मोरक्को सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरण प्रवेशनजिक

मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोको जितमा अब्देलहामिद साबिरी र जाकारिया अबोउखलालले १/१ गोल गरे।

काठमाडौँ– अब्देलहामिद साबिरी र जाकारिया अबोउखलालको गोलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न समूह 'एफ'को खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले पराजित गरेको हो।

तुलनात्मक रूपमा बढी आक्रमण बुनेको मोरक्कोले पहिलो हाफमै अग्रता लिए पनि भिडियो असिस्टेन्ट रेफ्रीबाट मान्यता पाउन सकेको थिएन। दोस्रो हाफमा पनि दबाब कायम राख्दै मोरक्कोले जित हासिल गर्‍यो।

पहिलो हाफको इन्ज्युरी समयमा मोरक्कोका हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन। जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सीधै गोल भएको थियो। तर, अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि रेफ्रीले गोललाई मान्यता दिएनन्।

खेलको ७३औँ मिनेटमा साबिरीले गरेको गोलमा मोरोक्कोले अग्रता लिएको थियो। सबिरीले पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई सीधै गोलमा परिणत गरे।

इन्ज्युरी समयमा जाकारियाले गोल गरे। उनले जिएचको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे। यससँगै मोरक्कोले अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको छ।

समूह 'एफ'मा २ खेलमा ४ अंकसहित मोरक्को शीर्ष स्थानमा छ। समान खेलमा दोस्रो स्थानको बेल्जियमको ३ अंक छ। तेस्रो स्थानको क्रोएसियाको एक अंक छ भने चौथो स्थानको क्यानडा अंकविहीन छ।

सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरण प्रवेशको संघारमा रहेको मोरक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडासँग अंक बाँडे मात्र पनि पर्याप्त हुने छ।

मोरक्कोले पहिलो खेलमा गत संस्करणको उपविजेतासमेत रहेको क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो।

सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको बेल्जियमका लागि भने अन्तिम १६ प्रवेशका लागि अन्तिम खेलमा क्रोएसियाविरुद्ध जित निकाल्न बाहेकको विकल्प हुने छैन।