वर्षौंवर्ष जेल बस्ने भुटानी राजबन्दीका नाममा

यी राजबन्दीको अहिले पहिचान के? कुनै टुंगो छैन। नेपाल सरकार पनि आज आएर ‘सक्कली कि नक्कली भुटानी?’ भनेर सोध्छ। ३२ वर्ष जेल जीवन भोगेको मान्छे सक्कली कि नक्कली?

यो आजको कुरा होइन। उतिखेर नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएकै थिएन। बद्रीप्रसाद खतिवडा अध्यक्ष भएको संगठन (शायद प्रजातान्त्रिक राष्ट्रिय मञ्च हुनुपर्छ)ले भुटानमा भइरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा वक्तव्य दियो। नेपालमा भर्खर पञ्चायत अन्त्य भई कांग्रेस र कम्युनिस्ट माथिको प्रतिबन्ध खुलेको मात्र थियो।

भुटानको दक्षिणी भूभागमा बसोबास गर्ने ल्होत्साम्पाहरू, जो बढी नेपालीभाषी थिए, उनीहरूविरुद्ध राज्य दमनकारी भएर उत्रियो। ल्होत्साम्पा मुलुकमा बस्ने स्थिति नभएपछि विस्थापित भए। यसबीच आएको नेता खतिवडाको वक्तव्यमा भुटानमा प्रजातन्त्र स्थापना गरिछाड्ने मनसाय थियो। उतिखेर मलाई वक्तव्य अलि कच्चा पो हो कि झैँ लागेको थियो। कारण, नेपालमा नै प्रजातन्त्र पुनर्स्थापित भइसकेको थिएन। यद्यपि, प्रजातन्त्र भन्ने विषय कुनै देशको सीमाले तय गर्नेभन्दा पनि विश्वव्यापी मूल्य, मान्यता, परिपाटी र अभ्यास हो। जहाँ–जहाँ सम्भव हुन्छ, त्यहीँ रहन्छ।

भुटानमा लामो समय चलेको राजनीतिक आन्दोलनका एक भटाङ्गे (भुटानी) नेता रामबहादुर चाम्लिङ राई राजबन्दीका रूपमा ३२ वर्ष जेल जीवन कटाएर मुक्त भएपछि उनीसहित अरू दुई जना (मानबहादुर राई र मधुकर मगर) यस पाला नेपाल आएका बखत भेट्ने मौका मिल्यो।  भुटानी जेलमा मानबहादुरले ३१ वर्ष र मधुकरले २१ वर्ष काटे।

हामी योगदान र बलिदानका सन्दर्भमा अक्सर दक्षिण अफ्रिकाका नेल्सन मण्डेला सम्झन्छौँ। मण्डेलासँग अनेकन् विषय र सन्दर्भ जोडिएका पुस्तक धेरथोर पढ्छौँ। स्वतन्त्रता र प्रजातन्त्रको लडाइँमा मण्डेला २७ वर्ष जेल परेका थिए। तर हाम्रै वरपरका रामबहादुर वा मनबहादुरबारे बोलिदिने कसले? यो इतिहास लेखिदिने कसले?

+++
यही सन्दर्भमा अर्को नाम सम्झौँ- डा. भम्पा राई, जो पहिले थिम्पुमा राजपरिवारको शल्यचिकित्सक (रोयल सर्जन) थिए। उनी स्वेच्छामा आन्दोलनका साक्षी बने, स्वेच्छामा देश छाडेर माइबगर (झापा) आइपुगे। शरणार्थीका रूपमा नेपालमा नारकीय जीवन व्यतीत गरेर मातृभूमि भुटानको एक मुठी माटो आफ्नो चिहानमा छर्न लगाउँदै केही वर्ष पहिले उनी बिते। यस्ता धेरै घटना छन्, जो आज नौला नभई स्वाभाविक बनेका छन्। डा. राईबारे शरणार्थी लेखक वीरेन मगरले लेखेको 'भम्पा: एक अडान अनेक प्रश्न'मा पनि धेरै कुरा खोतलिएका छन्।

नेपाल र भुटानबीचको शरणार्थी समस्या नियाल्दा कसैले ‘साँढेको जुधाई बाछाको मिचाई’ भनेर भन्ला पनि। बाछोको मिचाई दक्षिणपट्टिको मुलुक भारतको बडेभाइको व्यवहारको कारण हो भन्ने दुनियाँलाई थाहा छ। नेपालीमा भनिन्छ नि, ‘राति सुत्दा दखिन फर्केर सिरानी नलाउनू, दोख लाग्छ’, उल्लेखित तीन जना राजबन्दी भेटघाटको समारोहको अवसरमा डा. तुलसी भट्टराईको सटिक विचार थियो, भटाङ्गे (भुटानी) को समस्या नसुल्झनुमा।

पूर्वको झापा र मोरङमा शरणार्थी शिविरमा रहेका करिब एक लाखभन्दा धेरै भटाङ्गे आज अमेरिका, युरोप, अस्ट्रेलिया पुगेर त्यहाँका नागरिक भएका छन्। विकसित अर्थतन्त्र र देशमा पुग्दा उनीहरू खुशी होलान्। तर देश गुमाउँदाको पीडा सायदै कसैले अनुभव गर्न सक्छ। त्यो देश–माटो गुमाउनेले नै अनुभव गर्ने कुरा हो। शरणार्थी शिविरमा नै बाँकी रहेका वा अन्य कतै नगई आफ्नै मुलुक भुटान फर्कन चाहने पाँच/छ हजार भुटानीको संख्या नेपालमा अझै छँदैछ। चाम्लिङ राईसहित विगतमा मुक्त भएका थप पाँच जना राजबन्दी नेपालकै शरण परेका छन्। नेपालले शरण दिने वा भुटान फर्काउने टुंगो छैन।

शिविर-बस्ती व्यवस्थापन समितिसचिव सन्चहाङ सुब्बा भन्छन्, “उहाँहरूलाई जेलबाट निकालियो। गाडीमा हालियो र सीमावर्ती जयगाउँ–फुन्चोलिङ हुँदै पानीटंकी, नेपाल-भारत सीमामा छोडियो। न कुनै पहिचान छ न बस्ने र खानेको टुंगो। भुटान राज्यले नै बेसहाराजस्तो बनाएको छ। ३२ वर्षको जेल जीवन र यातना। न परिवार भेट्न पाउनु न उनीहरूसँग कुनै उपायमार्फत बोल्न नै। छोराछोरी कहाँ छन्, पत्तो छैन। न भन्ने न बोल्ने अवस्थामा नै उहाँहरू हुनुहुन्छ।

​भुटानी जेलमा २१ वर्ष बिताएका मधुकर मगर, ३१ वर्ष बिताएका मानबहादुर खालिङ राई र ३२ वर्ष बिताएका रामबहादुर राई।

प्राध्यापक डा. गोविन्दराज भट्टराईको संयोजनमा कीर्तिपुरमा गत साउन ५ गते आयोजित राजबन्दी भेटघाटमा कुमार कोइराला, अन्जना वस्ती, प्राध्यापक कृष्ण खनाल, पत्रकार हरिबिनोद अधिकारी सबै निःशब्द भए। यी जेलमुक्त तर अनागरिक भटाङ्गे चाम्लिङ राई दाजुभाइलाई देखिरहेका थियौँ। कसैलाई लाग्ला– खुरुक्क अमेरिका, युरोप र अस्ट्रेलिया जानु नि! केको भुटान भन्दै कराइरहेको बेकारमा। कसैलाई लाग्ला भुटान नेपालभन्दा उन्नत भइसक्यो, सुखीखुशी राष्ट्रको ‘नेसनल हेप्पी इन्डेक्स’मा कता हो कता माथि आइसक्यो। भुटानमा सन् २००८ मा लोकतन्त्र नै आइसक्यो! 

तर सन्चमान भन्दै थिए, “भुटानमा प्रजातन्त्र नभई सो कल्ड डेमोक्रेसी छ। रेजिम निरंकुश छ। हामीलाई अराष्ट्रिय मान्छे भनिन्छ। जेलमुक्त भुटानीलाई देश निकाला गरेबाटै उसको निरंकुशताको उत्पीडन र चरम दमन चरितार्थ हुन्छ।” यी राजबन्दीको अहिले  पहिचान के? कुनै टुंगो छैन। नेपाल सरकारले त अहिले झनै सक्कली कि नक्कली भुटानी हुन् भनेर सोध्छ। ३२ वर्ष जेल जीवन भोगेको मान्छे सक्कली कि नक्कली? यसरी मान्छे भएर जन्मेको, मान्छे भएर बाँच्ने र मान्छे नै भएर मर्न पाउने उनीहरूको आधारभूत अधिकार हनन भएको छ।

अझ नक्कली भटाङ्गे बनाएर अमेरिका पठाउने नेपालका तस्कर राजनीति र नेताहरूको कारण यो समस्या सुल्झन अझ साह्रो भयो। नेपाली जातिको नाउँमा जुन नजातिको मानव तस्करीको काम भयो, त्यसले नेपाल र नेपालीको दुर्नाम त भयो भयो, भटाङ्गेको मुद्दा झनै कमजोर बनायो।

त्यसो हुँदा, कम्तीमा राजबन्दीका हकमा नेपाल सरकारले भुटानी शरणार्थीको पहिचान दिनु पर्‍यो। र, त्यो हैसियतमा उनीहरू यहाँ रहने, बस्ने, खाने र बाँच्ने आधार बनोस्। बाँकी कुरो, भुटानले आफ्नो नागरिक फिर्ता लैजानुपर्‍यो, जुन मामला विगत ३० वर्षयता ज्युँका त्युँ छ। 

आजभन्दा ५० वर्षअघि भुटानको जनजीवनमा देखेको र त्यही दुःख–कष्ट आधारित सामाजिक उपन्यास 'मुङ्लान' लेख्ने प्राध्यापक गोविन्दराज भट्टराईको संयोजनमा आयोजित भेटघाटले धेरै साहित्यिक, प्राज्ञिक व्यक्ति तथा पत्रकारले भटाङ्गे दाजुभाइसित दुःखका भावना साटासाट गर्ने अवसर मिल्यो। त्योभन्दा बढी सुखीखुशी राष्ट्रको दुहाइ दिएर संसारसामु फुइँ लाउँदै हिँडिरहेको राष्ट्र भुटानको नकाब उत्रिएझैँ लाग्यो। आफ्ना लाखभन्दा बढी जनतालाई देश निकाला गरेर भुटान कुन ह्यापी इन्डेक्सको कुरा गरिरहेछ? कस्तो खुशीसुखी राष्ट्र हो भुटान?