करिअरकाे हजाराैँ खेलमा मेसीकाे गाेल, अर्जेन्टिना क्वार्टरफाइनलमा

करिअरकाे हजाराैँ खेलमा लियाेनेल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेकाे छ।

तस्वीर : फिफा

काठमाडाैँ– अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेकाे छ। दुई पटककाे च्याम्पियनले  अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेकाे छ।

शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेकाे गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो। मेसीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए।

आफ्नो करिअरको एक हजारौं खेल पुरा गरेका मेसीले विश्वकपको नकआउट चरणमा गरेको यो पहिलो गोल हो। अस्ट्रेलियन मिडफिल्डर नह्युल मोलिनालाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रि–किक पाएको थियो। सोही फ्रि–किकमा बनेको मुभमा मेसीले गोल गरे।

अस्ट्रेलियाले सुरुआतदेखि नै रक्षात्मक शैली देखाएको थियाे। दोस्रो हाफमा अर्जेन्टिनाका थप आक्रमक बन्याे। ५७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए। अस्ट्रेलियन गोलपिकर म्याथ्यु रायनले गरेको गल्तीको फाइदा उठाउँदै युवा फरवार्ड अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

अर्जेन्टिनाले एक गाेल उपहार दिएकाे थियाे। क्र्याग गुडविनले ७७औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो। त्यसपछि थप गाेल हुन सकेन। 

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँग खेल्ने छ।