आइतबारको खेलमा जापानले कोस्टारिकासँगको हार टारे जर्मनीलाई अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनैपर्ने बाध्यता हुनेछ। यस्तोमा जर्मनीका प्रशिक्षक फ्लिक गल्ती सुधारेर प्रदर्शन गर्ने चुतौती रहेको बताउँछन्।
फेरान टोरेस, डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाको गोलमा बुधबार स्पेनले विश्वकपमा १०० गोल पूरा गर्यो। कोस्टारिकाविरुद्ध १०-१० मिनेटको अन्तरमा तीन गोल गरेको स्पेनको लागि टोरेसले खेलको ३१औँ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि लगातार गोल गर्न थालेको स्पेनले खेल सकिँदासम्म ६ गोल गरेको थियो।
सन् १९३४ देखि विश्वकप खेल्न थालेको स्पेनको यो इतिहासकै फराकिलो जित हो। धेरैको खुलदुली छ, स्पेनले चारपटकको विश्वविजेता जर्मनीविरुद्धको खेलमा पनि यस्तै प्रभावशाली प्रदर्शन गर्न सक्ला त?
हुन त फुटबल मैदानमा यी दुई टोली नयाँ प्रतिस्पर्धी होइनन्। यी दुई टोलीबीच हालसम्म २५ खेल हुँदा जर्मनी ९ खेलमा विजयी भएको छ। स्पेनले ८ खेलमा जित निकाल्दा ८ खेल बराबरीमा सकाएको छ। विश्वकपमा यी दुई टोलीबीचको यो पाँचौ खेल हुनेछ। यसअघिको ४ खेलमा जर्मनीले २ जित निकालेको थियो भने एक खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ।
विश्वकपमा यी दुईको पछिल्लो भेट सन् २०१० मा दक्षिण अफ्रिकामा भएको थियो। सेमिफाइनलको उक्त भेटमा स्पेनले जर्मनीविरुद्ध १-० को जित निकालेको थियो। यी दुई टोलीबीच अन्तिम भेट भने यूईएफए नेसन्स लिगअन्तर्गत समूह ‘डी’ को खेलमा भएको थियो। उक्त खेलमा टोरेसको ह्याट्रिकप्रेरित स्पनेले जर्मनीमाथि ६-० को जित निकालेको थियो। आइतबारको भिडन्तमा पनि स्पेन सोही आक्रामक जित दोहर्याउने लक्ष्यमा हुनेछ।
दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप जितेयता स्पेनले समूह चरणका खेलहरूमा निकै बलिया मानिएको टोलीको समना गर्दै आएको छ। सन् २०१४ को ब्राजिल विश्वकपमा बलिया टोली नेदरल्यान्ड्स (५-१) र चिली (२-१)सँग पराजित भएको स्पेन समूह चरणबाटै बाहिरिएको थियो। त्यसको चार वर्षपछि आयोजना भएको रसिया विश्वकपमा पनि स्पेनले पोर्चुगल र मोरक्कोलाई पाखा लगाउन सकेन।
समूह ‘बी’को पहिलो खेलमा पोर्चुगलसँग स्पेन ३-३ गोलको बराबरी रोकियो भने तेस्रो खेलमा मोरक्कोसँग २-२ मा। स्पेनले उक्त समूहमा एशियाली राष्ट्र इरान (१-०) सँग मात्रै जित निकाल्दै अन्तिम १६ मा पुगेको थियो। तर, आयोजक राष्ट्र रसियासँग पेनाल्टी शुटआउटमा ४-३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
ब्राजिल विश्वकप जितेयता जर्मनीको स्थिति स्पेनको भन्दा कम दुखदायी छैन। रसियामा मेक्सिको र दक्षिण कोरियाविरुद्ध हार बेहोरेको जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। यसपटक पनि जर्मनीले सुखद् शुरूआत गर्न सकेको छैन।
समूह चरणको पहिलो खेलमा दक्षिण एशियाली राष्ट्र जापानसँग २-१ ले पराजित हुँदा जर्मनीका काई हाभर्ट्ज, जोसुआ किम्मिच र जमाल मुसियालाजस्ता स्टार फरवार्ड चल्न सकेनन्। यस हारसँगै अंकविहीन रहेको जर्मनीलाई अन्तिम १६ मा पुग्न आइतबार स्पेनविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ।
आइतबारको पहिलो खेलमा जापानले कोस्टारिकासँग हार टारे जर्मनीलाई अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनु नै पर्ने हुन्छ। यस्तो अवस्थामा स्पेनसँगको निर्णायक खेलमा आफूसँग जितको विकल्प नरहेको जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बताउँछन्।
“हामी गर या मरको अवस्थामा छौँ। अन्तिम १६ मा छनोट हुन हामीले खेल जित्नैपर्छ। त्यसका लागि तयार छौँ”, उनको भनाइलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले लेखेको छ, “हामीले जापानसँग नराम्रो खेलेको होइन। तर, धेरै अवसर गुमायौँ र एक गोलमात्रै भयो। गोल नखानुपर्ने पनि थियो। ती गल्तीहरू सुधारेर स्पेनलाई अगाडि बढ्नुको विकल्प हामीसँग छैन।”
उनले पहिलो रोजाइको टोलीमा केही परिवर्तन गर्ने अनुमान गरिएको छ। लेरोय सेन घुँडाको चोटका कारण जापानविरुद्धको खेलमा मैदान प्रवेश गर्न सकेनन्। घरेलु क्बल बायर्न म्युनिखबाट खेल्दै आएका विंगर सेन पछिल्ला केही दिनमा प्रशिक्षणमा सहभागी भएका छन्। आइतबार स्पेनविरुद्धको खेलमा मैदान उत्रिन्छन् या उत्रिँदैनन् त्यो अझै अनिश्चित छ।
यता, निकलस सुले, एन्टोनियोरुडिगर, निको स्लोटरबेक र डेभिड राउमको ‘ब्याक फोर’ले कप्तान म्यानुएल न्युअरलाई साथ दिनेछन्। इल्के गुन्डोगान र जोसुआ किम्मिचले मिडफिल्ड सम्हाल्ने छन्। यता, काई हाभर्ट्जको स्थानमा भने करिम आडेयेमी, निकलस फुल्करग र युसुउफा मोउकोकोबाट असुरक्षित हुने सम्भावना बढेको छ।
कोस्टारिकाविरुद्धको खेलमा शानदार जित हात पारेसँगै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिके अपरिवर्तित लाइनअपका साथ जर्मनीविरुद्ध मैदान उत्रिन सक्नेछन्।
अग्रपंतिमा उनले टोरेस, एसेन्सियो र ओल्मोलाई निरन्तरता दिनसक्छन्। बुधबार आफ्नो गोलसँगै विश्वकप इतिहास रच्ने १८ वर्षीय गाभीले बार्सिलोनाका मिडफिल्डर पेड्रि र सर्जियो बुस्केट्ससँगै पुन: शुरूआती लाइनअपमा स्थान बनाउने अपेक्षा गरिएको छ।
युरोकपमा पनि लोभलाग्दो प्रदर्शन गरेका गाभीले कोस्टारिकाविरुद्ध उत्कृष्ट खेले। उनले कोस्टारिकाविरुद्ध गरेको गोल जारी विश्वकपका उत्कृष्ट गोलमध्ये एक हो।
“हामीले पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै सात गोल गर्यौँ। त्यस्तै प्रदर्शन जर्मनीविरुद्ध पनि गर्नेछौँ”, उनले न्यूज एजेन्सी एपीसँग भनेका छन्, “जापानविरुद्ध हारे पनि जर्मनीविरुद्ध सचेत भएर खेल्नेछौँ। किनकि जर्मनी बलियो टिम हो। उसले ठूला अवसरमा सधैँ राम्रो गर्ने गरेको छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
