मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छंगा राना लामो समयसम्म बेरोजगारजस्तै थिए। परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो। त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्थ्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ। त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ। त्यो काम हो–ब्यान्डबाजा बजाउने।
उनीमात्रै होइन सो शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्। “स्थानीयस्तरमा विवाह हुने तर ब्यान्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महंगो रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो,” रानाले भने,“त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्यान्डबाजा बजाउने काम गरिरहेका छौँँ। त्यसबाट राम्रै आम्दानी भइरहेको छ।” उहाँका अनुसार सो समूहले एउटा विवाहमा ब्यान्डबाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म ज्याला लिने गरेका छन्। प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ।
सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्यान्डबाजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताए। केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइ भएको उनको भनाइ छ।
“पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो। वडा कार्यालयले बाजा उपलब्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि,” रानाले भने।
ब्यान्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्यान्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुख जोर्ने समस्या टर्दै गएको बताए। वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उनले बताए।
“रानाथारू समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ। त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ,” वीराले भने।
छंगा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन्। “बजाउने सीप भए पनि बाजा थिएनन्। त्यसैले माग पनि आउँथेन,” रानाले भने, “वडा कार्यालयले ५० हजार रुपैयाँमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ।”
वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई ब्यान्डबाजा खरिद गरिएको बताए। “गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर ब्यान्डबाजा खरिद गर्याैँ,” उनले भने, “यस वर्षको बजेटबाट बाणीका मुक्तकमैया युवाका लागि ब्यान्डबाजा खरिद गरेका हौँ। यसपछि युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ।”
हाल बाणी मुक्तकमैया शिविरका ब्यान्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन्। विवाहको समयमा ब्यान्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए। “विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ,” उनले भने, “अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ।”
ब्यान्डबाजा बजाउने कार्य भने ती युवाले घरमै अभ्यास गरेर सिकेका हुन। “शुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ। आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि!” रामप्रसादले भने।
धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन्। पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्यान्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन्। यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
