देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।