गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन्।

फाइल तस्वीर।

काठमाडौँ– १७औँ गणतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छन्।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ।

तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए। 

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका संसद्‌बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।