इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट

जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। यसअघि गतवर्ष सोही स्थानमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको थियो।

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट भएको छ। स्थानीय समयानुसार आइतबार दिउँसो पौने ३ बजेतिर ज्वालामुखी विस्फोट भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। 

माउन्ट सुमेरु ज्वालामुखी विस्फोट हुँदा निस्किएको बाक्लो धुलो र धुवाँका कारण स्थिति तनावपूर्ण बनेपछि ८ किलोमिटर परसम्मका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। मानवीय क्षतिको खबर बाहिरिएको छैन।

यद्यपि, त्यहाँ तेस्रो र चौथो तहको ज्वालामुखी विस्फोट भइरहेकाले यो खतरनाक तह भएको इन्डोनेसियाको भूकम्प र भूगर्भसम्बन्धी विपद् न्यूनीकरण केन्द्र (सीभीजीएचएम)ले जनाएको छ।

लाभाको थुप्रोबाट बनेको तातो पहिरो बग्ने क्रम बढेको छ। साथै, ज्वालामुखीबाट निस्किएको खरानी र मौसमी पानी मिसिएको भलबाढी नजिकैको गाउँसम्म पुगेपछि स्थानीयको उद्धार थालिएको छ भने आसपासका बासिन्दालाई सतर्क रहन आग्रहसमेत गरिएको छ।

सुमेरु भनेको इन्डोनेसियामा विशाल पहाड भन्ने बुझिन्छ। जुन जाभा क्षेत्रको ठूलो र बढी सक्रिय ज्वालामुखी हो। यो पछिल्लो समय गत वर्ष मात्रै सक्रिय भएको थियो। गत वर्ष यही ज्वालामुखीमा परी ५० जनाले ज्यान गुमाएका थिए भने त्यहाँका सडकहरू हिलो र खरानीले पुरिएका थिए।

जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। सो क्षेत्र राजधानी जकार्तादेखि ६४० किलोमिटर पूर्वमा पर्छ। त्यस क्षेत्रमा गत महिनाको भूकम्पमा परि ३०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

प्रशान्तीय क्षेत्रको ‘रिङ अफ फायर’ मा अवस्थित रहेकाले इन्डोनेसियामा ‘टेक्टोनिक प्लेट’हरू ठोक्किने भएकाले ज्वालामुखी र भूकम्पीय गतिविधि बढी हुने गर्दछन्।

जाभा टापुको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि जापानमा पनि सामुद्रिक आँधीको चेतावनी दिएको छ।

-एजेन्सीको सहयोगमा