सर्लाहीमा बढ्दै ड्रागन फ्रुटको व्यावसायिक खेती

लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानका किसानले हाल ड्रागन फ्रुटको खेती गरिरहेका छन्। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुन्छ। बाँकी नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरिएको छ।

बरहथवा– सर्लाहीमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन बढ्दै गएको छ। स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन्। 

सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताए। यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उनको भनाइ छ। “पहिलो चरणमा ३३ कट्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरेको छु। हाल एक हजार ४७० वटा सिमेन्टका पोलमा पाँच हजार ८८० वटा बिरुवा हुर्काउन सफल भएको छु,” मैनालीले भने। 

बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन शुरू गरिसकेको छ। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरेको मैनालीले बताए। एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको राखेका छन्। 

यहाँ ड्रागन फ्रुट प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। गत वर्ष करिब ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाए। “माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन। बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ। व्यापारीहरूको माग पूरा गर्न सकेको छैन,” उनले भने। 

यस्तै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गरेका छन्। हाल पाँच कट्ठा खेतमा बिरुवा लगाएका छन्। “सबैबाट राम्रो हुन्छ भनेको सुनेर यसतर्फ आकर्षित भएको हुँ, त्यसैले हाल थारै जमिनमा बिरुवा लगाएको छु,” उनले भने, “बिरुवा पनि शुरूमै धेरै किनेर लगाउन सकिएन। अब यही रोपेको बिरुवाबाट उत्पादन गरेर विस्तार गर्ने सोचमा छु।”

उन्नत जातको भनेर प्रतिगोटा ३०० का दरले खरिद गरेर ८०० वटा पिलरमा तीन हजार २०० बिरुवा लगाएको खड्काले बताए। “भर्खरै फल्न शुरू गरेकाले स्थानीय बजारमा थोरै थोरै पठाउने गरेको छु। मागको अवस्था हेर्दा खेती बढाउने योजनामा छु,” उनले भने।  

जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरूप हाल यो फलको खेती गरिरहेका छन्। ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ। यसले ड्रागन फ्रुटको  व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताए।  

यहाँको मौसम तथा भूगोल अनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उनको दाबी छ। ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्किने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताए। “केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमित रूपमा वर्षौंसम्म उत्पादन हुने भएकाले पनि किसान यसतर्फ आकर्षित हुन थालेका छन्,” उनले भने।