काठमाडौँका १८ हजार विद्यार्थीलाई छात्रवृत्ति, नदिने विद्यालयलाई कारबाहीको चेतावनी

महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ। 

काठमाडौँ– काठमाडौँ महानगरका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेस गरेका छन्। यी विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने एक लाख ४९ हजार ९५० जना विद्यार्थीमध्ये चालु शैक्षिक शत्रमा १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन्। 

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४, शिक्षा नियमावली २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ। 

महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ। 

यस अवधिभित्र पनि नबुझाए उक्त विद्यालयलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गर्ने महानगरको चेतावनी छ। यस्तै, महानगरले त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गर्ने जनाएको छ।

रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयलाई प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही हुने जारी सूचनामा उल्लेख गरेको छ।