‘जायन्ट किलर’ जापानको नजर क्वार्टरफाइनलमा

‘जायन्ट किलर’को रूपमा उदाएको जापानले चारपटकको विश्वविजेता जर्मनी र एकपटकको विजेता स्पेनलाई २-१ गोल अन्तरले हराएर मनोबल उच्च बनाएको छ।

तस्वीर : द सन

जारी कतार विश्वकप २०२२ अन्तर्गत समूह ‘ई’ मा दक्षिण एसियाली ‘पावर हाउस’ जापानको खेल सनसनीपूर्ण मात्र होइन, अपेक्षाभन्दा फरक पनि रह्यो। तीन खेलमा दुई जित र एक हारसहित ६ अंक जोडेको जापान पहिलोपटक शीर्ष स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुग्न सफल भयो।

‘जायन्ट किलर’को रूपमा उदाएको जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हरायो। यता, सन् २०१० को विजेता स्पेनलाई पनि सोही स्कोरमा पराजित गर्दै समूहको दोस्रो स्थानमा झर्न बाध्य बनायो। 

अर्कोतर्फ चार वर्षअघि रसिया विश्वकपको उपविजेता रहेको क्रोएसियाको यात्रा पनि जापानको भन्दा कम रोचक रहेन। समूह चरणमा एक मात्रै जित निकालेको क्रोएसियाले दुई खेल बराबरी खेल्दै अपराजित रहेर प्रि-क्वार्टरफाइनलमा स्थान बनायो।

क्रोएसियाले बेल्जियम र मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडालाई ४-१ ले पराजित गर्‍यो। यदि, अन्तिम खेलमा बेल्जियमसँग क्रोएसिया पराजित भएको भए उसको यात्रा समूह चरणमै सकिन्थ्यो।

क्रोएसियाविरुद्धको खेलमा बेल्जियमले आफ्नो नियमित कप्तान इडेन हाजार्डसँगै मिडफिल्डर केभिन डी ब्रुएना, स्टार फरवार्ड रोमेलु लुकाकु र गोलकिपर थिबाउट कोर्टोइसलगायतका स्टार खेलाडीलाई मैदान उतारेको थियो।

तर, खेलको ४७औँ मिनेटमा मैदान छिरेका लुकाकुले दोस्रो हाफमा गोल गर्ने चारवटा अवसर गुमाए।  यससँगै खेल गोलरहित बराबरीमा सकियो र सन् १९९८ पछि पहिलोपटक बेल्जियम समूह चरणको पार गर्न सकेन। जसको फाइदा क्रोएसियालाई पुग्यो र प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो।

कतार विश्वकप २०२२ को प्रि-क्वार्टरफाइनलको पाँचौँ खेलमा सोमबार यी दुई टोली नै क्वार्टरफाइनल प्रवेशका लागि भिड्ने छन्। जापानले यसअघि कहिल्यै विश्वकप विजेतालाई पराजित गरेको इतिहास नरहे पनि ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा शीर्ष स्थानमा रहन सफल भयो।

यस पटक जापानले तीन दिनको अन्तरालमा दुई विश्व च्याम्पियनलाई हरायो। त्यसैले पनि सोमबार क्रोएसियाविरुद्ध मैदान उत्रिँदा जापानी टोलीको आत्मविश्वास उच्च हुने छ। त्यसैले चौथोपटक विश्वकपको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको जापानको नजर क्वार्टरफाइनल छ।  

“युद्धमा जानुअघि सहास जुटाउनु पनि पहिलो शर्त हो। यदि, युद्धको समयमा डरायौँ भने हतियार र प्रविधि पनि काम लाग्ने छैन”, जापानी टोलीका डिफेन्डर युटो नागाटोमोले भने, “फुटबल पनि त्यस्तै हो। रणनीति र प्रविधि महत्त्वपूर्ण हुन्छ। हामीले यी चिजमा सुधार गरेका छौँ। तर, हामी मैदानमा डरायौँ भने यी कुरा बेकार साबित हुन्छ।”

जापानको उत्कृष्ट रक्षात्मक रणनीतिले स्पेनलाई हराउन महत्त्वपूर्ण भूमिका खेल्यो। उक्त खेलमा जापानले सिर्जना भएका सीमित अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गर्‍यो।

जापानी फरवार्ड रित्सु डोआनले तीन खेलमा दुई गोल (स्पेन र जर्मनीविरुद्ध) गरिसकेका छन् भने अर्का फरवार्ड ताकुमा असानोले तीन खेलमा एक गोल (जर्मनीविरुद्ध) गरेका छन्। मिडफिल्डर तानाकाले पनि दुई खेलमा एक गोल (स्पेनविरुद्ध) गरेर आफूलाई प्रमाणित गरिसकेका छन्।

जापानलाई आफ्नो रक्षात्मक रणनीतिले राम्रै साथ दिएको छ। उसले खेलको ९० मिनेटसम्म विपक्षी टोलीलाई बलियो चुनौती दिन सक्छ। सोमबार क्रोएसियाविरुद्ध मैदान उत्रिँदा पनि जापानले यस्तै रणनीति प्रयोग गर्ने अनुमान गरिएको छ।

अन्तिमपटक नेसनल लिगअन्तर्गतको समूह ‘ए’ को खेलमा अस्ट्रियासँग ३-० ले पराजित भएको क्रोएसिया कतार विश्वकपको शुरूआती खेलबाटै गोल गर्न संघर्ष गरिरहेको छ। सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसिया आफ्नो पछिल्ला नौ खेलमा अपराजित रहेको छ। उसले नौमध्ये ६ खेल जितेको छ भने तीन वटा बराबरी खेलेको छ।

यी दुई टोली विश्वकपमा दुई पटक आमनेसामने भएका छन्। सन् १९९८ को विश्वकपमा क्रोएसियाले जापानलाई १-० गोलअन्तरले हराएको थियो। २००६ को खेल गोलरहित बराबरीमा सकिएको थियो।

क्रोएसियाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्लात्को डालिक विगतमा जस्तो नतिजा निस्किएको भए पनि हालका दिनमा जापानविरुद्धको खेल सहज नहुने बताउँछन्। “स्पेनले जापानविरुद्धको खेल सहज हुनेछ भनेर सोचेको थियो होला। तर, जापान एक यस्तो टोली हो, जसले अन्तिमसम्म हार मान्दैन। त्यो जर्मनीविरुद्धको खेलमा प्रमाणित भयो”, डालिकले भनेका छन्, “यदि, समूह चरणअघि हामीलाई अर्को राउन्डमा प्रतिद्वन्द्वी छनोट गर्न दिएको भए कतिपयले जापान भन्थे होलान्। तर, जर्मनी र स्पेनलाई हराएपछि उसलाई कमजोर प्रतिद्वन्द्वी मान्न सकिँदैन।”