सार्वजनिक बसमा म महिला सिटमा बस्दा एक जना महिलाले ‘ए भाइ उठ्’ भन्दै एक मुठ्ठीजति कपालै तानिदिइन्। म बसेको सिटसँगै महिला बस्न हिचकिचाउँथे। सहचालक ‘ए भाइ भाडा देऊ’ भन्थे।
आमाबाबुको दोस्रो सन्तानका रूपमा म जन्मिएँ, पहिलो सन्तान छोरा। बज्यैले नातिनी जन्मेको थाहा पाएपछि बालाई भनिन् रे, ‘चुथ्राका बुटामुनि मुसोको दुलोमा लगेर फाल् लाटा, फाल्।’ तर मेरी आमाले मलाई मायाले हुर्काइन्।
आमाले आफ्नै गुन्यूबाट दाइका लागि जाङ्ग्या (हाप पाइन्ट) र मेरो लागि फ्रक सियोधागोले सिलाइदिन्थिन्। स्कुल जाँदा म त्यही फ्रक लाउँथे। तीनचार वर्षकी हुँदा म स्कुल जान थालेँ। १७/१८ वर्षसम्मका किशोरी मसँगै कक्षा एकमा पढ्थे। स्कुल भर्ना गरेको केही समयपछि तीन जना साथीको बिहे भयो र पढाइ छुट्यो। म भने पढ्दै गएँ। म कक्षा तीनमा पढ्थे। शिक्षण सिकाइ अभ्यासका निमित्त बाहिरबाट हामीलाई पढाउन केही शिक्षक आउने गर्थे। एक जना शिक्षकले मेरो कक्षामा वनभोज भन्ने पाठ पढाउन अघिल्लो दिन नै छलफल गरियो। जनही सबैलाई केही रुपैयाँ दामासाहीले भाग छुट्ट्याइयो।
त्यो पाठ पढाउँदा शिक्षकले नै प्रयोगात्मक सिकाइ गरौँ भन्नु भएपछि त्यस्तो उपाय अपनाइएको थियो। सबैबाट पैसा उठाइसकेपछि कक्षाकोठालाई हामीले वन मान्यौँ। विद्यार्थी र शिक्षक मिलेर वनभोज खाने भयौँ। वनभोजको परिकारमा चिउरा, चिनी र चाउचाउ ठूलो भाँडा (बाल्टी)मा चटपटे बनाएझैँ मिसाइयो र सबैलाई बाँडियो। कसैले अञ्जलीमा, कसैले कमिजको फेरमा, कसैले कापीको पाना च्यातेर त कसैले पोलिथिनको झोलामा थापे।
तर मलाई खानेकुरा ल्याउने, मिसाउने र बाँड्ने भूमिकामा त राखिएन नै हुँदाहुँदै वनभोज खाने बेलासमेत मेरो भाग दिइएन। म अरूहरूभन्दा अलग्गै राखिइएँ। वनभोजको प्रयोगात्मक कक्षा सञ्चालन गरिरहँदा सबैले खाए र रमाइलो माने। म हेरेको हेर्यै भएँ। मलाई वनभोजको खाजा भोलि दिने कुरा पो गरे। बाल्टीभित्र खानेकुरा राखेर कुनामा थन्काए। मलाई भोलिपल्ट नै त्यो वनभोजको खानेकुरा दिइयो। कमिजको फेरमा खानेकुरा थापेँ। सँगै पढ्ने साथीहरूले मलाई गिज्याए। मैले त्यो खानेकुरा खाइनँ, पोखाइदिएँ। त्यसबेलाका धेरै घटनाक्रम बिर्सिसके पनि वनभोजमा भएको त्यो विभेद मैले कहिल्यै बिर्सिनेछैन।
त्यसबेला साथीहरूको झैँ लामो कपाल पाल्ने मेरो पनि रहर थियो। तर बाले छोटो काटिदिनुहुन्थ्यो। मचाहिँ रुन्थेँ। म रुँदा बा ‘स्याहार्न सजिलो हुन्छ, जुम्रा पर्दैन’ भनेर मलाई फकाउनुहुन्थ्यो। अझ बाले मलाई सम्झाउँदै भन्नुहुन्थ्यो, ‘छोटो कपाल भयो भने कसैले पनि लुछ्न पाउँदैनन्। कसैले पनि कपालमा समातेर तान्न सक्दैनन्।’ मसँगैका, मेरै उमेरका र मभन्दा ठूला उमेरका केटीहरूको लामो कपाल त कसैले लुछ्ने र तान्ने गर्दैनथे। मेरै कपाल किन तान्ने र लुछ्ने गर्लान् भन्ठान्थेँ र बाको कुरा पत्याउन सक्दिनथेँ। तैपनि बाले मेरो कपाल छोटै पारिदिनुहुन्थ्यो। छोटो कपाल भएकैले मलाई सबैले ‘घनटाउके’ भन्दै हेप्थे। त्यस कारण पनि आफ्नो कपाल लामो पार्न चाहन्थेँ।
घरमा जाँतो र ढिकी थियो। पायक पर्ने जुनसुकै समुदायका मान्छे मेलापर्वमा चिउरा, सिरौँला, चामल र धान कुट्थे। गाउँभरका प्रायः महिला ढिकी कुट्न आउँथे। म घान लगाइदिन्थेँ। सुपोले कनिका र भुस निफनिदिन्थेँ। चामल सारी दिन्थेँ। गैरदलितले घान लगाउने मान्छे लिएर आउँदा भने म फुर्सद पाउँथे। सुपोको अगाडि टुक्रुक्क बस्थे र निफनेको हेर्थे। उनीहरूले ‘सुपोको अघि बस्नुहुन्न, पोइले छोड्छ’ भन्थे। ‘छोडे छोडोस्, म मेरै घरमा बस्छु’, भन्थेँ।
हाम्रो घर ढुंगाले छाएको छ। त्योभन्दा पहिले खरको छानो थियो। हरेक वर्ष खरले छाउनुपर्थ्यो। मेरा बा डकर्मी, सिकर्मीलगायत काम गर्नुहुन्थ्यो। ढुंगाको छाना टिकाउ हुन्थ्यो। ढुंगाखानी नजिकै थियो। दाइ र म दिनमा चारखेपसम्म घर छाउने ढुंगा बोक्ने गर्थ्यौं। दाइ धुरी चढेर घर छाउँथ्यो। मलाई धुरी चढ्न दिँदैनथे। माटो र ढुंगा पुर्याउने बहाना गर्दै कयौँपटक म छानामाथि चढेँ। बारीमा काका र दाइभाइले हलो जोत्थे। मलाई पनि जोत्न मन लाग्थ्यो। ‘केटी मान्छेले हलो छोए पाप लाग्छ’ भन्थे ठूलाबडा। मैले भने लुकेर छोएँ र पछि जोतेँ पनि। तर, त्यस्तो केही पनि भएन।
अनि, छोरी मान्छेले कुखुरा काट्न हुन्न पनि भन्थे। पाहुना आउँदा मात्रै होइन, पाहुना जाँदासमेत कुखुरा (प्रायजसो भाले) काट्ने म नै गर्थें। श्रीमती गर्भवती हुँदा श्रीमान्ले कुखुरा काट्न नहुने भन्ने जनविश्वास पनि थियो। त्योबेला पनि मैले नै कुखुरा काट्थेँ। मैले गर्ने यस्तै कामलाई सबैले उच्छृङ्खल भन्थे। मलाई ती कुराको मतलब हुन्थ्यो।
तर केटाहरूले केटीहरूमाथि गर्ने दुर्व्यवहारबाट जोगिन चाहन्थेँ। एक दिन बहिनीसँग काकीलाई सुत्केरी खर्च (सुत्केरी बेलामा खानुपर्ने आवश्यक सरसामग्री) पुर्याउन लामो बाटो जाँदै थियौँ। रात पर्न थालेपछि आफ्नो सुरुवाल मजाले देखिने गरी कुर्थाको कम्मरमुनिको भाग गाँठो पारेर कम्मरमै लुकाएँ। बाटोमा होहल्ला गर्दै केटाहरू हिँडिरहेका थिए। केटी ठानेर उनीहरूले कुनै हरकत गर्लान् कि भन्ने डरले मैले त्यस्तो उपाय अपनाएको थिएँ।
चार कक्षा पढ्दासम्म मेरो समुदायको सबै केटी साथीहरूको बिहे भयो। पाँच कक्षासम्म मात्र पढाइने मेरो स्कुलबाट सो कक्षा पास गर्ने दलित छात्रा म एक्लो थिएँ। छ कक्षा पढ्न अर्को स्कुल गएँ। पाँच कक्षासम्म पढाइ हुने अन्य धेरै विद्यालयबाट ६ कक्षा पढ्न विद्यार्थी त्यहाँ आउँथे, जहाँ कक्षा १२ सम्म पढाइ हुन्थ्यो। ६ कक्षामा पहिलो दिन शिक्षकले भनेअनुसार परिचय भयो। पुनः सबै विद्यालयको प्रथम हुने विद्यार्थीलाई उभिन लगाइयो र परिचित बनाइयो। एक दिन खाजा समयपछिको पिरियड खाली थियो। आफ्नै सिटमा बसेर पढिरहेको थिएँ। मेरो कपाल छोटो थियो। लामो कम्मरसम्म कपाल गरेकी अन्दाजी १९ वर्षकी सोही कक्षाकी छात्रा आइन् र एक्कासि मलाइ बेन्चमा लडाइन्।
उनका ग्रुपका अन्य साथी पनि फटाफट आए। कसैले मेरा दुवै खुट्टा चल्न नमिल्ने गरी अँठ्याए। कसैले हात र कसैले कम्मर समाएर चल्न नसक्ने बनाए। शुरूकी छात्राले ‘तँ नै होस् नि काउलैचौरको स्कुलबाट कक्षा प्रथम हुने?...’ भन्दै हकारिन्। हातको बुढी औँलाको लामो नङले मेरो निधारको बीच भागमा जोडले गाडिन्। करिब पाँच मिनेटसम्म जोडले रगड्दा म चिच्याएँ, रोएँ। कसैले मेरो उद्धार गरेन। निधारबाट रगत आएपछि सोही रगतले लेखेर मेरो निधारमा पुतलीको चित्र बनाइन्। हेर, यसको निधारमा पुतली... भन्दै मलाई उनीहरूले गिज्याए र छोडेर हिँडे। यो घाउ निको हुन करिब दुई हप्ता लाग्यो। तर, विभेदको डोब अझै मेरो निधारमा छ। र ताजै छ, सिनेमाजस्तै देखिने घटनाको रिल दिमागमा।
बिहे भएका सबै साथीले बच्चा जन्माउँदै गए। तिनका कति शिशु मरे, कति बाँचे। कतिहरूलाई छोरा नै पाउनुपर्छ भन्ने दबाब दिइन्थ्यो। गर्भमा छोरी भएको थाहा पाएपछि कतिको जबरजस्ती गर्भपतन गराइदिन्थ्यो। छोरा पाउन नसकेका मेरा कति साथीले सौता पनि पाए। कतिको सम्बन्धविच्छेद भयो। कतिको लोग्ने बिते।
म पढ्ने ध्याउन्नमै थिएँ। मलाई देख्नासाथ कतिपय चिनजानकारहरू ‘धेरै पढेर के गर्छेस् र? तेरो त मासु नि नबिक्ने भयो’ भन्थे। १० कक्षा पास गरेपछि प्लस टु पढ्ने निर्णय लिएँ। छोरी मान्छेले अंग्रेजी विषय लिनुहुँदैन भन्थे। मैले अंग्रेजी विषय लिएर स्नातक पढेँ। स्नातक पढ्दा क्रमशः प्रथम, दोस्रो र तेस्रो वर्षको जाँच दिएँ तर मेरो मात्रै नतिजा आएन। क्याम्पसमा सोध्दा काठमाडौँ जान सुझाए। सबै तहका प्रवेशपत्र बोकेर परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे। कहिले गोप्य शाखा त कहिले डिन कार्यालय धाएँ।
डिन कार्यालयमा बुझ्दा ‘राम्रो नम्बर ल्याएर पास भएको छ तर ट्रान्सक्रिप्ट लिन मिल्दैन’ भने। कारण सोध्दा यमकुमारी लेख्नुपर्नेमा सर्टिफिकेटमा यमकुमार लेखिएको छ भन्ने जवाफ पाएँ। सबै प्रवेशपत्र जाँच गर्दा फारम भर्दा मैले सही बेहोरा उल्लेख गरेको भेटियो। तर कसरी यमकुमारीबाट यमकुमार भयो? त्यसको जवाफ कसैसँग थिएन। प्राय: अङ्ग्रेजीमा मेरो नाम लेख्दा यम के. ददेल लेखिने रहेछ। बीचको नाम 'के डट' मात्रै लेखिँदा बुझ्नेले पुरुष बुझेर त्यहीअनुसार लेखिदिएछ क्यारे! हुनलाई माथिपट्टि देवनागरीमा समेत पूरा नाम लेखिएको थियो। तर त्यसलाई ख्याल नगरिएपछि मेरो लिंग नै भिन्न भइदियो। त्यसको सबैभन्दा ठूलो क्षति मैले बेहोर्नुपर्यो। मलाई फेरि तीन वर्षको पढाइ दोहोर्याएर पढ्ने सुझाव दिएर फर्काइयो। मैले पनि अरू उपाय भेटिनँ, त्यसै गरेँ।
त्यसपछि म काठमाडौँ कानून विषयमा स्नातक गरेर वकिल बनेँ। कानून विषयमै स्नातकोत्तर पढ्न थालेँ। त्यहीबेला काठमाडौँबाहिरका मिटरब्याजी, लघुवित्त, सहकारी र बैंकका वित्तीय उत्पीडनमा परेकाहरू उन्मुक्तिको आन्दोलनका लागि काठमाडौँ आएका थिए। कानूनका विद्यार्थीहरूको एउटा समूहसँगै त्यहाँ पुगेँ। माइतीघरलाई आन्दोलन निषेधित क्षेत्र घोषणा गरिएको हुनाले प्रहरीले आन्दोलनकारीलाई शान्ति बाटिकाको चौघेराभित्रै थुन्यो। प्रदर्शनकारी बाहिर जान खोज्ने र प्रहरीले रोक्न खोज्दा झडप भयो। माहौल शान्त हुँदै गर्दा प्रहरीले एक्कासि कुटपिट गर्न थाले। मलाई अचानक तानेर कुट्यो र टाउको फुटेर रगताम्य भएँ र शरीरभर नीलडाम यत्रतत्र थिए। उपचारको क्रममा मैले कपाल खौरेँ। लामो कपाल पुनः ठुटे भयो।
शारीरिक र मानसिक रूपमा थकान महसुस भएकाले आराम गरिरहेथेँ। अघिल्लो सालको कानून दिवसका दिन (वैशाख २६ गते) ठुटे कपालमा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएँ। धेरै चिनेजानेका व्यक्तिसँग भेट भयो। धेरैको नजर मेरो ठुटे कपालमा थियो। उनीहरू मेरो जीउ 'स्क्यान' गर्थे। घाइते भएको शरीरको आलो दुखाई, चोटपटकका नीलडाम र घाउ सहँदै म त्यहाँ पुगेकी थिएँ। उनीहरूले मलाई यसरी घुरेर हेरेकी प्रहरीको कुटाइभन्दा बेसी दुख्यो त्यो हेराई।
सुत्केरी हुन थापाथलीको प्रसूति गृह बहिनी जाँदा अघिल्लो सालको भदौमा म उनको साथी थिएँ। सेक्युरिटी गार्डले डाक्टर आउने बेला भएकोले एक जना महिला कुरुवा बस्न र अरू सबै बाहिर जान अनुरोध गरे। म भित्रै बसेँ। डाक्टर आएर भने ‘ए भाइ, बाहिर जानूस्’ भने, तर म डेग चलिनँ। सेक्युरिटी गार्ड मलाई झकझकाउन आइपुगे। ‘हजुर! म एक्लै हो, बहिनीको साथी’ भनेँ। मेरो आवाज सुनेर सेक्युरिटी गार्ड मुस्कुराउँदै फर्किए। डाक्टर थोरै अप्ठ्यारो मान्दै बिरामी जाँच्न गए। गर्भवतीहरू भने हाँसे। बहिनीलाई साथी बसिरहँदा यो प्रक्रिया दोहोरिइरह्यो। कोही नर्स आउँथे र हकार्थे, ‘तपाईंको मात्रै श्रीमती छ? तपाईंलाई मात्रै गर्भवती श्रीमतीको माया लाग्छ? बाहिर जानू।’ ऐया र आत्था गर्दै प्रसव पीडाले चिच्याइरहेका गर्भवती महिलाका लागि समेत म केटी नै हो भन्ने बुझेर एकैछिन भए पनि पीडा भुल्दै हाँस्थे।
सार्वजनिक बसमा म महिला सिटमा बस्दा एक जना महिलाले ‘ए भाइ उठ्’ भन्दै एक मुठ्ठीजति कपालै तानिदिइन्। म बसेको सिटसँगै महिला बस्न हिचकिचाउँथे। सहचालक ‘ए भाइ भाडा देऊ’ भन्थे। बसपार्कमा शौचालय सोध्दा कुनै व्यक्तिले पुरुष शौचालय देखाइदिन्थे। खाजा पसलमा केटीहरू मेरो छेउनजिक बसेर खाजा खाना असहज मान्थे। बरु पुरुषहरू नजिकै बस्न आइपुग्थे। हात हालेरै बोल्न पछि पर्दैनथे। मेरैसामु मुख छाडेर गाली जनाउने वा फोहोरी भनिने शब्द बोल्थे। जब म केटी हुँ भन्ने थाहा पाउँथे, अनि तत्काल माफी माग्थे।
एक दिन कामको सिलसिलामा अदालतमा थिएँ। एक जना साथी उनकी ६ वर्षकी छोरीसँगै भेटिइन्। हामीले खुशीले हात मिलायौँ, अंकमाल गर्यौँ। तर उनकी छोरीले मेरो मुखमा थुथु गरेर थुकिन्। लात्ताले चारपटक हानिन्। अनि बोलिन्, ‘को केटा हो यो? मेरी मामुलाई हग गर्ने, हात मिलाउने, छुने? किन छोएको मेरी मामुलाई?’ छोरीलाई उनैले सम्झाइन् ‘ल क्याम्पसमा हामी सँगै पढेको हो। उनी मेरी साथी, तिम्री अन्टी हुन्’। छोरीको जिज्ञासा मेटिएन। ‘केटी भएको भए किन हाम्रोजस्तो लामो कपाल छैन त? नाकमा फुली किन छैन त? मामुको जस्तै केटीले लगाउने कक, सुजवाला जुत्ता किन छैन त?’ मैले नाक कान छेडेको डोब देखाउँदै भने, ‘म केटी नै हुँ।’ उनले रिसाउँदै भनिन्, ‘चेहेरा पनि केटीजस्तो छैन।’ हामी दुवै जनाले भनेको कुराले उनको चित्त पटक्कै बुझेन। हामीले कोशिश गरे पनि उनलाई भन्न खोजेको कुरा सही तरिकाले भन्न सकेनौँ।
अनेकन् लाञ्छना र घटना बेहोर्नुका बाबजुद पनि छोटो कपालमै आफूलाई सहज महसुस गर्छु। त्यसैले छोटो कपालमै छु। छोटो कपालकै कारण हुनुपर्छ, कतिले हेपेर भाइ भन्ने गर्छन्। व्यावसायिक रूपमा मेरो वकालत पेसासँग गाँसिन आइपुग्नेहरूमध्ये कतिले झुक्किएर ‘सर’ सम्बोधन पनि गर्ने गर्छन्।
लामो कपाल भएका पनि महिला हुन्छन्। छोटो कपाल भएका पनि महिला हुन्छन्। म छोटो कपाल राख्न रुचाउने महिला हुँ। मलाई कुनै दिन लामो कपाल राख्न मन भए म त्यो पनि गर्न सक्छु। मेरो कपाल, मेरो मर्जी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
