फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।

तस्वीर : फिफा

काठमाडाैँ– फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।

दोहास्थित रंगशाला ९७४ मा शनिबार राति सम्पन्न समूह डीको दोस्रो खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो। खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको थिएन। तर, दोस्रो हाफको शुरूआतमै एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए।

६१औँ मिनेटमा थिओ हर्नान्डेजस कटब्याकमा एमबाप्पेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो। ६८औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो। आन्द्रेस क्रिस्टेन्सनले क्रिस्टियन एरिक्सनको कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए।

निर्धारित समयको ४ मिनेट बाँकी रहँदा फ्रान्सले एमबाप्पेकै गोलमा पुनः अग्रता लियो। एन्टोनी ग्रिजम्यानको क्रसमा एमबाप्पेले डिफेन्डरको मार्किङ तोडेर पोस्ट नजिकबाट बललाई गोललाइन पार गराए।

अस्ट्रेलियालाई हराउँदा एक गोल गरेका एमबाप्पेको जारी विश्वकपमा व्यक्तिगत गोलसंख्या तीन पुगेको छ। जार विश्वकपको उच्च गोलकर्ताको सुचीमा उनी इक्वेडरका इनर भ्यालेन्सियासँगै शीर्ष स्थानमा पुगेका छन्। दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ। फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन्।

शनिबारै सम्पन्न खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० ले हराएको थियोे। यस नतिजासँगै फ्रान्सको २ खेलमा ६ अंक पुगेको छ।अस्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको १–१ अंक छ।

अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अस्ट्रेलियासँग खेल्नेछ।