कुसुमको साथमा भेटिएको ‘सुसाइड नोट’को आधारमा अनुसन्धान गर्न गत बुधबार पूर्णलाललाई पक्राउ गरेको प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गरिरहेको छ।
धुलिखेल– धुलिखेल अस्पताल परिसरमा बुधबार भेटिएका भुम्लु गाउँपालिका–८ काभ्रेका गनेशबहादुर श्रेष्ठ निराश देखिन्थे। फुलेको दाह्री, चाउरी परेको अनुहार, जिउमा रातो नीलो रङको सर्ट लगाएका गनेश कोशीपारि भनेर चिनिने हिब्लुबाट धुलिखेल आइपुगेका थिए। उनी कहिले जिल्ला प्रहरी कार्यालय पुग्थे त कहिले अस्पताल।
२०८१ साउन ८ गते पाँचखाल नगरपालिका– ११ खरेलथोककी २४ वर्षीय कुसुम श्रेष्ठ झुन्डिएको अवस्थामा फेला परिन्। आफ्नै दुईतले पक्की घरको माथिल्लो तलाको स्टोरकक्षमा फलामको रडमा नाम्लोको डोरीले घाँटीमा पासो लगाएको अवस्थामा कुसुमको शव भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोलीले घटनाको जाँचबुझ, मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव धुलिखेल अस्पताल पुर्यायो। अन्तिम पटक छोरीको अनुहार हेर्न धुलिखेल पुगेका थिए, गनेश। गनेश भन्छन्, “मेरा पाँच छोरी हुन्। एउटा छोरीको यस्तो भयो।”
त्यतिबेलासम्म श्रीमान् पूर्णलाल श्रेष्ठले कुसुमलाई ‘मारेर झुन्ड्याएको’ माइती पक्षको आशंका थियो। काभ्रे प्रहरीका अनुसार मृतक कुसुमका घुँडा भुईंमा थिए। घाँटीमा नाम्लो बेरिएको थियो। छेउमै स्टुल थियो। कुसुमका माइतीपक्षले साउन ९ गते दिउँसो १२ बजेसम्म ‘मारेको हुनसक्ने’ आशंका गरिरहे। त्यो बेलासम्म जाहेरी दिने कि नदिने? माइतीपक्ष दोधारमा देखिन्थे। यसबीच शव पोस्टमार्टम कक्षमा लगियो।
पोस्टमार्टमका क्रममा चिकित्सकले कुसुमले लगाएको कपडाको खल्तीमा दुई पेजको ‘सुसाइड नोट’ भेटे। त्यो पत्र त्यतिबेलै प्रहरीको जिम्मा लगाइयो। प्रहरीले घरपक्ष र माइतीपक्षका तीन/तीन जनाको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा सुसाइड नोट खोल्यो। त्यसपछि कुसुमका बुवा गनेश भन्न थाले, “त्यस (ज्वाइँ पूर्णलाल) लाई भित्र (जेलमा) हाल्नुपर्यो। मेरो छोरीलाई यसले मारेको हो।”
१३ वर्षअघि कुसुम र पाँचखाल नगरपालिका– ११ खरेलथोकका पूर्णलालबीच प्रेम विवाह भएको थियो। बिहेपछि घरव्यवहार सहज रूपमै चलेको थियो। कुसुम स्थानीय भगवती माध्यमिक विद्यालयमा पढाउँथिन् भने पूर्णलाल ज्यालामजदुरी गर्थे। जेठी छोरी हुर्काइसकेकी थिइन्, कान्छी छोरी हुर्कँदै थिइन्।
छोरीलाई पढाउन, घर व्यवहार चलाउन सहज होस् भनेर घर सल्लाहअनुसार पूर्णलाल वैदेशिक रोजगारीको सिलसिलामा २०८० भदौ ५ गते बुल्गेरिया पुग्छन्। कुसुमले लेखेको पत्रअनुसार विदेश गएको एक–दुई महिनासम्म पूर्णलालले घरखर्च पठाए। त्यसपछि उनले खर्च पठाउन छाडे भने कुसुमसँगै छोरीहरूलाई बेवास्ता गर्न थाले।
विदेशमै रहँदा काठमाडौँको बानेश्वर घर बताउने एक महिलासँग पूर्णलालको भेट भयो। पूर्णलाल उनीसँग घुम्न गएको, कुराकानी गरिरहेको तस्वीर सामाजिक सञ्जालमा राख्ने गर्थे। कुसुमलाई भने सधैँजसो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट विभिन्न किसिमको गालीगलौज गर्थे। त्यसले आफूलाई मानसिक रूपमा चोट पुगेको कुसुमले सुसाइड नोटमा लेखेकी छन्।
त्यो शृंखला त्यतिमै रोकिएन। राहदानीको म्याद सकिएपछि पूर्णलाल गएको साउन ४ गते विदेशबाट फर्किए।स्वदेश फर्किएपछि पनि उनले कुसुम र छोरीहरूको वास्ता गरेनन्। “घर आइसकेपछि सधैँजसो गालीगलौज गर्ने, मानसिक तनाव दिने र कुटपिट गर्ने गर्न थाले,” कुसुमको खल्तीमा भेटिएको पत्रमा भनिएको छ, “तँ मलाई चाहिँदैन, तँ मरेपछि म अर्को केटीसँग विवाह गर्छु, भनी धाकधम्की दिने, तँ मरे हुन्छ भने।”

पूर्णलालले आफूलाई यातना दिएको बारेमा कुसुमले नजिकका आफन्तलाई सुनाएकी थिइन्। कुसुमले आत्महत्या गर्नुअघि तौथली गाउँपालिका–४ सिन्धुपाल्चोक बस्ने दिदी शारदा श्रेष्ठलाई श्रीमान् पूर्णलालले दिएको पीडाबारे बताएकी थिइन्। उनले सुसाइड नोटमा पनि मानसिक र शारीरिक यातनाका कारण यस्तो निर्णय लिन बाध्य भएको खुलाएकी छन्।
काभ्रे प्रहरीका अनुसार कुसुमको साथमा भेटिएको सुसाइड नोटको आधारमा अनुसन्धान गर्न गत बुधबार पूर्णलाललाई पक्राउ गरिएको छ। शारीरिक तथा मानसिक यातना र कुटपिट गरेर मर्न बाध्यात्मक परिस्थिति सिर्जना गरेको भन्दै माइतीपक्षले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी पनि दिएको छ। प्रहरीका अनुसार बिहीबार जाहेरी दर्ता भएको हो।
पूर्णलालविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको सूक्ष्म अनुसन्धान भइरहेको काभ्रे जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले बताइन्। “पहिलो पटक अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
