मुगुका खानेपानी कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध गैरकानूनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइनको काम एक हजार ७०० मिटर हुनुपर्नेमा आधा मात्रै गरी पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बराबरको रकम बढी भुक्तानी गरेको पाइएपछि मुद्दा दायर गरिएको हो।

आयोगले कार्यालय प्रमुख रिमाल, सबइन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हीराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ। आरोपीलाई बिगोबमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।