'अन्तर्घाती'लाई कारबाही गर्न कांग्रेस अनुशासन समितिको निर्देशन

कांग्रेसको केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गर्दै चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो।

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसले चुनावमा आफ्नो पार्टीसँग गठबन्धनमा रहेका अन्य दलहरूमाथि अन्तर्घात गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गरेको विवरण आगामी पुस १५ भित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो। 

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन निर्णय सहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ।” 

यसपटक चुनावमा हारेका केही कांग्रेस नेताहरूले कांग्रेसकै अन्तर्घातका कारण आफू हारेको आरोप लगाएका छन्। माओवादीका नेताहरूले पनि आफूले कम सिट जित्नुमा कांग्रेसको दोष रहेको आरोप लगाएका छन्। 

आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो।