यी दुई टिमबीच हालसम्म भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्य २ खेल भने बराबरीमा सकिएका छन्।
३४ वर्षको उमेरमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले अन्ततः आफ्नो पाँचौ विश्वकप खेलमा पहिलो गोलको खुशीयाली मनाए।
मेक्सिकोसँगको गोलरहित बराबरी खेल्दा पेनाल्टी गुमाएका क्याटलान क्लब बार्सिलोनाका फरवार्डले साउदी अरबविरुद्धको खेलमा रक्षात्मक त्रुटिलाई सदुपयोग गर्दै निर्धारित समयभन्दा ठिक आठ मिनेटअघि गोल गरेका थिए।
हाफ टाइमअघि नै पिओटर जिलिन्सकीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाइसकेका थिए। योसँगै पोल्यान्डले खेलमा साउदी अरबलाई २-० ले हराउँदै तीन अंक जोड्यो। “सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा गोल गर्ने मेरो सपना पूरा भएको छ। तर, विश्वकपको अन्तिम १६ मा पुग्ने म र मेरा साथीहरूको अधूरो सपना पूरा गर्न बाँकी नै छ”, लेवान्डोस्कीले खेलपछि भने।
विश्वकपको २२औँ संस्करणमा पुग्दा आठौँपटक सहभागिता जनाइरहेको पोल्यान्ड इतिहासमा बलियो टोलीमध्ये एक मानिन्छ। सन् १८७४ र १९८२ मा तेस्रो भएको पोल्यान्ड अन्तिम पटक सन् १९८६ मा मोक्सिकोमा आयोजना भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। त्यसपछि तीनपटक विश्वकप खेलिसकेको पोल्यान्डले समूह चरण छिचोल्न सकेको छैन।
यद्यपि, चार वर्षअघिको रसिया विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोल्यान्डले अन्तिम चार अन्तर्राष्ट्रिय खेलमा भने ‘क्लिन सिट’ राखेको छ। तर, बुधबार दुईपटकको विश्वविजेता अर्जेन्टिनाविरुद्ध मैदान उत्रिँदा पोल्यान्डलाई त्यही उत्कृष्ट लयलाई दोहर्याउन चुनौतीपूर्ण साबित हुनसक्छ।
हालसम्म भएका ११ खेलमा अर्जेन्टिनाले ६ खेल जितेको छ भने २ बराबरीमा सकाएको छ। यता, पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्तिमपटक यी दुई टोली सन् २०११ मा भिडेका थिए। उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-१ गोल अन्तरले विजयी भएको थियो।
पोल्यान्डविरुद्ध मैदान उत्रँदा स्टार फरवार्ड लिओनल मेस्सीप्रेरित अर्जेन्टिनालाई जित्नै पर्ने दबाब हुनेछ। यो खेल जिते अर्जेन्टिना समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुग्ने छ। बराबरीले अघिल्लो चरण पुग्ने झिनो सम्भावना रहन्छ भने हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ।
पोल्यान्डलाई भने बराबरीको नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। बराबरी खेलेको अवस्थामा अर्को खेलमा साउदी अरब विजयी भए पोल्यान्ड उपविजेता बन्नेछ। हारले पनि झिनो आशा रहँदा मेक्सिकोले साउदी अरबलाई कम अन्तरमा तथा आफू पनि कम अन्तरमा हारेको हुनुपर्नेछ।
साउदी अरबसँग २-१ ले पराजित भएको चार दिनपछि अर्जेन्टिनाले शनिबार मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा कायमै राखेको थियो। पहिलो हाफमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले डिफेन्समा पनि दबाब खेप्नुपरेको थियो। तर, दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि अर्जेन्टिना खेलमा फर्कियो।
कप्तान मेस्सीले गोल गरेपछि संयमित प्रदर्शन गर्दै अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरणमा पकड बनायो। अर्जेन्टिनाका लागि खेलको ६४औँ मिनेटमा मेस्सीले शुरूआती गोल गरे। ८७औँ मिनेटमा बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले गोल थप्दै अर्जेन्टिनालाई तीन अंक दिलाए।
मेक्सिकोविरुद्धको जितपछि मेस्सीले भनेका थिए, “आजबाट हाम्रो लागि विश्वकप शुरू भएको छ। हामी हार मान्दैनौँ। अबको खेल फाइनल जस्तै हो, गल्ती गर्ने छुट छैन।”
अर्जेन्टिनाले समूह ‘सी’ मा दोस्रो स्थानमा पर्नबाट जोगिने हो भने स्पष्ट जित नै निकाल्नु पर्छ। कथंकदाचित् अर्जेन्टिना समूह उपविजेताको रूपमा अगाडि बढे उसले चीरप्रतिद्वन्द्वी फ्रान्सको सामना गर्नुपर्ने छ। फ्रान्स त्यही टोली हो, जसले चार वर्षअघि रसिया विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो। पछिल्लो १३ विश्वकपमध्ये १२ मा नकआउट चरणमा पुगेको अर्जेन्टिनाले युरोपेली राष्ट्रहरूसँगको अन्तिम दुई भेटमा पराजय बेहोर्नु परेको थियो, जुन दुवै रसिया विश्वकपका खेलहरूमा थिए।
समूह चरणको खेलमा पहिलो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित भएको थियो।
अर्जेन्टिनाविरुद्ध पोल्यान्डका मुख्य प्रशिक्षक जेसला मिचनिविच अपरिवर्तित शुरूआती लाइनअपका साथ मैदान उत्रिने सम्भावना रहेको छ। उनले लेवान्डोस्कीलाई अग्रपंक्तिमा निरन्तरता दिने छन्।
लेवान्डोस्की गत सिजनका सबै प्रतियोगितामा शीर्ष पाँच युरोपेली लिगका खेलाडीहरूमध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी थिए। ५० गोल गरेका उनले बालोन डी ओर विजेता करिम बेन्जेमा (४४ गोल गरेका)लाई समेत पछाडि पारेका थिए। क्याटलान क्लब बार्सिलोनाबाट खेलिरहेका उनले एशियाली राष्ट्र साउदी अरबविरुद्धको जितमा एक गोल र असिस्ट गरेका थिए।
उनीसँगै साउदी अरबविरुद्धको जितमा पहिलो हाफको पेनाल्टी जोगाउने गोलरक्षक वोजसिएच स्जेस्नीलाई म्याटी क्यास, कामिल ग्लिक, जाकुब किविओर र बार्टोज बेरेस्जिन्स्कीको ब्याक फोरले साथ दिने छ। यता, पोल्यान्डबाट १००औँ क्याप पूरा गर्न लागेका ३२ वर्षीय डिफेन्सिभ मिडफिल्डर जेगोर्ज क्राइचोविकलाई बर्मिंघम सिटीका क्रिस्टियन बिलिकले साथ दिने छन्।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले रक्षा र मिडफिल्डमा परिवर्तन गर्ने सम्भावना रहेको छ। लिसान्ड्रो मार्टिनेज र निकोलस ओटामेन्डीले सेन्टर-ब्याकमा आफ्नो स्थान सुरक्षित राखेका छन्। तर, गोन्जालो मोनिटेल, नहुल मोलिना र जुआन आफ्नो स्थान बचाउनका लागि संघर्षरत छन्।
२१ वर्षीय फर्नान्डेज समूह चरणको दुई खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनी अर्जेन्टिनाको विकल्पको रूपमा प्रभावकारी सावित भएका छन्। उनलाई प्रशिक्षक स्कालोनीले सेन्टर-मिडफिल्डमा खेलाउन सक्छन्। यता, लिआन्ड्रो परेडेस, जुलियन अल्भारेज र पाउलो डिबाला शुरूआती ११ मा स्थान खोजिरहेका छन्।
लाउटारो मार्टिनेज र एन्जेल डी मारिया मेस्सीसँग अग्रपंक्ति सम्हाल्न लायक खेलाडी हुन्। उनीहरूले बुधबारको खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेन प्रशिक्षक स्कालोनीले आशा गरेका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
