मनसुनले किन दलितका घर धेरै बगाउँछ?

आफ्नो मिहिनेतले रोजा बस्ती र सम्पत्ति पाएको तर्क ‘ठूलो जात-समुदाय’का मान्छेले गर्लान् तर सत्ताको पक्षपातपूर्ण व्यवहारको लाभ पाएका हुन्। लामो समयको संरचनात्मक अत्याचारको पीडा दलितले भोगिरहेका हुन्।

झट्ट हेर्दा धेरै मानिसलाई यो शीर्षक नमिलेजस्तो लाग्न सक्ला। यथार्थमा भने मनसुन र दलितका दुःखबीच गहिरो र दुःखद सम्बन्ध रहने गरेको छ। खासगरी नेपालका पहाडमा बसोबास गर्ने दलितका लागि यो झन्डै शतप्रतिशत सत्य हो। 

मानिसहरू प्रश्न गर्न सक्छन्, प्रकृतिले कहिलेदेखि जात छुट्टयाएर दुःख र सुख दिन थाल्यो? प्राकृतिक विपत्ति त सबैका लागि उस्तै हो! हो, मनसुन होस् कि खडेरी या अन्य कुनै प्राकृतिक प्रक्रिया, कुनैले पनि जात, धर्म, लिंग या उमेर आदिका आधारमा मान्छेलाई जानेर विभेद गर्दैन। यो काम त मान्छेका जिम्मामा छ। यहाँ उजागर गर्न खोजिएको विभेदको झल्को दिने अवस्थाको निर्माण गर्ने पनि स्वयं मानिस हो। मानिस मानिसबीचको अन्धविश्वासयुक्त र अन्यायपूर्ण विभेद नै हो। 

कथित माथिल्लो या उपल्लो जातद्वारा कथित दलित जात र समुदायप्रतिको अन्याय, अत्याचार र विभेद हिमाल, पहाड, तराई, गाउँ, शहर सबैतिर उस्तै रहेको कुरा त सबैजसो नेपालीलाई थाहा छ? त्यसो हुँदा पहाडका बस्तीमा एक दृष्टि घुमाऊँ। अधिकांश बस्तीको सबैभन्दा पुछारमा या अन्य समुदायको बस्तीभन्दा अलि पर दलित समुदायको बसोबास छ। दलित अछुत हुन् भन्ने धार्मिक/परम्परागत मान्यताकै कारण बाहुन, क्षेत्री र दलितका घर/बस्ती एकै ठाउँमा नरहने अभ्यास रहेको हामी अनुमान गर्न सक्छौँ। केही दलितले बाहुन क्षेत्रीबीच या एकदम नजिकमा आफ्नो वासस्थान बनाउने साहस गरे भने त्यो दुस्साहसमा बदलिन्छ। त्यस्ता दृष्टान्त हामीसँग छन्। 

वर्षौंदेखि जातीय विभेदमा परेका कैयौँ दलितका या त घर नै हुँदैनन् र भए पनि अधिकांश फाटेका झोपडी र चुहिने छाप्रा छन्। बिजुली, पानी र बाटोको पहुँचका लागि पनि बाहुन बस्तीमा पुग्दासम्म पर्खनु पर्ने बाध्यता छ। पानीका कुवा, धारा र पोखरीसमेत कथित उपल्लो जातका परिवारलाई पुगेपछि बल्ल दलित परिवारले पाउने हुन्छ। ती पनि छुट्टै र सकभर कथित उपल्लो जातका भन्दा तलपट्टि हुन्छन्। 

तिनको नाम नै पनि कामी पँधेरो या कामीधारो आदि राखिएको पाइन्छ। दलित बस्ती बसेको जमिन पनि सम्म र सजिलो हुँदैन र छैन। प्राय: त्यो ठाउँ भिरालो, कुनो, कोप्चेरो र सेपिलो हुने गर्छ। त्यो ठाउँ घाम लाग्ने रापिलोभन्दा सेपिलो हुने सम्भावना बढी रहन्छ। त्यहाँ बर्खामा पहिरोको सबैभन्दा बढी जोखिम हुन्छ। पहिले कहिलेकाहीँ गाउँका पञ्च भलाद्मीले दया खाएर बेघर रहेका या विभिन्न कारणबाट बेघर बनेका दलितका लागि घडेरी या जग्गा दिने पहल गरेको देखिन्थ्यो। सार्वजनिक ठाउँमा त्यसरी जग्गाको टुक्रा दिनका लागि पनि माथि भनिएको मापदण्ड नै लागू गरिन्थ्यो, सबैभन्दा बेकामे, पुछारमा रहेको र भिरालो जग्गा।  

यसो भनिरहँदा मेरो मस्तिष्कमा आफ्नै गाउँको वर्षौं पहिलेको एउटा घटना ताजा बनेर अगाडि आउँछ। विसं. २०५८ सालको मनसुनको अन्त्यतिरको घटना हो। २०५८ भदौ १२ गते राति हाम्रो गाउँ आसपासको आकाशमा बादल फाट्यो। मस्त सुतेको समयमा पानी यसरी बर्सियो कि मानौँ आकाशबाट अचानक नदी या बाढी नै घोप्टाइएको हो। 

अचानक परेको त्यस भीषण वर्षाका कारण ठाउँठाउँमा ठूलोठूलो पहिरो गयो। तत्कालीन ठूलापोखरा, अर्घातोस, भगवतीजस्ता गाउँ विकास समिति अन्तर्गतका धेरै ठाउँमा भूस्खलन हुँदा ठूलो क्षति पुग्यो। पहिरोमा पुरिएर केही मानिसको मृत्युसमेत हुन पुग्यो। त्यस बेला पनि मृत्यु हुनेमा दलित नै थिए।   

मध्यरातमा सबैतिर कोलाहल मच्चियो। रोएको, चिच्याएको र गुहार! गुहार! भनेका कोलाहलपूर्ण आवाज बर्सातको तेज आवाजबीच पनि सुनिइरहे। तत्कालीन ठूलापोखरा गाविस, वडा नम्बर एक, दहनेटाको हाम्रो घर भने अलि सम्म स्थानमा रहेकाले तत्काल पहिरोको खतरा देखिँदैनथ्यो। धेरै चिच्याएको आवाज आइरहेपछि मेरा दाजुहरूसहित हाम्रा घरदेखि तीनचार सय मिटर पर रहेको तल्लारे जेठीआमाको घरतिर कुद्यौँ। 

पहिरोले आधा च्यापिसकेको गोठबाट जसोतसो भैँसी फुकाएर घरअगाडिको आँगनमा किलो ठोकेर बाँधिदियौँ र फर्कियौँ। फर्कँदा त हामी जाँदाखेरिको बाटो पहिरोले बगाइसकेछ। हामी मकैबारीका बीचबाट ज्यान जोगाउँदै घर पुग्यौँ र उज्यालो हुनुअघि कतै निस्कनु ज्यानको जोखिम हो भन्ने निर्णयमा पुग्यौँ।

बिहान उठेर हेर्दा त्यही एक नम्बर वडामा रहेका दलित बस्तीहरू सनेटा, उदिनढुङ्गा, डुङ्खुर्रे र धारा आसपासका घरहरूमा पहिरोले ठूलो क्षति पुर्‍याएको देख्यौँ। माथि भनिएजस्तै बस्तीको पुछारतिर रहेका भिरालो ठाउँमा अवस्थित ती दलित बस्तीका घर पहिरोले कति बगाएको थियो भने कति बग्ने अवस्थामा थिए। पानी रोकिने नाम लिइरहेको थिएन। दलित बस्तीका सबै घर बस्नका लागि असुरक्षित बनिसकेका थिए।  

घरमा धेरै क्षति पुगेर बस्न नमिल्ने भएका केही परिवारलाई अलि सुरक्षित सार्वजनिक स्थानमा सानोतिनो बास बनाउन मिल्ने ठाउँ दिन पहल थालियो। त्यसका लागि उल्कको सल्लेरीको एक छेउ नेटाइपोखरी (नेटाका पोखरी) भन्ने ठाउँमा रहेको अलिकति सम्म परेको सार्वजनिक ठाउँ उपयुक्त देखियो। तर, त्यस पैरो पीडित दलित परिवारका लागि घडेरी उपलब्ध गराउन त्यति सजिलो भने भएन। 

त्यो ठाउँ बाहुन बस्तीको सिरानमा रहेकाले यस कुराको धेरै विरोध भयो। त्यस विरोधको बेवास्ता गर्दै र पेलेरै भए पनि पहिरो पीडित चार दलित परिवारका लागि चार वटा घडेरी त्यसै ठाउँमा दिने निर्णय गराउन सफल भइयो। यस निर्णयपछि टोलका एक जना बुबाले मुखै फोरेर भनेको घोर अपमानजनक वाक्यले आज पनि चसक्क घोच्ने गर्छ, “हाम्रा थाप्लामाथि गुहु ल्याएर थुपारिदिइस्, खुब जाति गरिस् बाबु!” उनी अहिले बितिसकेका छन्। तर उनको सो सोच, घृणा र विभेद अझै जारी छ। यो उनको मात्र कुरा नभई समाजमा रहेको जातीय विभेदयुक्त विचार र व्यवहारको प्रतिनिधि बोली थियो। 

हुन त कथित धर्म र संस्कृति रक्षाको ठेक्का लिएका केही उपबुज्रुकले तर्क गरिहाल्नेछन्, ‘अहिले कहाँ त्यस्तो छ र?’ उनीहरू भन्नेछन्, ‘उहिलेका कुरा ल्याएर विवाद निम्त्याउन र उपल्लो जातलाई अपमान गर्न पाइन्छ? कहाँ छ विभेद?’ त्यसो भनिरहँदा उनीहरू अहिले पनि समय समयमा घटिरहेका विभेदकारी घटना र तिनका समाचारप्रति जानी जानी आँखा चिम्लिन पुग्छन्। प्रेम, विवाह, मित्रता गरेबापत मात्र नभई पानी या धारा, कुवा छोएको, खाना छोएको, घरमा पसेको, मन्दिर छोएको आदि निहुँमा कुटपिटदेखि हत्यासम्म हुने गरेका कुरालाई सामान्य मान्ने अमानवहरूका लागि यस्तो सोच पनि सामान्य नै लाग्नु स्वाभाविक हो। 

समाजमा आज पनि विद्यमान यस्ता धेरै घटनामध्ये आजभन्दा झन्डै एक वर्षअघिको एउटा घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ। नेपालको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको एक गाउँमा कथित उपल्लो जातिको बस्तीनजिक घर बनाउन लागेको भन्दै आधाभन्दा धेरै बनिसकेको घर भत्काइयो। 

बझाङ, बित्थडचिर गाउँपालिका वडा नम्बर ७, स्यालढुङ्गामा एक जना दलित परिवारले बनाइरहँदा त्यहाँका तथाकथित ठूला जातका मान्छेले घर भत्काइदिए, बालीनाली नष्टसँगै दलित परिवारलाई कुटपिटसमेत गरेका थिए। पुड्के ओखेडाले उक्त घर आफैँले किनेको निजी जग्गामा बनाइरहेका थिए। घर भत्काइरहेको घटनाको भिडियो उतिखेर भाइरल भएको थियो। यो त  प्रतिनिधि घटना मात्र हो।

पहाडको पहिरोमा मात्र होइन, तराईको डुबान र बाढीमा पनि दलित र गरिब नै सबैभन्दा बढी पीडित हुने गरेका छन्। सबैको सार कारण पनि उस्तै हो। तराई पनि दलितका बस्ती सुरक्षित स्थानभन्दा गहिरो, होचो ठाउँ र खोला नदीका किनारमा बसाउने गरेको पाइन्छ। बस्तीको अवस्थितिका कारण दलित बस्ती नै सबैभन्दा पहिले र सबैभन्दा धेरै बाढीको चपेटामा पर्छन्।

जात व्यवस्थाका रक्षक बनेका उपबुज्रुकहरूलाई पनि यी तथ्यबारे बोध छ। तर उनीहरू दलनका कारण सिर्जित यो उत्पीडन (यो समाजले नै सिर्जेको अपराध हो)लाई ‘पूर्वजन्मको कमाई’ जामा लगाएर समेत व्याख्या गर्छन्। मिहिनेत र सौर्यले रोजा स्थानका बस्ती र सम्पत्ति पाएको तर्क ‘ठूलो जात’ समुदायका मान्छेले गर्लान्, तर सत्ताले गरेको पक्षपातपूर्ण व्यवहारको लाभ तिनले पाएका हुन्। लामो समययताको संरचनात्मक अत्याचारको पीडा दलितले भोगिरहेका हुन्।

यस वर्षको मनसुन शुरू भएको धेरै भएको छैन, तर छोटै अवधिमा धेरै धनजनको क्षति गरिसकेको छ। आजसम्मको मनसुनी प्रकोपबाट मृत र पीडितको संख्या नियाल्दा पनि दलित समुदायकै मानिस धेरै परेका छन्। यस पीडाबाट मुक्तिको पहिलो आधार जातीय विभेदको व्यावहारिक रूपमै उन्मुलन हो भने गरिबीबाट दलनमा परेको समुदायलाई राज्यले माथि उकास्नु अर्को आधार। यसका लागि सरकारका जिम्मेवार निकायलाई यसप्रतिको जिम्मेवारीबोध गराउन सामाजिक समानताका पक्षमा सशक्त न्यायिक आन्दोलन आजको आवश्यकता हो।