जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसईई उत्तीर्ण

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रूपमा मान्यता प्रदान गरेको छ।

काठमाडौँ–  जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्। टोकियोको मध्यभागमा रहेको एभरेस्ट इन्टरनेसनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले बताए।

सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसईई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन्। उक्त विद्यालयबाट एसईई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जीपीएभन्दा माथि नतिजा ल्याएका उनले जानकारी दिए। “सबै विद्यार्थी राम्रो नतिजासहित उत्तीर्ण भएका छन्,” प्राचार्य भट्टले भने।

राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसईई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बियाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरूपमा हेरिएको छ।

सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो। स्थापनाकालमा १६ जना विद्यार्थीबाट शुरू भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन्। हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन्।

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रूपमा मान्यता प्रदान गरेको छ। त्यस विद्यालयमा सञ्चालित एसईई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ।

सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन्। उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यामिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउँछन्।

प्रश्नपत्रको ढाँचा परिवर्तन भएका कारण पनि एसईई परीक्षाको समग्र नतिजा केही फरकपन देखिएको प्रतिक्रिया दिँदै उनी भन्छन्, “पहिलो घोकन्ते खालको थियो, यसपटक विद्यार्थीले पाठ्यक्रमलाई बुझेर उत्तर दिनुपर्ने खालका प्रश्न आएका छन्, यो राम्रो पक्ष हो।”

प्रश्नको ढाँचा परिवर्तन भएसँगै शिक्षकलाई पनि सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उनको भनाइ छ। पूर्वाधार तयार नहुँदासम्म पुराना र नयाँको बीचको प्रश्नपत्रबाट शुरू गरेर विस्तारै आधुनिकीकरणतर्फ लैजान उनी सुझाव दिन्छन्। विश्वव्यापीरूपमा विद्यार्थीलाई परीक्षामा अनुत्तीर्ण गर्ने अभ्यास नरहेको दृष्टान्त दिँदै प्रधानाध्यापक भट्टले माध्यामिक परीक्षामा उत्तीर्ण संख्या बढाएर लैजानुपर्ने सुझाव दिए।

सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा भेषभूषा, रहनसहन, गीतसंगीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने काम गर्दै आएको टोकियोस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउँछन्।

बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेसा व्यवसायसँग जोडिएर पुग्नेक्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छाड्न नपरोस् भनी गैर नाफामूलक संस्थाका रूपमा त्यहाँको नेपाली समाजको अगुवाइमा उक्त विद्यालय स्थापना गरिएको हो। अध्ययनसहित विभिन्न पेसा व्यवसाय गरी हाल जापानमा एक लाख ७५ हजारभन्दा बढी संख्यामा नेपाली बस्दै आएका छन्।