ब्राजिललाई हराए पनि क्यामरुन बाहिरियो

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को हार बेहोरे पनि ब्राजिल समूह विजेताका रूपमा नकआउट प्रवेश गरेको छ।

तस्वीर : फिफा

काठमाडौँ– मुख्य खेलाडीलाई आराम दिएको ब्राजिल क्यामरुनसँग पराजित भएको छ।

जारी विश्वकप अन्तर्गत् समूह चरणको अन्तिम खेलमा १–० को हार बेहोरे पनि ब्राजिल समूह विजेताका रूपमा नकआउट प्रवेश गरेको छ। लुसेल रंगशालामा जित निकालेको क्यामरुनको भने विश्वकप यात्रा समाप्त भएको छ।

खेलको अतिरिक्त समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई सान्त्वना जित दिएका हुन्। गोलपछि जर्सी फुकालेका उनले खेलको दोस्रो पहेलो कार्ड पाएका थिए। स्टार स्ट्राइकर ब्रायन एमबुएमोको साथमा क्यामरुनले खेलभर ब्राजिलमाथि दवाव राखेको थियो। तर, म्यानचेस्टर सिटीका गोलकिपर एडर्सनले शानदार बचाउ गरेका थिए। 

ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले अघिल्लो खेलको टिमबाट १० खेलाडी परिवर्तन गरेका थिए। खेलमा आर्सनलबाट खेल्ने गाव्रियल मार्टिनेलीले आफूलाई प्रमाणित गरेका छन्।

प्रतियोगिताको मुख्य दावेदार ब्राजिलले क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्नेछ।