उतारचढावबीच नेप्से परिसूचकमा ४७.०४ अंकको वृद्धि

मंगलबार चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– तीव्र उतारचढावका बीच मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७.०४ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक २.२९ प्रतिशतले बढेर २१००.४३ को बिन्दुमा कायम भएको हो।

यस दिनको कारोबार शुरू भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। नेप्सेको नियमअनुसार दोस्रो पटक कारोबार शुरू भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो।

मंगलबार विभिन्न ३१५ कम्पनीको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर ६० हजार ७२० पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० बराबरको कारोबार भएको छ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.३०, व्यापार ३.१२ र बैंकिङ ३.०३ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक २.०१, वित्त २.११, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८०, लगानी २.३१ र जीवन बीमा २.१७ प्रतिशतले बढेको छ। लघुवित्त १.४५, म्युचुअल फन्ड ०.३६, निर्जीवन बीमा २.४३ र अन्य समूह १.७३ प्रतिशतले बढेको छ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य ८.५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ। शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६.२१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ३३ लाख ८५ हजार ५६९ र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर तीन लाख ६६ हजार ५०० कित्ता शेयर किनबेच भएको छ।