विश्वभर एचआईभी संक्रमितको संख्या ३८ लाख नाघ्यो

पछिल्लो ४० वर्षयता ८४ लाख २० हजार मानिसमा एचआईभी र एड्स लागेको छ भने ४० लाख १० हजार मानिसको मृत्यु भएको छ।

विश्वभर हरेक साता १५ देखि २४ वर्ष उमेर समूहका करिब ४ हजार ९०० युवायुवतीमा एचआईभी संक्रमण भेटिने गरेका छन्।

यूएनएड्सको तथ्यांकअनुसार सन् २०२१ मा १५ लाख नयाँ एचआईभी संक्रमित फेला परेको छन्। योसँगै विश्वभर एचआईभी संक्रमितको संख्या ३८ लाख ४० हजार पुगेका छन्। सन् २०२१ मा ७५ प्रतिशत एचआईभी संक्रमित 'एन्टिरेट्रोभाइरल' उपचारको पहुँचमा रहेका छन्।

पछिल्लो ४० वर्षयता ८४ लाख २० हजार मानिसमा एचआईभी र एड्स लागेको छ भने ४० लाख १० हजार मानिसको मृत्यु भएको छ। सन् २०२१ मा यौन रोगसँग सम्बन्धित रोग लागेका ६ लाख ५० हजार मानिसको मृत्यु भएको छ। यो संख्या २००४ को तुलनामा ६८ प्रतिशतले कम हो। यौन रोगसँग सम्बन्धित रोग लागेर मृत्यु हुनेको संख्या सन् २००४ मा २० लाखभन्दा बढी थियो।

सन् २०१० देखि एचआईभी संक्रमितको संख्या वार्षिक ३२ प्रतिशतले घटिरहेको छ। सन् २०१० मा २२ लाख एचआईभी संक्रमित फेला परेकोमा सन् २०२२ मा १५ लाख संक्रमित थपिएका छन्।

बालबालिकाको हकमा नयाँ एचआईभी संक्रमित संख्या ५२ प्रतिशतले घटेको छ। यो संख्या सन् २०१० मा ३ लाख २० हजार रहेकोमा सन् २०२१ मा १ लाख ६० हजार छ। यस्तै, सन् २०२१ मा विश्वभरका ५९ लाख मानिसहरू आफ्नो एचआईभी संक्रमणको अवस्थाबारे जागरुक नभएको पाइएको छ। एचआईभी र एड्स पूर्ण रूपमा निको पार्ने कुनै पनि औषधिको विकास नभए पनि नियन्त्रण र सुरक्षाका उपायमा पछिल्लो समय उल्लेख्य उपलब्धि मिलिरहेको छ।

एचआइभी संक्रमणपछिको अन्तिम अवस्था एड्स हो। मानिसलाई अन्य रोगबाट बचाउने रोग प्रतिरोधी क्षमतालाई एचआईभी संक्रमणले आक्रमण गरि कमजोर पारिदिन्छ। औषधि अभावमा धेरै एचआईभी संक्रमितलाई एड्स लाग्ने गरेको थियो। तर, अहिले औषधिको विकासले गर्दा एड्स लाग्नेको संख्या कम भइरहेको छ।