बाजुरामा मतगणना अनिश्चित, आरोपप्रत्याराेपमा कांग्रेस एमाले

कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि बाजुरामा मतगणना अनिश्चित बनेको छ।

बाजुरा– बाजुरामा मतगणना अनिश्चित बनेको छ।

कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि मतगणना अनिश्चित बनेको हो। एमालेले बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका, विदेश गएका र मृत्यु भएकाको समेत मत हालेको आरोप कांग्रेसले लगाएको छ।

कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ। यस्तै एमालेले पनि कांग्रेसलाई सोही आरोप लगाएको छ। कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी धाँधली गरेको आरोपमा एमालेले १७ मतदान केन्द्रमा पुनः निर्वाचन माग गर्दै आयोगमा उजुरी दिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ। सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव संकलन गरेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार टोलीले विभिन्न निकायसँग सुझाव संकलन गरको छ। आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। 

आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने उनको भनाइ छ।