लालबन्दी नगर वाङ्‌मय पुरस्कारका लागि छानिए १० कृति

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।

सर्लाही– ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१’ का लागि १० कृति छनोट भएका छन्।

भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो। 

स्वतन्त्र विज्ञसहितको छनोट समितिको सिफारिसमा रमेश सायनको ‘अन्तर’, यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोकसाहित्य र संस्कृति’, कुमार नगरकोटीको ‘जोगियाना’, प्राडा ध्रुवेशचन्द्र रेग्मीको ‘नेपाली संगीत दरबार’, धीरेन्द्र प्रेमर्षिको ‘पुरुष परीक्षा’, मोमिला जोशीको ‘प्रश्‍नहरू त बाँकी नै रहन्छन्’, खेम बतासको ‘बुढीपोल्ली’, अखण्ड भण्डारीको ‘बोरा’, भूपिनको ‘भूपिनका कविता’ र मोहन मैनालीको ‘मुकाम रणमैदान’ परेका छन्। 

यी १० कृतिमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए। उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।