उरुग्वे चौथो पटक समूह चरण पार गर्न असफल

अफ्रिकी राष्ट्र घानालाई २–० ले पराजित गरेपनि दुई पटकको विजेता उरुग्वे विश्वकपको समूह चरणबाटै घर फर्किएको छ। 

काठमाडौँ– जर्जियन डि एर्रास्काएटाको दुई गोल प्रेरित उररुग्वे कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

अल जानोव रंगशालामा शुक्रबार सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा अफ्रिकी राष्ट्र घानालाई २–० गोलले पराजित गरेपनि दुई पटकको विश्वविजेता घर फर्किएको हो। सन् १९३० बाट विश्वकप खेल्न थालेको उरुग्वे समूह चरणबाट बाहिरिएको यो चौथो पटक हो।

उरुग्वेले हालसम्म १४ पटक विश्वकप खेलिसकेको छ। चार वर्ष अगाडि रसियामा आयोजना भएको विश्वकपमा उरूग्वे क्वार्टरफाइनलसम्म पुगेको थियो। शुक्रबार खेलको १७औँ मिनेटमा घानाले पेनाल्टी पाएको थियो। तर, कप्तान आन्द्रे एयुले गोलमा परिणत गर्न सकेनन्।

२६औँ मिनेटमा उरूग्वेले अग्रता लियो। मिडफिल्डर फाकुन्डो पेलिस्ट्रीको पासमा लुइस सुआरेजले प्रहार गरेको बल घानाका गोलरक्षकले फुत्काएका थिए। उक्त बललाई छेउमै रहेका जर्जियनले गोलमा परिणत गरेका थिए। ३२औँ मिनेटमा पुनः उनैले उरूग्वेको अग्रता दोब्बर बनाए।

डार्विन नुनेजले अगाडी बढाउँदै सुआरेजलाई बल दिएका थिए। उनले दिएको बललाई जर्जियनले गोलमा परिणत गरे। दोस्रो हाफमा दुवै टोलीले केही मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन्।

जितसँगै उरूग्वेले तीन खेलबाट १ जित, १ हार र १ बराबरीसहित ४ अंक जोड्यो। यता, पराजित घानाले समान खेलबाट १ जित र २ हारसहित ३ अंक जोड्यो।