ब्राभोले चेन्नईको बलिङ 'डिपार्ट' सम्हाल्ने

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्।

काठमाडौँ– वेस्ट इन्डिजका अनुभवी पूर्व अलराउन्डर ड्वेन ब्राभो इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नईको बलिङ प्रशिक्षकको भूमिकामा देखिने भएका छन्।

आईपीएलबाट सन्यास लिएका उनले लक्ष्मीपति बालाजीको स्थानमा चेन्नईको बलिङ प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। उनलाई केही दिन अगाडि मात्रै चेन्नई सुपर किंग्स टोलीले रिलिज गरेको थियो।

ब्राभो सन् २०१० को अन्तमा टोलीसँग जोडिएका थिए। सन् २०११ देखि चेन्नईका लागि खेल्दै आएको उनले ३ पटक आईपीएलको उपाधि चुमेका थिए। ब्राभो सन् २०१४ मा च्याम्पियन्स लिग जित्ने चेन्नईको टोलीमा पनि थिए।

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्। "म यो नयाँ यात्राको प्रतीक्षामा छु। मलाई बलरसँग काम गर्न रमाइलो लाग्छ र म यो भूमिकाको लागि उत्सुक छु", ब्राभोले भने।

ब्राभो सन् २००८ देखि आईपीएलसँग जोडिएका छन्। शुरूमा उनले मुम्बई इन्डियन्सबाट तीन सिजन खेलेका थिए। आईपीएलमा सर्वाधिक विकेट लिने कीर्तिमान ब्राभोको नाममा छ। उनले १६१ खेलमा १८३ विकेट लिएका छन्। ब्राभोपछि श्रीलंकाका पूर्वफास्ट बलर लसिथ मालिंगा छन्। मालिंगाले आईपीएलका १२२ खेलमा १७० विकेट लिएका छन्।

ब्राभोले दुई पटक पर्पल क्याप जितेका छन्। सिजनमा सबैभन्दा बढी विकेट लिने बलरलाई पर्पल क्याप दिइन्छ। ब्राभोले सन् २०१३ र २०१५ मा यो अवार्ड पाएका थिए। ब्राभो र हर्षल पटेलको नाममा एक सिजन (३२) सर्वाधिक विकेट लिने कीर्तिमान छ। ब्राभोले डिसेम्बर २३ मा हुने मिनी अक्सनका लागि नाम दर्ता गरेका थिएनन्। यसपछि ब्राभोले आईपीएलबाट सन्यास लिन सक्ने चर्चा चलेको थियो।