अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विकल पौडेलविरुद्ध मुद्दा

अख्तियारले विकल पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको हो।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध झूट्टा विवरण पेश गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले आइतबार पौडेलउपर अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिए पनि सोको विवरण नखुलाई सार्वजनिक पदमा रही लाभ लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार पौडेलले संविधानको धारा २९१ को व्यवस्था विपरीत विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको तर सो विवरण नखुलाई सार्वजनिक पदमा बहला रहेको भन्ने उजुरी परेपछि अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा उनले संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको पाइएको थियो। उनले उक्त विवरण नखुलाई सार्वजनिक पदमा बहाल रही लाभ लिएको पाइएपछि भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जनाए।

आयोगले पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य गरेकाले उनीविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबानाको सजाय मागदाबी गरेको छ।

आयोगले उनी सुरक्षण मुद्रण केन्द्रको पदाधिकारीसमेत रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत मागदाबी लिएको छ।