तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

'अन्तर्दृष्टि पुरस्कार' ०७९ शिक्षिका मञ्जु सुवेदी, कक्षा नाैमा अध्ययनरत दुर्गादेवी वाइबा र पत्रकार अनिता भेटवाललाई प्रदान गरिने भएको छ।

काठमाडाैँ– 'अन्तर्दृष्टि पुरस्कार' ०७९ तीन विधामा प्रदान गरिने भएको छ। डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित पुरस्कार अन्तर्गत् मञ्जु सुवेदीलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ प्रदान गरिने भएको छ।

यसैगरी दुर्गादेवी वाइबालाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ र अनिता भेटवाललाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको हो। सुवेदी ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयकी शिक्षिका हुन्। शिक्षण सिकाइ क्रियाकलाप, सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीको छनोटका आधारमा सुवेदीलाई पुरस्कार प्रदान गर्न लागिएको हो। 

दुर्गादेवी वाइबा काठमाडौँको पृथ्वीनारायण माविमा कक्षा ९ मा अध्ययनरत छिन्। आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीको सहयोगी भूमिका, व्यवहार र सिकाइको आदानप्रदानलाई आधार मानी दृष्टिविहीन विद्यार्थीले उनलाई छनोट गरेका थिए। यसैगरी अनिता भेटवाल हिमालखबरमा कार्यरत छिन्।

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेलेको भन्दै भेटवाललाई यो पुरस्कारका लागि छनोट गरिएको प्रेश विज्ञप्तीमा उल्लेख छ। 

‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ राशी २० हजार, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ राशी १० हजार र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ राशी १० हजार रुपैयाँ छ। यी सबै पुरस्कार वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ।