उच्च वर्षाले जलमग्न हुँदा मानवीय क्षति रोक्न सफल कञ्चनपुरको उदाहरण

कञ्चनपुरमा गत असार २३ र २४ गते नेपालमै अहिलेसम्मको बढी वर्षा मापन भएको थियो। ‘क्लाउड बर्स्ट’ भएर बाढी र डुबान हुँदा पनि पूर्वसूचना र तयारीले सम्भावित ठूलो मानवीय क्षति जोगिएको छ।

डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित एक घर। तस्वीर: शेरबहादुर सिंह/रासस

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका अनुसार गत असार २३ गते बिहान ८ः४५ बजेदेखि अर्को दिन बिहान ८ः४५ सम्म कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रले ६२४ मिलिमिटर मापन गर्‍यो। सोही जिल्लाको हनुमाननगर स्टेशनमा ५७३ र सुन्दरपुरस्थित स्टेशनमा ५५६.४ मिलिमिटर वर्षा मापन भयो। 

त्यहाँ रहेका स्वचालित मापन केन्द्रमा रेकर्ड भएको विवरणपछि विभाग अलमलमा पर्‍यो। “त्यति धेरै वर्षा मापन भएपछि कतै स्टेशनमा खराबी त छैन भन्ने भयो। विभिन्न संघसंस्था र नागरिक तहबाट पनि सरोकार व्यक्त भएपछि त्यसलाई भेरिफाई गर्ने निर्णय भयो,” विभागकी सिनियर मेटेरियोलोजिस्ट डा. इन्दिरा कंडेल भन्छिन् “हामीले यहाँबाट गरेको अवलोकनमा ९९ प्रतिशत त ढुक्कै थियौँ। तर त्यसलाई पूर्णरूमा पुष्टि गर्न स्थलगत अध्ययन नै गर्‍यौँ।”

सिनियर मेटेरियोलोजिस्ट डा. कंडेल र शान्ति कंडेलसहितको टोलीले गरेको स्थलगत अध्ययनले पनि स्वचालित मापनमा भएको रेकर्ड सही भएको निष्कर्ष निकालेको छ। विभागले गरेको स्थलगत अध्ययनको निष्कर्षपछि गत असार २३ र २४ गते कञ्चनपुरमा अहिलेसम्म नेपालको इतिहासमा सबैभन्दा बढी वर्षा मापन भएको मानिएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले भत्काएको पुल । तस्वीर: रासस

त्यसभन्दा अघि २०७४ भदौ १ गते हेटौँडामा भएको ५१६.२ मिलिमिटर वर्षा नै विभागको रेकर्डमा अहिलेसम्मकै उच्च थियो। यद्यपि, २०५० साउन ४ गते मकवानपुरको टिस्टुङमा वन तथा भू–संरक्षण विभागले राखेको मापन केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो।

स्थानीयहरूसँग गरिएको कुराकानी र त्यहाँको वस्तुस्थितिको अवलोकनपछि कञ्चनपुरमा बादल फाटेर ‘क्लाउड बर्स्ट’ भएको विभागको टोलीको निष्कर्ष छ। “स्थानीयहरूले पनि यस्तो कहिले पनि नभएको बताएका छन्। रेकर्डमा राखेको अहिलेसम्मकै सबैभन्दा ठूलो वर्षा हो,” कंडेल भन्छिन्, “पहिला महाकाली बढेर बस्तीमा पस्थ्यो। यसपटक बाढीले डुबाएर अन्नपात नोक्सान भयो भन्ने स्थानीयको भनाइ छ। महाकालीको पानी बस्तीमा पसेर डुबान भएको होइन।” 

पूर्वसूचनाले जोगायो क्षति 
मौसमविद्हरूका अनुसारमा कञ्चनपुरमा बादल फाटेर वर्षा भएको हो, जसलाई ‘क्लाउड बर्स्ट’ भनिन्छ। सबैतिर डुबान हुनेगरी कञ्चनपुरमा त्यति ठूलो वर्षा हुँदा पनि ठूलो मानवीय क्षति हुन पाएन। वर्षाका कारण मानवीय क्षति रोकिनुको एक मात्र कारण पूर्वसूचना र पूर्वतयारी थियो।

असार २३ गते कञ्चनपुरमा ठूलो वर्षा हुँदै छ भन्ने सूचना अघिल्लो दिन असार २२ गते नै प्राप्त भएको र त्यसैअनुसार पूर्वतयारी गरिएका कारण ठूलो मानवीय क्षतिलाई रोक्न सकिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी बताउँछन्। “जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने सम्भावना छ भनेर हामीलाई २२ गते शनिबार नै फोन गरेर सूचना पठायो। हामीले उक्त सूचना स्थानीय तह तथा विभिन्न सञ्चारमाध्यम मार्फत गाउँ–गाउँमा पठायौं,” उनी भन्छन् “सम्भावित जोखिम भएका क्षेत्रका मानिसलाई पनि तत्कालै सुरक्षित स्थानमा सार्न सफल भयौँ, जसकारण सम्भावित मानवीय क्षति हुन पाएन।”

डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र। तस्वीर: रासस

जिल्ला प्रशासन कार्यालयका अनुसार कञ्चनपुरको पुनर्बासमा ४००, भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट २०० जनालाई २२ गते साँझसम्म सुरक्षित स्थानमा सारिसकिएको थियो। त्यसैगरी, दोधारा र चाँदनीमा २५० जनालाई पहिल्यै विद्यालयमा सारिएको थियो। त्यहाँ वर्षा बढेपछि राति नै १५०, र भीमदत्त नगरपालिकामा २९ जनालाई बोटको माध्यमबाट सशस्त्र प्रहरीले उद्धार गरेको थियो। 

कञ्चनपुरमा २३ गते बिहानदेखि वर्षा शुरू भएको भए पनि साँझ ४ बजेदेखि भने अत्यधिक वर्षा भएको थियो। “मानिसलाई पहिल्यै सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति हुनबाट बच्यो,” सहायक प्रजिअ जोशी भन्छन्। 

सशस्त्र प्रहरी बल नम्बर ३५ गणका एसपी खगेन्द्रबहादुर चन्द पूर्वसूचना र पूर्वतयारी गर्ने पर्याप्त समय भएकाले मानवीय क्षतिलाई रोक्न सफल भएको बताउँछन्। “पूर्वतयारी गर्‍यौँ। हामीले हाम्रो शक्तिलाई दक्षिण–पश्चिम तथा मध्यक्षेत्रमा तयारी अवस्थामा राख्यौँ,” उनी भन्छन्, “जसले गर्दा तत्काल उद्धारमा सहज भयो।” 

उद्धारमा केही मात्र ढिला भएको भए भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका २९ जनालाई बचाउन सक्ने अवस्था नरहेको सहायक प्रजिअ धर्मराज जोशी बताउँछन्। “पानी बढेर घरको छतसम्म पुगेको थियो। केही मिनेटले मात्र हामी उनीहरूको जीवन बचाउन सफल भयौँ,” उनी भन्छन्, “सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहबीचको समन्वय र पूर्वसूचनाले काममा धेरै सहज भयो।” 

यद्यपि, उक्त अवधिमा कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको थियो। पाँच जनामध्ये तीन जना किशोरी वर्षा रोकिएपछि २४ गते दिउँसो पानीमा खेल्ने क्रममा बगेका थिए। एक जना पुरुष वर्षा भइरहेको समयमा खोलामा माछा मार्न जाँदा बाढीमा बगेका थिए। बाबुआमाले खाटमा सुताएर सामान सुरक्षित गराउन थाल्दा त्यहाँबाट लडेर सात महिनाको बच्चाको मृत्यु भएको थियो।