कामु प्रधानन्यायाधीश भए हरिकृष्ण कार्की, बार राजनीतिदेखि अदालतको नेतृत्वसम्म

हरिकृष्ण कार्कीले कामु प्रधानन्याधीशको जिम्मेवारी पाएका छन्। सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रूपमा कार्कीले उक्त जिम्मेवारी पाएका हुन्।

काठमाडौँ- हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश नियुक्त भएका छन्। दीपककुमार कार्की उमेर हदका कारण अवकाश पाउनुभन्दा केही दिनअगाडि तीर्थाटनका लागि भारततर्फ लागेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन्।



प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीश हुने व्यवस्थाअनुसार कार्कीले उक्त जिम्मेवारी पाएका हुन्। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लागेपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए।



को हुन् कार्की?

विसं २०१५ भदौ २५ गते ओखलढुंगाको मम्खा-१ मा जन्मिएका कार्कीले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातकोपाधि हासिल गरेका छन्। उनी २०४० सालबाट अधिवक्ताका रूपमा कानूनी क्षेत्रमा प्रवेश गरेका थिए। उनले बार राजनीतिमा लामो समय बिताए। उनी नेपाल बारका पूर्वअध्यक्षसमेत हुन्। 



कार्की केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा महान्यायाधिवक्ता थिए। उनी २०७२ असोज २८ देखि फागुन १८ गतेसम्म पाँच महिना उक्त पदमा थिए। 



उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए। दीपककुमार कार्की असोज १५ गते अनिवार्य अवकाशमा गएपछि हरिकृष्ण नै कामु प्रधानन्यायाधीशका रूपमा रहनेछन्। 



न्यायाधीशको रूपमा उनको कार्यकाल २०८० भदौ १४ गतेसम्म छ।