले पनि आफूलाई सच्याउँदो रहेछ, सुखद संयोग जुर्दाे रहेछ। एकातिर आमाको स्वास्थ्यमा सुधार हुँदै गयो भने अर्कोतिर १२ गते दिउँसोतिर प्राविधिक कारणवश पोखरा भ्रमण एक हप्तापछि सरेको सूचना पाएँ। पाँच वर्षमा बल्लबल्ल आउन लागेको अवसर गुम्ने अवस्था आउँदा खिन्न भएको मनमा आशा र उत्साह पुनः तरंगित भएर आयो। त्यसपछि मेरो सम्पूर्ण ध्यान फागुन १९ र २० का लागि पक्का भएको पोखरा यात्रालाई कसरी सुमधुर र अविस्मरणीय बनाउने भन्नेमा केन्द्रित भयो।
निर्धारित समय तालिकाअनुसार घरमा दुई दिनको लागि सबै चाँजोपाँजो मिलाइवरी फागुन १९ गते बिहान ३ बजे नै उठेर भक्तपुरको बालकोटबाट कलंकी पुग्दा बल्ल ४ बज्दै थियो। तत्कालै चितवन जाने पहिलो माइक्रोबसको टिकट लिएँ। तर यात्रु भरेर छुटेको माइक्रोबस गुड्दा ५ बजिसकेको थियो। चितवनबाट भ्रमण टोली लिएर पोखरातर्फ प्रस्थान गरेको बसलाई मैले मुग्लिङमा भेट्न पुग्नुपर्ने थियो।
पूर्वसूचनाअनुसार चितवनबाट मेरा साथीहरूले भरिभराउ भएर छुट्ने बस ७ बजे नै मुग्लिङ आइपुग्थ्यो। तर मलाई काठमाडौँबाट त्यहाँ पुग्न ३ घण्टा लाग्ने भएकाले ८ नबजी पुग्न सक्ने स्थिति देखिएन। त्यसका बाबजुद चितवनबाट हिँड्दै गरेका साथीहरूले पालैपालो फोन गरेर “कहाँ आइपुग्यौ?” भनी सोधिरहेका थिए। मेरो कारण सबैलाई लामो समय बीच बाटोमा कुराउनु शोभनीय हुँदैनथ्यो। तसर्थ, “समयमै आइपुगिनँ भने अर्को गाडी चढेर सोझै पोखरा आउँछु, तिमीहरू जाँदै गर” भनिरहेको थिएँ।
बस चितवनबाट हिँड्न केही ढिला भएका कारण झन्डै ८ बज्न लाग्दा मात्रै मुग्लिङ आइपुगेछ। मलाई केहीबेर पर्खेर सँगै लैजाने मनसायले सबै साथी मुग्लिङपारि तनहुँको मर्स्याङ्दी जलविद्युत् गृहको अगाडि चिया नास्ता गर्दै बसेका रहेछन्। मुग्लिङ ओर्लिएपछि मलाई त्यहीँका बासिन्दा दाजुले स्कुटरमा बससम्म पुर्याइदिनुभयो। जब म त्यहाँ पुगेँ, तब साथीहरूको न्यानो स्वागतले मन त्यसै भावुक भएर आयो। लामो समयदेखि प्रत्यक्ष भेटघाट नभएका साथीसंगी एकसाथ भेटिँदाको क्षण भएकाले सुमधुरता र भावुकपन महसुस भयो।
२९ जनाको समूहमा सामेल भएपछि एकछिन अघिको अनिश्चय र बेचैनी पूरै बिदा भएर गयो। निर्धक्कपनको भरोसाले मन भरिपूर्ण भयो। त्योभन्दा बढी पाँच वर्षको पेसागत जीवनमा विश्रामपछि आफ्ना हितैषी सहपाठीका साथै नयाँ पुस्ताका उत्साही बहिनीहरूसँगको भेटघाट र अन्तर्क्रिया गर्ने मौकाले सुखद कौतुक जन्माएको थियो। विगतमा लामो समयसम्म साझा कार्यक्षेत्र बनाएर क्रियाशील सम्पूर्ण पत्रकार महिलाको टोलीमाझ बसमा यात्रा गरिरहँदा आफ्नै परिवारबाट छुटेका सदस्यसँग पुनर्मिलन हुँदाझैँ मन प्रफुल्ल भयो।
पृथ्वी राजमार्ग बिस्तारको काम भइरहेकाले लथालिङ्ग बनेको बाटोका अनेकौँ अवरोध छिचोल्दै पोखरा पुग्दा दिउँसो तीन बज्न लागिसकेको थियो। पुग्नेबित्तिकै त्यहाँको चेली थकाली रेस्टुरेन्टमा खाना खाएर एकै छिनको आरामपछि नेपाल पत्रकार महासंघ, कास्की शाखाको सभाकक्षमा भेला भयौँ, जहाँ पत्रकार महासंघ कास्की र पोखरा महानगरपालिकाले नारी दिवसको अवसरमा संयुक्त अन्तर्क्रिया कार्यक्रमका साथ हामीलाई स्वागत गरे।
लगत्तै घुमघामको शृंखला शुरू भयो। हामी कास्कीको रमणीय पर्यटन गाउँ धम्पुस पुग्यौँ। त्यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो। गाउँको प्रवेशद्वारदेखि नै गण्डकी प्रदेशको मुख्य चिनारी झल्काउने गुरुङ संस्कृतिको मनमोहकताले रोमाञ्चित बनायो। बिजुली बत्तीको उज्यालो प्रकाशमा मौलिक परम्परागत वास्तुशैलीका लामबद्ध घरहरूमा उस्तै आकारप्रकार र बान्की मिलेका ढुंगाको गारो र स्थानीय खानीबाट निकालिएका स्लेटको दुई पाखे छाना देखिए। हिँड्ने बाटो पनि पूरै ढुंगा छापेर चिटिक्क सजाइएको थियो।
गाउँका गुरुङ दाजुभाइ तथा दिदीबहिनीले हामीलाई जाँदाजाँदै तातोपानी र रातो चियासँगै शहरिया शैलीको 'पपकर्न'ले स्वागत गरे। त्यो मिठो पपकर्नलाई माथ गर्ने भुटेको रैथाने मकै भटमास नमिठो गरी मिस गरेँ। केहीबेरको आरामपछि गुन्द्रुकको तिक्खर अचारसहित रात्रिकालीन भोजनले भरपुर स्वाद पस्कियो। त्यसपछि स्थानीय आमा समूहका दिदीबहिनीले नाचगानको तयारी थाले।
आगो ताप्दै झाँकीसहित लोककला हेर्ने तरखर गर्दै थियौँ। ज्यान र मन दुवै चङ्गा भएको महसुस हुँदै थियो। ठीक त्यही बेला मलाई बाबुहरूको असाध्यै याद आयो। म हिँड्दा उनीहरूको स्वास्थ्य उति ठीक थिएन। तिनले पक्कै मलाई याद गरिरहेका होलान् भन्ने लाग्यो। साबिकका दिनहरूमा त्यो समय दुवै दाजुभाइ मेरो काखमा लुपुक्क टाँसिएर नुनु गर्न लागेका हुन्थे। सुत्नुअघि रमाइलो गरेर खेल्न मन पराउने दुवै छोरा प्रायः अबेरसम्म निदाउँदैनन्।
धम्पुसको सांस्कृतिक साँझपछि।
दिनभर बेलाबेला फोनबाट अपडेट पाइरहेको थिएँ। रमझममा रमाउनुअघि उनीहरूको अनुहार हेरेर कुराकानी गर्न चाहेँ। भिडियो कल गरेँ। ओछ्यानमा बाबाको दायाँबायाँ बसेर रुघाखोकीसँग संघर्ष गरिरहेका दुवैको अनुहार निन्याउरो देखेँ, किनकि रुघाखोकी झनै बढेको रहेछ। दुवैका निर्दोष र थकित आँखा मोबाइलमा देखिएको मेरो अनुहारमा एकटकले केन्द्रित भए अनि दुवैले एकसाथ बोलाए– ‘मम्मी।’
बाबुहरूको सम्बोधनको प्रत्युत्तरमा मेरो मुखबाट केको वाणी निस्कियोस्! गला अवरुद्ध भयो। अत्यास लाग्ने गरी सास बढेर आयो। मुटु ढक्क फुल्यो। टाउको फनफनी रिँगायो। मलाई देखेर बाबुहरू रुन थाले र दुवैले एकै लयमा भने– ‘मम्मी छिटो आऊ न!’ त्यति बेला मैले आफूलाई सम्हाल्न कोशिश गरेँ, तर साहै गाह्रो भयो। सँगै बसेर त्यो दृश्य नियालिरहेका साथीहरूले सान्त्वना दिएर परिस्थितिलाई सामान्य बनाउने प्रयास गरे। मैले भोलि भ्रमण टुङ्ग्याएर जतिसक्दो छिटो उनीहरूलाई भेट्न पुग्ने दृढताका साथ फोन राखेँ।
बिहान सबेरैदेखि साँझ अबेरसम्मको यात्राले लखतरान भएको ज्यानलाई परम्परागत भेसभुसामा सजिएका स्थानीय आमा समूहका दिदीबहिनीहरूको सांस्कृतिक प्रस्तुतिले मनग्गे मनोरञ्जन र स्फूर्ति थपिदियो। करिब दुई घण्टा हेरेको नाचगानले त्यस दिनको यात्राका अतिरिक्त बाबुहरूको यादले भारी भएको मन हलुङ्गो बनाइदियो भने कैयौँ दिनदेखिको थकान र तनाव पनि मेटाइदियो। तत्पश्चात् सबै जना सुत्न आ–आफ्ना कोठामा पस्यौँ।
मेरी रूम पार्टनर साथी सिन्धुसँग पुराना र रमाइला कुरा गर्दागर्दै साढे दुई बजेछ। भोलिपल्ट सबेरै ब्युँझिएर आँखा खुल्दा कतिबेला यात्रा सिद्ध्याएर भक्तपुर पुगौँ जस्तो भयो। हातमुख धोएर बाहिर निस्कँदासम्म अरू साथीहरू पनि तयार भइसकेछन्। सबैसँग बोल्न खोज्दा त मेरो गला बसिसकेको रहेछ।
त्यो फागुन २० गते बिहानको कुरा थियो। दिउँसोसम्ममा केही दर्शनीय स्थल पुगेर साँझ नपर्दै आ–आफ्ना घर फर्कने योजनाका साथ नास्तामा चियासँगै सेलरोटी र तरकारी खाएर गाउँ घुम्न निस्कियौँ। त्यस दिन शनिवार परेको थियो। घरैपिच्छेका व्यक्ति भेला भएर आ-आफ्नो टोल र बाटोघाटो सरसफाइ गर्ने चलन धम्पुसमा रहेछ। गाउँमा जीवित रहेको सद्भाव र सहकार्यको संस्कृतिले लोभ्यायो।
त्यस दिन बाँकी रहेको समय हामीले पोखरा सेरोफेरोको घुमघाम धूमधामका साथ सिद्ध्यायौँ। विशाल शिवमूर्ति र आकर्षक पार्क निर्माण भई पछिल्लो समयमा प्रख्यात पर्यटकीय थुम्को पुम्दीभुम्दीमा पनि रमाउँदै पुग्यौँ। मैले यात्रामा सहभागी प्रिय साथीसंगीका साथ पुगेका जति सबै सुन्दर ठाउँमा प्रशस्त फोटो खिचेँ। ती सबै फोटोभन्दा चम्किलो भएर मेरो आँखामा घुमिरहेको थियो मेरो बाटो कुरिरहेका बाबुहरूको मासुम आकृति।
दुई दिने भ्रमण तालिका पूरा गरेर पोखराबाट फर्कन लाग्दा साँझ ५ बज्न लागेको थियो। मर्मत हुँदै गरेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ खण्डको हविगत पहिले नै उल्लेख गरिहालेँ। हामी बसमा अन्ताक्षरी खेल्दै ६ घण्टा लगाएर राति ११ बजेतिर मुग्लिङ आइपुग्यौँ। अघिल्लो दिन जाने बेला सबैसँग मिसिएको त्यो ठाउँ फर्कँदाचाहिँ मेरो छुट्टिने बिन्दु थियो।
बसमा चितवनतर्फ लाग्ने साथीहरूले बडो ममता देखाए, एक्लो छाडेनन्। सुरक्षितसाथ काठमाडौँ पुग्ने बस चढाइदिन अनुरोध गर्दै त्यहाँको प्रहरी पोस्टबाट बिदा गरेर उनीहरू गए। म प्रहरीको मद्दतमा रात्रि बस समातेर काठमाडौँका लागि प्रस्थान गरेँ। रातको २ बजे कलंकीमा ओर्लिनुअघि नै जीवनसाथी प्रदीप मेरो प्रतीक्षामा हुनुहुन्थ्यो। भक्तपुरको बालकोटस्थित निवासमा पुगेर मुटुका दुई टुक्रासँग जोडिन पाउँदा घडीका सुईले साढे दुई बजाइसकेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
