बेतबाँसका सामग्री निर्माण गरेर आत्मनिर्भर बन्दै ललिता

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।

कैलाली– धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रूपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छन्। बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारले पनि साथ दिइरहेको छ।

बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै तालिम पनि लिएकी छैनन्। दिदीको काममा सहयोग गर्दै आएकी उनले त्यहाँ काम सिकेपछि आफैँ उद्यम शुरू गरेकी हुन्। विसं २०७५ मंसिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उद्यम शुरू गरेकी ललिताको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ। दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ।

“व्यवसाय शुरू गर्दा आर्थिक स्थिति एकदमै कमजोर थियो। फार्म दर्ता गर्न मसँग पैसा थिएन। व्यवसाय गर्नका लागि भतिजासँग दुई हजार ५०० रुपैयाँ सापटी मगेकी थिएँ, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय शुरू गरेकी हुँ,” उनले भनिन्, “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनुपरेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ।”

शुरूका दिनमा बेतबाट निर्मित सामग्रीलाई बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको उनले सुनाइन्। यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताइन्। उनले बेतबाट ह्यांगर, फूलदानी, पिर्का, झुला लगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी छन्।

“धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन्, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरूले बेतका सामग्री खरिद गरी लाने गरेका छन्,” चौधरीले भनिन्। उनले प्रतिह्यांगर एक हजार ५००, फूलदानी ४००, कुर्सी तीन हजार, पिर्का ३०० रुपैयाँमा बिक्री गर्दै आएकी छन्।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले सुनाइन्। जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताइन्।