ललितकला विभागमा सुधारको छाँट नदेखेपछि विभागीय प्रमुखले राजीनामा दिए। त्यसपछि दुई पटक उपकुलपति फेरिइसक्दा पनि न राजीनामा स्वीकृत भएको छ, न विभाग सुधारको खाका नै स्वीकार गरिएको छ।
काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ललितकला (फाइन आर्ट्स) विभागको अवस्था थाहा पाउन यसको भवन हेरे पुग्छ। आठ वर्षअघिको भूकम्पले हल्लाएर जीर्ण बनाएको भवन अझै मर्मत भएको छैन। भित्ताहरू चर्किएका छन्। वर्षामा छतबाट पानी चुहिन्छ। कोठाभित्र भित्ता र सिलिङमा लेउ लागेको छ। भवनको बाहिरको रङ पनि उडिसकेको कारण कुनै आकर्षण छैन।
भवन जोखिमपूर्ण हुँदा कक्षा चलाउन योग्य नभएको जानकारी डिन कार्यालय र केन्द्रीय कार्यालयलाई पाँच वर्षअघि नै गराइएको विभागले जनाएको छ। तर अहिलेसम्म न मर्मत भयो, न त नयाँ नै बन्यो। जोखिमपूर्ण संरचनामा पढाउनु गम्भीर हेलचेक्य्राइँ भएको विभागका प्राध्यापक पाकबहादुर थापा बताउँछन्। उनी भन्छन्, “भवन जीर्ण छ। पढाउन पनि जोखिमपूर्ण छ। हाम्रो विभागको काम सिर्जनशील भएकाले कक्षाकोठा सुन्दर हुनुपर्छ। तर रकम अभावमा भवन र कक्षाकोठामा रङ लगाउन सकिएको छैन। कोठाहरू कुरुप छन्।”
विभागसँग कार्यक्रम गर्न हल छ तर आवश्यक सामग्री छैनन्। संगीत विषयको प्रयोगात्मक अभ्यास गर्न स्टुडियो नै छैन। न त चित्रकला र मूर्तिकलाका लागि स्थायी ग्यालरी छ। विभागमा अहिले १०० जना विद्यार्थी छन्। उनीहरूका लागि प्राध्यापक र कर्मचारी संख्या पनि अपर्याप्त छ। विभाग चलाउनै मुस्किल परिरहेको विभागीय प्रमुख प्राडा ध्रुवेशचन्द्र रेग्मी बताउँछन्।

यो विभागको स्थापना सन् २०११ मा भएको हो। यहाँ मास्टर्स, एमफिल र पीएचडीको अध्यापन हुन्छ। पढाइका प्रमुख विधा संगीत, नृत्य, चित्रकला, मूर्तिकला, ग्राफिक डिजाइन, प्रिन्ट–मेकिङ आदि हुन्। शुरूआतमा विभागमा भर्ना पाउनै मुस्किल थियो। विभागले आफ्नो वेबसाइटमा भनेको छ, “हिजोसम्म ललितकलामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले विदेशी संस्थाबाट डिग्री लिनुपर्ने अवस्था थियो। अहिले स्वदेशमै अवसर पाएका छन्। हाम्रोमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ।”
वेभसाइटमा यस्तो लेखिए पनि अहिले विभागमा समस्याको चाङ लागेको विभागीय प्रमुख रेग्मी बताउँछन्। शुरूआतमा त विभागसँग पुग्दो जनशक्ति थियो। पछि प्राध्यापकहरू अवकाश हुँदै गए तर नयाँ नियुक्ति गरिएन। विभागमा १८ प्राध्यापकमध्ये चार जना मात्र स्थायी छन्। १४ जना आंशिक प्राध्यापकलाई विभाग आफैँले तलब खुवाउनुपर्छ।
पर्याप्त प्राध्यापक माग गरेर बारम्बार उपकुलपतिलाई गुहारे पनि केही सीप नलागेको रेग्मी बताउँछन्। जनशक्तिको कमी हुँद अनुसन्धानको काम गर्न नपाएको उनको भनाइ छ। “हाम्रो काम त अनुसन्धान गर्ने हो तर एक जना पनि अनुसन्धान अधिकृत छैन। पाँच जना मात्र स्थायी शिक्षक दिए पनि राहत हुन्थ्यो,” उनी भन्छन्।

विभागमा सात जना कर्मचारी छन्। तीमध्ये दुई जनालाई मात्र त्रिवि केन्द्रीय कार्यालयले तलब खुवाउँछ। १४ आंशिक प्राध्यापक र पाँच जना कर्मचारीलाई विभागले नै तलब खुवाउनु पर्छ। तर आम्दानीको स्रोत भने सीमित भएको रेग्मी बताउँछन्।
विभागले विद्यार्थीबाट वार्षिक १७ देखि २० लाखसम्म आम्दानी गर्छ। यसको २० प्रतिशत डिन कार्यालय, १० प्रतिशत प्रिन्सिपल कार्यालय र १० प्रतिशत केन्द्रीय कार्यालय जान्छ। ६० प्रतिशत मात्र विभागले खर्च गर्न पाउँछ।
रेग्मी भन्छन्, “हामीले उठाएको पैसा त प्रशासनिक कामका लागि राखिएका पाँच कर्मचारीलाई दिँदै ठिक्क हुन्छ। शिक्षकलाई तलब खुवाउन मलाई सधैँ हम्मे पर्छ। यो महिना तलब खुवायो, भोलिपल्टदेखि अर्को महिना कसरी तलब खुवाउने भनेर तनाव शुरू हुन्छ।”

सहयोग माग्दै रेग्मी केही समयअघि त्रिवि प्रशासन पुगेका थिए। उनले जवाफ पाए, ‘तिमी आफै कमाऊ, आफै खाऊ।’ रेग्मीको प्रश्न छ, “कसरी आफै कमाएर आफै खाने? विद्यार्थीको शुल्क घटबढ गर्न विभागले पाउँदैन।”
प्राध्यापक गोकुल लिम्बूका अनुसार विभागमा एउटा कक्षा कति घण्टा पढाउने भन्ने यकिन छैन। विभागमा एक क्रेडिट बराबर १६ वटा कक्षा हुनुपर्छ। त्यसकारण त्रिविले १६ वटा कक्षाको मात्र पैसा दिन्छ। तर प्राध्यापकहरूले त्रिविले तोकेभन्दा बढी समय पढाउँछन्। तोकिएको समयसम्म मात्र पढाउँदा अभ्यास गर्नै नभ्याइने लिम्बू बताउँछन्। उनी भन्छन्, “यो प्राक्टिकल विषय हो, अंग्रेजी वा नेपाली जस्तो लेक्चर दिने विषय हैन। एक घण्टाको क्लासमा ३०–३५ मिनेट त इक्युपमेन्ट मिलाउँदै सकिन्छ।”
पठनपाठन संचालनका लागि विभागले बारम्बार नीति बनाएर बुझाए पनि माथिल्लो निकायबाट कार्यान्वयन नभएको विभागीय प्रमुख रेग्मी बताउँछन्। विभागले हरेक प्रदेशमा ललितकलाको एक–एक वटा क्याम्पस खोल्न आग्रह गरे पनि त्यतातिर कसैको ध्यान गएन। विभागलाई चलायमान बनाउने चार वटा विषय– भौतिक पूर्वाधार, अध्ययन सामग्री, प्रशासनिक कर्मचारी र प्राध्यापक पर्याप्त हुनुपर्ने यहाँका प्राध्यापक तथा विद्यार्थी बताउँछन्।

आम्दानी बढाउन त्रिविभित्र फाइन आर्टससँग सम्बन्धित सम्पूर्ण काम विभागलाई दिनुपर्ने रेग्मीले प्रस्ताव पनि पठाए। त्रिविमा प्रिन्टिङ, स्क्लप्चर, डिजाइन, लोगो, स्केच, मेडल, सर्टिफिकेट बनाउने जस्ता काम हुन्छन्। “त्रिविले केही समयअघि करोडौँ रुपैयाँ बराबरको फेब्रिकेसनको काम गर्यो। त्यो काम हामीलाई दिएको भए हुन्थ्यो नि,” उनी भन्छन्, “त्यो काम हामीलाई दिनू भनेर तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटालाई मैले पत्र लेखेँ। ‘तपाईंले कस्तो राम्रो आइडिया ल्याउनु भयो’ भनेर मलाई फुरूक्क पार्नुभयो। आफूले यो काम गर्ने बताउनुभयो तर गर्नुभएन।”
विभाग सुधार्न सकिने छाँट नदेखेर रेग्मीले केही समयअघि राजीनामा नै दिए। उपकुलपतिले त्यो पनि स्वीकृत गरेका छैनन्। उनले राजीनामा बुझाएपछि पनि दुई जना उपकुलपति बाहिरिसके। उनले प्राडा धर्मकान्त बास्कोटालाई राजीनामा बुझाएका थिए, त्यसपछि शिवलाल भुषाल आए, अहिले केशरजंग बराल छन्। न विभाग सुधार हुन्छ, न राजीनामा स्वीकृत नै। “बराल सरले आउनुस्, सल्लाह गरौँ भन्नुहुन्छ। तपाइहरूका लागि विशेष व्यवस्था गर्नुपर्छ भन्नुहुन्छ। तर, खै केही हुँदैन,” उनी भन्छन्।

उपकुलपतिबाट बिदा भएका शिवलाल भुषालसँग केही दिनअघि एक कार्यक्रममा रेग्मीको भेट भयो। उनले भुषाललाई भने, “तपाईंले न मेरो राजीनामा स्वीकृति गर्नुभयो, न अरू कुनै काम नै गरिदिनुभयो।”
भुषालले जफा फर्काए, “तपाईंहरूको आइडिया ब्रिलियन्ट थियो। काम अघि बढाउँदै थिएँ तर मलाई बस्नै दिएनन्।”
अहिले रेग्मी त्रिविको नीतिमै त्रुटि देख्छन्। सबै विभागलाई एउटै बास्केटमा हालेर नीति बनाउनु व्यवहारिक नभएको उनको तर्क छ। नीति निर्माताहरूले ‘फाइन आर्ट्स’ विषय नै नबुझेको उनी बताउँछन्।

प्राध्यापक लिम्बू पनि यो विभागलाई विश्वविद्यालयले नबुझेको बताउँछन्। ललितकलालाई छुट्टै संकाय बनाएर विभागको मर्मअनुसार चलाउनु पर्ने उनको भनाइ छ। “यो विषयको विशेषता नै अर्कै हो। अरू विषय जसरी यसलाई चलाउन मिल्दैन। डिन कार्यालयले हाम्रो विषय चिनेर योजना बनायो भने मात्र राम्रो हुन्छ,” उनी भन्छन्।
लामो समयदेखि ललितकला पढाउँदै आएका रेग्मी यो विषयलाई ‘अनप्रोडक्टिभ’ भनेर धेरै पटक आफूले सुनेको बताउँछन्। अर्थात् यसलाई पैसा नकमाउने क्षेत्रका रूपमा लिइन्छ। विश्वविद्यालय चलाउनेहरू समेत पैसाकै पछि मात्र दगुर्ने हो भने फाइन आर्ट्स जस्ता सीर्जनशील विषयहरू मर्दै जाने उनको तर्क छ।
बरु यो विषय प्रडक्टिभ भएको रेग्मीको ठम्याइ छ। उनी भन्छन्, “यहाँ पढ्ने विद्यार्थी अत्यन्त सीर्जनशील छन्। काम पनि पाएका छन्। समाजलाई प्रतिविम्बित गर्ने क्षेत्र हो यो। समाजलाई जीवन दिने त कलाले नै होला, अनि कसरी अनप्रोडक्टिभ भयो?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
