दूध बेचेर मासिक लाख कमाउँछन् दाङका रवि

बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ।

घोराही– दाङको घोराही–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन्। उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो। 

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने रविले बताए। ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका उनले भने, “भैँसी र बंगुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ।” घोराही–७ घुस्रामा पाँच बिघा जग्गा किनेर पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए। फार्ममा १८ भैँसी र २५ बंगुर रहेका छन्। 

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए। “दूध बिक्री गर्न समस्या छैन। फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ,” उनले भने। दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री हुने गरेको छ। फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने योजना छ। 

बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ। भैँसीपालनसँगै मासुका लागि बाख्रा, बंगुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरीले बताए। त्यसका लागि उनी पनि थप संरचना निर्माण गर्ने तयारीमा छन्। 

दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए। फार्ममा तीन जनाले रोजगारी पाएका छन्। पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ।