पढाइका लागि बेलायत जाने क्रममा सीमा सुरक्षा बलले केरकार गर्दै हिरासतमा लिइएका नेपाली विद्यार्थीसँग त्यहाँको अध्यागमन माफी माग्दै उनलाई रिहा गरेको छ।
नेपाली विद्यार्थी सुलभ खड्कासँग बेलायती सीमा सुरक्षा बलले गरेको व्यवहारको चौतर्फी आलोचना भइरहेको छ। बेलायती विश्वविद्यालयमा आंशिक छात्रवृत्ति पाएर अध्ययनका लागि गएका खड्कालाई त्यहाँको सीमा सुरक्षा बलले बिना कारण १२ दिनसम्म हिरासत राखेको सार्वजनिक भएपछि त्यसको आलोचना भइरहेको हो। बिना कारण हिरासतमा राखिएपछि खड्काको पढाई नै छुटेको छ भने उनले मानसिक तनावसमेत झेल्नुपरेको छ।
२३ वर्षीय खड्का अध्ययनका लागि २०२२ अक्टोबर ११ मा नेपालबाट बेलायतका लागि प्रस्थान गरेका थिए। लामो यात्रापछि बेलायतको म्यानचेस्टर विमानस्थल पुगेका खड्कालाई सीमा बलका अधिकारीहरूले एकाएक रोकेका थिए।
त्यसपछि उनमाथि शंका गर्दै अधिकारीहरूले अवैधरूपमा आएका आप्रवासीजस्तो व्यवहार गरे। म्याद बाँकी रहेको पासपोर्ट, शैक्षिक प्रमाणपत्र, विश्वविद्यालयको सही सूचना र उनले पढ्ने भनिएको विषयमा पहिलो वर्षका लागि बुझाएको शुल्कजस्ता सबै प्रमाण उनीसँग भएपनि अधिकारीहरूले उनलाई केरकार गर्न छाडेनन्। “मसँग अपराधीलाई झैँ व्यवहार गरियो। तर पनि मैले केही गर्न सकिनँ। किन पक्राउ परेँ भन्ने पनि बुझ्न सकिनँ। उनीहरूले धेरै कारण देखाए तर ती सबै कारणको मसँग जवाफ थियो”, उनले भने, “मैले सम्पूर्ण कागजात देखाएँ। मेरो विश्वविद्यालयमा पनि उनीहरूले सम्पर्क गरे। सबै कागजात हुँदा पनि मलाई पत्याएनन्। यसले मेरो भविष्यमा ठूलो असर पुर्याउनेछ।”
नियन्त्रणमा लिएपछि उनीहरूले खड्कालाई उनले पढ्ने भनिएको विषय र त्यसका एकएक विषयवस्तुको नाम भन्न लगाएका थिए। तर, उनले केबल दुईवटा पाठ्यवस्तु मात्रै भन्न सकेको बताए।
विश्वविद्यालयले गराउने परीक्षा र योग्यता परीक्षण गर्ने संयन्त्रको नामसमेत सोधिएको तर आफूले नजानेको उनको भनाइ छ। जबकि उनको विश्वविद्यालयमा पढाई नै शुरू भएको थिएन।
शंकाको घेरामा रहेका खड्काले नेपालबाट लिएर गएको बैंकको कागजातमा प्रयोग भएको भाषिक त्रुटिले झनै समस्या थपिदियो।
खड्का विद्यार्थी नभएको र बदनीयतपूर्वक अध्यागमन कानून उल्लंघन गर्न खोजेको भन्दै सीमा बलका अधिकारीहरूले आशंका गरेका थिए।
त्यसपछि उनलाई देश निकाला गर्ने भन्दै स्कटल्यान्डस्थित आप्रवासी निष्कासन केन्द्रमा पठाइएको थियो। विश्वविद्यालयको भर्ना कार्यालयलेसमेत खड्का पढ्नकै लागि अनुमति पाएको र आवश्यक प्रमाण पेश गरेपछि पनि उनलाई रिहा गरिएन। बरू थप १० दिन उनलाई हिरासतमै राखिएको द गार्डियनमा उल्लेख छ।
पछि एकाएक अध्यागमनले एक माफीपत्र पठाएर उनलाई रिहा गरेको थियो। उनको मामिलामा ‘सावधानीपूर्वक समीक्षा’ गर्दा केही त्रुटि फेला नपरेको भन्दै रिहा गर्ने निर्देशनसहितको पत्रमा उल्लेख छ। तर अध्यागमनले गल्ती महशुस गर्दासम्म खड्काको समय घर्किसकेको थियो अर्थात् विश्वविद्यालयमा भर्ना हुने अन्तिम मिति गुज्रिसकेको थियो।
हिरासतबाट मुक्त भएपछि अक्टोबर २४ तारिखमा पढाइका लागि विश्वविद्यालय गए तर कट–अफ छुटाएको र पढाइका लागि आवश्यक ‘स्पोन्सरसिप’ पनि फिर्ता भएकाले अर्को वर्ष भर्ना हुनु भन्दै विश्वविद्यालयले फर्काइदियो। हवाई टिकट र पढाइका लागि हजारौँ डलर ऋण लिएर बेलायत छिरेका खड्का अहिले बिलखबन्दमा परेका छन्।
“बेलायतमा पढ्न पाउने भएँ भनेर कति उत्साही थिएँ। परिवारले पिर लिन्छन् भनेर शुरूमा त मेरो तनाव केही सुनाइनँ”, उनी भन्छन्, “यहाँ मलाई एक अपराधीजस्तो व्यवहार गरिएको महशुस गरेँ।”
बेलायती सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने र कडा नियम लागू गर्ने विषयसम्बन्धी थुप्रै रिपोर्ट सार्वजनिक भएका बेला यो खबर बाहिरिएको हो। बेलायतको नेशनल युनियन अफ स्टुडेन्टले सरकारी कर्मचारीको व्यवहारलाई निन्दनीय भनेको छ।
त्यस्तै, आप्रवासीको अधिकार सञ्जालका प्रमुख कार्यकारी फिज्जा कुरेसीले खड्काको मामिलालाई ‘भयावह स्थिति’का रूपमा व्याख्या गर्छन्। उनले भने, “अन्तर्राष्ट्रिय विद्यार्थीमाथि यो हदसम्मको दुर्व्यवहार वास्तवमै भयावह हो। तनावपूर्ण वातावरणको नीति मुलुकको शिक्षा प्रणालीसँग प्रत्यक्ष जोडिएको छ।”
केही अधिकारकर्मी र विद्यार्थी युनियनले खड्कालाई सहयोग गर्ने भनेका छन्। अधिकारवादी समूह ‘युनिस रेसिस्ट बोर्डर कन्ट्रोल’का प्रवक्ता भन्छन्, “यस हदसम्मको दुर्व्यवहारले जातिवादलाई बढवा दिन्छ। विशेष गरी दक्षिणी मुलुकहरूबाट आउनेहरूका लागि।”
यसअघि पनि नेपालबाट जाने थुप्रै विद्यार्थीले बेलायती सीमा बलका अधिकारी सोधपुछका क्रममा कडारूपमा प्रस्तुत भएको अनुभव सुनाएका छन्।
यस घटनालाई बेलायतका विश्वविद्यालयहरूले अत्यधिक चासोको विषय भनेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायतका लागि हितकारी भएको बताउँदै विद्यार्थीले सुरक्षित र अपनत्व महशुस गर्नुपर्ने कुरामा जोड दिएका छन्।
बेलायतमा पछिल्लो समय चर्किएको आप्रवासी विरोधी अजेन्डाका कारण विदेशी विद्यार्थीले नकारात्मक असर भोगिरहेको धेरैको बुझाइ छ।
सुलभलाई जस्तै अझै कति विद्यार्थीलाई बेलायतले यसरी नै निर्दयी भएर पक्राउ गरेको होला? कतिलाई घर फर्काएको होला? पढ्न जाने विश्वविद्यालय, बेलायतकै अध्यागमन कार्यालयले पनि विदेशी विद्यार्थीलाई पर्न गएको असुविधाप्रति चासो देखाएको नदेखिनु र आफ्नो जिम्मेवारीबाट पन्छिनु आफैँमा गैरजिम्मेवारपूर्ण कार्य भएको पत्रकार शान्ति दासले लेखेकी छन्।
-द गार्डियनबाट साभार
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
