कोरियाको नकआउट चरण पुग्ने सम्भावना कमजोर

घानासँग हार बेहोरेसँगै नकआउट चरणमा पुग्ने कोरियाको सम्भावना कमजोर बनेको छ।

अफ्रिकी राष्ट्र घानाले कतार विश्वकप २०२२ मा एशियाली राष्ट्र दक्षिण कोरियामाथि जित हात पारेको छ। दोहास्थित एजुकेसन सिटी रंगशालामा सोमबार सम्पन्नसमूह ‘एच’को खेलमा घानाले कोरियालाई ३-२ गोलअन्तरले पराजित गरेको हो। योसँगै कोरियाको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

घानाले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो। २४औँ मिनेटमा मोहम्मद सालिसुले भिडभाडमा प्राप्त बललाई पेनाल्टी बक्स भित्रबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३४औँ मिनेटमाजोर्डन आयुको क्रसमा मोहम्मद कुडोसले हेडर गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरेको थियो। ग्यु सङ चोकोले दुई गोल गरेर कोरियालाई खेलमा फर्काए। ५७औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिरेका काङ इन लीको क्रसलाई चोले हेडरमार्फत् गोलमा परिणत गर्दै कोरियाको आशा कायम राखे। मैदान छिरेको तीन मिनेट नबित्दै मैदानको बायाँ भागबाट लीले गरेको क्रसलाई चोले गोलमा परिणत गरेका थिए।

६२औँ मिनेटमा लेफ्ट ब्याक जिन सु किमको ब्याक क्रसमा चोले उत्कृष्ट डाइभिङ हेडरमार्फत दोस्रो व्यक्तिगत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ६९औँ मिनेटमा पुनः घानाले कुडोसको व्यक्तिगत दोस्रो गोलमार्फत खेलमा पकड कायम राख्यो। गिडोन मेन्साको क्रसमा इनाकी विलियम्सले ट्याप गर्न खोज्दा फुत्किएको बललाई कुडोसले सहज गोलमा परिणत गरेर घानालाई जित दिलाए।

पहिलो खेलमा दुई पटकको पूर्वविजेता उरुग्वेसँग गोलरहित बराबरी खेलेको कोरिया यो हारपछि एक अंकका साथ समूहको पुछारमा यथावत् रहेको छ। पहिलो खेलमा पोर्चुगलसँग ३-२ ले पराजित घाना भने जितपछि ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

समूह ‘एच’अन्तर्गतको दोस्रो चरणमा सोमबार राति पोर्चुगल र उरुग्वेबीच खेल हुनेछ। उक्त खेलमा जित हासिल गरे पोर्चुगल समूहको एक खेलअगावै नकआउट चरण पुग्नेछ। रातिको खेलमा उरुग्वेको जित या बराबरी नतिजा निस्किए नकआउट चरण पुग्ने दुवै टोलीको निर्णय अन्तिम चरणको खेलबाट हुनेछ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार घानाले उरुग्वे र दक्षिण कोरियाले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।