पहाडी सडकमा सवारी हाँक्दै १९ वर्षीया छेकी

बिहानै जिपमा यात्रु र भारीसहित सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानु र दिउँसो बिब्ल्याँटे हुँदै जमुना फर्किनु छेकीको दिनचर्या हो।

मंगलबारे– छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्।  साहस र आँटिलो स्वभावकी छेकी डेढ वर्षयता बोलेरो जिपमा यात्रु बोक्दै आएकी छन्। 

पहाडको कच्ची तथा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन्। यीनै अप्ठ्यारो सडकमा छेकीले सवारी हाँकिरहेकी छन्। परिवारले गाडी खरिद गरिदिएपछि छेकीले गाडी चलाउन थालेकी हुन्। डबल क्यापको जिपमा यात्रु र भारीसहित बिहान सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन्। 

बुवा पहिलेदेखि सवारी चालक थिए। तीन छोरीमध्येकी एक छेकी बुवाकै सहयोगमा चालक बनेको बताउँछिन्। शुरूमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि बिस्तारै राम्रोसँग चलाउन थालिन्। छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको बुवा फुर्वा शेर्पाले बताए। 

“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ। परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्न सक्ने भएकी छु,” उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरूले शुरूमा विश्वास गर्दैनथे। उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे। हिजोआज यात्रुहरूले यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन्। 

बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजार रुपैयाँ कमाउने गरेको उनले सुनाइन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ। हिउँद याममा केही बढी आम्दानी हुने गरेको उनको भनाइ छ। सिजनमा मासिक एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालक बताउँछन्। 

कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ। गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन्। “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,” उनले भनिन्, “बहिनीलाई डाक्टर बनाउने सपना छ।” रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन्। तर महिलाले गाउँमै सवारी चालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण बनेकी छन् छेकी।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उनको गाडी रोज्ने गरेको बताउँछन्। “केही पुरुष चालकले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ,” स्थानीय यात्रु दावा शेर्पाले भने, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौं।”