एकांगी जीवनलाई सामाजिकतामा बदल्न सघाउँदै ‘ज्येष्ठ नागरिक क्लब’

चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा एकभन्दा बढी ज्येष्ठ नागरिक क्लब सञ्चालनमा छन्। हरेक क्लबलाई पालिकाले वार्षिक आठ लाख रुपैयाँ बजेट पनि व्यवस्था गरेको छ।

तस्वीरहरू : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ–

आँखा पनि देखिँदैन कान बहिरो भयो 
त्यति राम्रो जवानी आज कता गयो 

चन्द्रागिरि नगरपालिकाको मिलनचोकस्थित 'ज्येष्ठ नागरिक क्लब दिवा सेवा केन्द्र (क)। बुढेसकालको संघर्ष झल्काउने गीतसंगीतले गुञ्जायमान देखिन्थ्यो। करिब ५० जना ज्येष्ठ नागरिक भेला भए। क्लबमा उपस्थितमध्ये केही वाद्यवादन र नाचगानमा व्यस्त। नाच्न नसक्नेहरू बसेर ताली बजाउँदै थिए। 

त्यसै भिडमा थिए शिवप्रसाद लम्साल। ९० वर्ष पार गरिसकेका उनी त्यस जमातका सबैभन्दा अग्रज थिए। उनी धादिङ, निगालपानीका बासिन्दा हुन्। "थातथलो उतै हो हजुर,  काठमाडौँ छँदा यहाँ आइराख्छु," केही दिनअघि कान्छा छोरासँग काठमाडौँ आएको उनले बताए। तीन भाइ छोरा यसै सेरोफेरोमा बस्छन्। दिउँसोको समयमा घरमा कोही नहुँदा उनी यस क्लबमा आएर समय बिताउने गरेका छन्। 

शिवप्रसाद लम्साल

संवादकै क्रममा श्लोकहरू रोकिएर जन्मदिनको शुभकामना गुन्जिन थाल्छ। स्थानीय राजकुमार गिरीले आफ्नो  ६३औँ जन्मोत्सव यसै क्लबमा ज्येष्ठ नागरिकसँग मनाउने सोच बनाएका रहेछन्। उनले जन्मदिनको खुशियालीमा काटेको केक सबैलाई बाँडियो। पुनः नाचगान शुरू भयो। शिवप्रसाद केक खाइसकेपछि मेचमा बसेर ताली बजाउँदै नाचगान हेर्न थाले।

ज्येष्ठ नागरिकलाई दिवा क्लब सञ्चालनमा आउँदा ‘काइदा’ भएको गिरीको भनाइ छ। वडामा सञ्चालित तीन क्लबहरूमध्ये 'क' मा सबैभन्दा धेरै ज्येष्ठ नागरिक सदस्य भेला हुने गरेको गिरीले बताए। यस्ता क्लबहरू चन्द्रागिरि नगरपालिकाले वडा–वडामा खोलेको छ। वडापिच्छे कम्तीमा एकदेखि बढीमा तीन वटासम्म यस्ता क्लब छन्। 

चन्द्रागिरिकै वडा नम्बर ४ को भवनसँगै एउटा हल छ। हलको गेटमा ‘ज्येष्ठ नागरिक क्लब’ लेखिएको छ। छिटपुट मान्छे देखिने क्लबमा त्यसका कार्यवाहक अध्यक्ष रामलाल महर्जन भेटिए।  

धार्मिकस्थल घुमघामको कार्यक्रम हुँदा एक महिनादेखि क्लब बन्द छ। "अब केही दिन क्लबमै भजन आदि गर्न लागेको," रामलालले भने। ज्येष्ठ नागरिकलाई घुमाउन पनि वडाले केही बजेट व्यवस्थापन गरिदिएको उनले बताए। कतिपय  रकम दाताहरूबाट समेत प्राप्त हुने गरेको र त्यसरी संकलित रकमबाट यात्रा आदिको खर्च व्यवस्थापनमा टेवा पुगेको उनले बताए। बाजागाजा बजाउने मान्छे आए गीतसंगीत हुन्छ, नआए टेलिभिजनमा हेर्ने," उनले भने।

नजिकै एउटा पाटी छ जहाँ टेलिभिजन जोडिएको छ। वरपर छरिएका ज्येष्ठ नागरिक टहलिइरहेका छन्। ७५ वर्षीय दिलमाया महर्जन बाटो परबाटै टेलिभिजन हेर्दै थिइन्। खेत जाने हतारमा भए पनि केही समय टेलिभिजनमा भुलिन्। साँझमा खेतबाट फर्किएपछि भने उनी फेरि टेलिभिजन हेर्न फिर्ने छिन्।

उनलाई धार्मिक कार्यक्रम  हेर्न मन पर्छ। अबेरसम्म बसेर धार्मिक चलचित्र हेर्ने गरेको दिलमायाले बताइन्। "टीभी त घरमा नि छ, तर घरमा हेरे त्यै टीभी मात्र देखिन्छ। यहाँ आए मान्छे पनि देखिन्छ," उनले भनिन्, “मेरो बुढाले  त टीभी हेर्दैनन्। रेडियो सुन्छन्, मान्छे हेर्छन्, मान्छे नभए फर्केर जान्छन्।” मंगलबारको दिन भने वडासँगै रहेको ज्येष्ठ नागरिक क्लबमा जाने गरेको उनले बताइन्।

दिलमाया महर्जन

समाजको हरेक वर्गलाई समावेश गर्ने एउटा प्रयत्न 'ज्येष्ठ नागरिक क्लब तथा दिवा सेवा केन्द्र' रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी बताउँछन्। “समाज अहिले एकांगीपनमा फस्न थालेको छ। यसको असर ज्येष्ठ नागरिकमा पर्न गएको छ। त्यस्तो एकांगीपनलाई सामाजिक जीवनमा बदल्न ज्येष्ठ नागरिक क्लब तथा दिवा सेवा केन्द्र आवश्यक देखेर यसको स्थापना गर्‍यौँ,” उनले भने।

ज्येष्ठ नागरिकको योगदानको कदरस्वरूप उनीहरूको स्वस्थ हाँसो र खुशीलाई  सामाजिक जीवनमा बदल्न आवश्यक देखेर ज्येष्ठ नागरिक क्लब तथा दिवा सेवा केन्द्र स्थापना गरिएको गिरीले बताए। क्लबमा योग साधना, भोज भतेर, जन्मोत्सव लगायतका गतिविधि पनि सञ्चालन हुने गरेको उनले बताए।

आवश्यकता अनुसार प्रत्येक वडामा एकभन्दा बढी क्लब सञ्चालनमा आएको गिरीले जानकारी दिए। भ्रमणका निम्ति दुई लाख र अन्य खर्चका निम्ति ६ लाख गरी हरेक क्लबलाई वार्षिक आठ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको उनले बताए। ज्येष्ठ नागरिकको हाँसीखुशी जीवन , सुस्वास्थ्य र एकांगी जीवनलाई सामाजिक जीवनमा बदल्न क्लबलाई  निरन्तरता दिने उनको भनाइ छ।