शिक्षातर्फ काठमाडौँ महानगरलाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’

सामुदायिक विद्यालयहरूको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल– पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा अवार्ड प्रदान गरेको हो। 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ‘वेस्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ। 

सामुदायिक विद्यालयहरूको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल– पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा शनिबार उक्त अवार्ड प्रदान गरेको हो। 

मूल्यांकनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम, सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्यांकनमा बागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो। 

यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलान्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरे।  

पानले हरेक प्रदेशबाट १–१ जना प्रधानाध्यापक, १–१ वटा विद्यालय र १–१ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो।