खगेन्द्रको बगावतलाई लिएर केही मान्छे किन रोष प्रकट गर्छन्? ट्विटर प्रतिक्रियामा किन उनलाई गाली गरिन्छ? भर्खरै प्रकाशित उज्ज्वल प्रसाईको 'एक बागी' किताब पढिसक्दा यी प्रश्नको उत्तर पाइन्छ।
विक्रमाब्दको २००३ मा पहाडे ब्राह्मणका रूपमा जन्मे खगेन्द्र संग्रौला। जन्मथलो पल्लो किराँत पूर्व ५ नम्बर थुम–ताप्लेजुङ भनेर चिनिने सुभाङ गाउँ। यो गाउँ अहिले पाँचथरमा पर्छ। लेखक उज्ज्वल प्रसाईले भनेझैँ उतिखेर सुभाङ गाउँमा कुनै रोमाञ्चकता थिएन, धार्मिक रूढी र अन्धविश्वासको जडता व्याप्त थियो। संग्रौला बाहुनका घरमा ‘घरको शासक’ अर्थात् लोग्नेले मात्रै प्राय: भात खान्थे, श्रीमती तथा बालबच्चाहरूले चाडबाडबाहेक अन्य दिन ढिँडो र च्याँख्लामा चित्त बुझाउनुपर्थ्यो। गाउँमा जातीय शोषण र सोपान उस्तै थियो। परिवारका सबैले दैनिक ‘सेतो भात’ खान नपाए पनि संग्रौला खलक त्यस भेगका लिम्बू र दलितलाई भने कजाउँथे। कहिले निर्दयी भएर जाइलाग्थे त यदाकदा उनीहरूका दुःख देख्दा मन कमलो पनि बनाउँथे।
लक्ष्मीप्रसाद संग्रौलाका काइँला छोरा खगेन्द्रलाई परिवारले खिलराज नाम दिएको थियो। कान्छो छोरो जन्मिनुअघि खिलराज नै 'कान्छा' पुकारिएका हुनाले धेरै समयसम्म यिनैलाई घरमा कान्छा नामले बोलाइयो। बा लक्ष्मीप्रसाद आफू खिरिलो ज्यानका भए पनि छोरो खिलराजलाई ‘अई पुड्के’ भनेर बोलाउँथे। खिलराजले आफ्नो बाल्यकालमा आमगाउँले बच्चाले झैँ अलिअलि बिज्याईं गरे। गोठालो गए, ऐँसेलु, कटुस, काफल र भम्किलोजस्ता कन्दमूलहरू खाए। बारुलाका गोला भत्काए। बर्खायाममा बाँदरबाट मकै जोगाउन आफ्नो बारीमा टहरा बनाएर बसे। बाँदर कुर्न बारीमा बसेका कुनै एउटा दिन खिलराजले भोका बाँदरहरूको झापु झण्डै भेटेनन्।
विभेदको पाठशालामा झुल्केको प्रमिथियस
बाँदर हेर्ने काममा उति नजँचेका खिलप्रसाद पढाइमा भने तेजिलै रहे। बा लक्ष्मीप्रसादले ज्योतिषविद्या जानेका हुनाले घरबाटै अक्षरारम्भ गर्ने मौका मिल्यो उनलाई। सनातनी लक्ष्मीप्रसादले छोराको अक्षरारम्भ गराउँदासमेत कपाल खौरिदिए। तर जीवनको संयोग, खगेन्द्रले कहिल्यै व्रतबन्ध गरेनन्, उनलाई त्यस्तो जुरेन। बाबाट अक्षर सिकेका खगेन्द्रले बाआमा, परिवार र समाजबाट सामाजिक व्यवहार र विभेद सिके: ‘दमाई कामीले छोएको खानुहुन्न, अलक्कै बस्नुपर्छ नत्र जात जान्छ, धर्म नाश हुन्छ’ आदि। लोग्ने गुमाएकी हक्की एक गाउँले आफन्त महिलालाई देखाएर खगेन्द्रलाई भनियो, ‘त्यो आइमाई बोक्सी हो, बचेर हिँड्नू।’ भेटेका बेला आफूलाई लाडप्यार देखाउने र मिठोमसिनो खुवाउने ती अग्ली महिला कसरी बोक्सी हुन सक्लिन् भन्ने प्रश्न खगेन्द्रका मनमा खेल्न थाले।
यिनै पहाडे ब्राह्मण कालान्तरमा गएर नेपाली समाजको चर्चित बागी लेखकका रूपमा स्थापित भए। आज भेटिने खगेन्द्र संग्रौला प्रारम्भदेखि नै यत्तिकै बागी र विद्रोही थिए त? उनलाई यो स्तरको विप्लवी केले बनायो? मान्छे कसरी परिवर्तनकामी हुन्छ? रूपान्तरणमा उक्साउने चिजबिज के हुन्? आजका दिनमा पनि खगेन्द्रको बगावतलाई लिएर केही मान्छेहरू किन रोष प्रकट गर्छन्? खगेन्द्रका ट्विटर प्रतिक्रियामा मान्छेहरू किन उनलाई गाली गर्छन्? खगेन्द्रलाई केन्द्र बनाएर भर्खरै प्रकाशित उज्ज्वल प्रसाईको 'एक बागी' किताब पढिसक्दा माथिका कतिपय प्रश्नहरूको उत्तर पाइन्छ।
घरमै एक पेट खान खगेन्द्रलाई सहज तियो, अक्षरारम्भ घरमै भयो। त्यही संरचनात्मक लाभमा उभिएका बेला गाउँकै पहिलो स्कुलमा बर्माको लडाइँबाट फर्केका नेपाली सिपाही (खगेन्द्रकै जन्तरे बा)ले पढाउने छानाबिनाको खुला स्कुलबाट औपचारिक शिक्षा शुरू गरे। ‘ठन्ठेइच् र ट्यान्छान्’जस्ता कासनबाट शुरू भएको यिनको पढाइले त्यतिखेर गति लिन थाल्यो, जब स्कुलमा लिला सिवाकोटी सर आए। उज्ज्वलले लिला सिवाकोटीलाई पुस्तकमा ‘प्रमिथियस’ भनेका छन्। प्राचीन ग्रीक मिथोलोजीमा प्रमिथियस त्यस्तो पात्र हो, जसले देउताको आगो चोरेर आम मान्छेलाई दिलायो। प्रमिथियसको आगोलाई प्रविधि, ज्ञान र सभ्यताको प्रतीक ठानिन्छ।
कल्पनाका देउतालाई टाउकोमा बोक्ने खगेन्द्रको समाजले 'देउता’ बनाउने जिउँदा मान्छेहरूलाई अपमान र शोषण गर्थ्यो, छुनसमेत घिनाउँथ्यो। कुनै न कुनै रूपमा आजसम्म पनि त्यसै गरिरहेछ। तर, स्कुलमा सानो प्रमिथियस आयो र त्यसले अँध्यारो गाउँमा सानो झिल्को झोसिदियो। लिला नआउन्जेलसम्म तल्ला जातका भनिने बच्चाहरू भुइँमा बोरा ओछ्याएर बस्थे। तर बोरामा बस्ने बच्चालाई जब लिला सरले अरू बच्चाहरूसँगै बेन्चमा बस्न उर्दी जारी गरे, गाउँमा लीलै भयो। ‘साना जातका बच्चासँग ठूला जातका बच्चा कुम जोरेर बस्ने’ कुराले गाउँ एक प्रकारले तर्सियो। ‘स्कुलमा समेत जातका आधारमा विभेद कायम रहने हो भने आफूले स्कुल नपढाउने’ चेतावनी दिए लिला सरले। बल्लतल्ल भेट्टाएको सुयोग्य शिक्षक छान्ने कि परापूर्व कालदेखि चलिआएको विभेद जोगाउने प्रश्नमा निरुपाय गाउँलेले विवश हुँदै पहिलो रोजे। यसरी परिवर्तनको सानो झिल्को खगेन्द्रको गाउँ छिर्यो।
सात साल, सत्र साल र पहिलो प्रेम
खगेन्द्रको रमरम सम्झनामा सात सालतिरको हुचाल छ। लिम्बूहरूले ‘आफ्नो भूमिमा आफ्नै शासन हुनुपर्छ’ भन्दै गरेको विप्लवमा परिवारसहित ज्यान जोगाउन मन्दिरभित्र लुक्न गएको हल्का सम्झना छ। पछि पन्ध्र सालको चुनावमा आफूले चुनावी गीतै गाएको सम्झना समेत छ:
भोट खसाउने भोट र बाक्साको,
रूखको चिनो नेपाली कांग्रेसको।
राजनीतिको छक्कापञ्जा नबुझीकन मिठाइको लोभमा कांग्रेसको गीत गाएका खगेन्द्रलाई त्यसबखत लाग्यो, पार्टी भनेको कांग्रेसजस्तो हुनुपर्छ। यसपछि ठूलो कक्षा पढ्नकै लागि खगेन्द्र पहिलोचाेटि गाउँ छाडेर हिँडे, तमोर तरे। यो उन्नाइस सालको कुरा हो, राजा महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायत शुरू गरिसकेको बेला थियो। त्यतिखेर उनी खिलराजबाट खगेन्द्रमा बढुवा भइसकेका थिए। हाइस्कुलमा पढ्न थालेपछि उनलाई साहित्यमा चाख राख्ने मेलो जुर्यो। गुरुप्रसाद मैनाली र प्रेमचन्दलगायतका साहित्य पढेपछि सामान्य मान्छेका कथाहरू रोचक ढंगले लेख्न मिल्ने रहेछ भन्ने जाने उनले। साहित्यमा चाख राखे, त्यसमै सक्रिय हुँदै गए। पछि आफू पढेको तमोर पारिको शारदा हाइस्कुलमा मास्टरै भए।
पढाउने मास्टरलाई आफ्नै स्कुलमा पढ्ने छात्रा बिछट्टै मन पर्यो। तर प्रेम व्यक्त गर्न संकोच माने उनले। स्कुलको छात्रामाथि आँखा लगाउने कुरा अनैतिक विषय भयो। मनको कुनामा आफ्नो आकर्षण दबाएर राखे। खगेन्द्रका कुनै साथीले अति नै उकेरा लाएपछि बडो कष्टले उनले आफ्नो ‘पहिलो प्रेम’लाई चिठी नै लेखे तर मन परेकी कन्याले भनिदिइन्, ‘बाआमाले अन्तै दिन आँट्याछन्। हाम्रो मिलन सम्भव छैन। तिमी धेरै पढ, ठूलो मानिस बन। तिमी भानुभक्त बन।’
महेन्द्र रत्न छात्रवृत्तिको कथा
आईएकाे परीक्षा दिन खगेन्द्र काठमाडौँ हिँडे। २०२४ सालको आईए परीक्षामा देशभरमै उत्कृष्ट बने। त्यही अंककै आधारमा महेन्द्र रत्न छात्रवृत्ति पाए। उतिखेर देशभरमा दुई जनाले पाउँथे त्यो छात्रवृत्ति। शहरियाको सिको गर्दै काठमाडौँमै आएको मौकामा पहिलोपटक मम खाए, अप्ठ्यारो मान्दै पाइन्ट लगाए। निबन्ध प्रतियोगिताका लागि दिइएको पकेट खर्च र गाडी खर्च कटाएर पाइन्ट लगाउने अवसर जुटेको थियो संग्राैलालाई।
महेन्द्रको नाममा छात्रवृत्ति पाएका संग्राैला कहिले यता राजाविराेधी बने त? रूपरेखा, मधुपर्क र गोरखापत्रलगायत अन्य पत्रिकामा साहित्यिक रचना छपाउन भइसकेका संग्राैलालाई सिद्धीलाल सिंह, विश्वकान्त मैनाली र हिरण्यलाल श्रेष्ठको संगतले बिस्तारै 'वामे' बनाउन थाल्यो। उतिखेर यी तीन जना युवकहरू अनेरास्ववियुका जल्दाबल्दा नेता थिए। खगेन्द्रले चेखब, गोर्की, लू सुन र इभान तुर्गनेभका रचनाहरू पढ्न थाले। गोविन्द भट्ट, भवानी घिमिरे, शान्तदास मानन्धर र टिआर विश्वकर्माहरूको संगतमा पुगे। देवकोटा र सिद्धिचरणका बागी रचनाले संग्राैलालाई बागी बनाउँदै लगे। लिला सरले चुभाङमा झोसेको आगो खगेन्द्रभित्र बिस्तारै बल्न थाल्यो। उनी यसबीच दोस्रो प्रेममा परे तर धनीकी छोरी र आफ्नो बीचको वर्गभेद सम्झेर त्यसबाट पन्छने ठहर गरे।
घरि गाउँ घरि शहर
प्रेमको न्यानो र रसिक संसार छाडेर खगेन्द्र एक्कासि क्रान्ति गर्नतिर गाउँतिर हिँडे। काठमाडौँ बुझ्न पाउँदानपाउँदै झोलाभरि माओका रेडबुक बोकेर लमजुङको पहाडी गाउँ खुदीतिर हिँडे। स्कुलमा दिउँसो पढाउने, अरू समय समाजलाई विद्रोह पढाउने। खगेन्द्रले खुदीमा ‘पञ्चे’ र 'वामे'का हाइब्रिड खगेन्द्रजंग गुरुङको विचित्र अवतार देखे। गुरुङ पञ्चायतमा दुईपटक मन्त्री भइसकेका व्यक्ति थिए। राजा महेन्द्रले तुलसी गिरीसँग हिमचिम बढाउन थालेपछि खगेन्द्रजंग बिच्किएर 'लाले' बनेका थिए। फुर्तिफार्ति र रवाफ पञ्चायती नै थियो। पूर्वेली खगेन्द्रले गाउँलाई लाल बुक पढाउने थालेपछि खुदीमा पञ्चायती निगरानी र खतराको त्रास बढ्दो थियो। त्यहाँ बसिरहँदा पञ्चे र पञ्चायती तारो बन्ने त्रासका कारण लुसुक्क काठमाडौँ फर्के खगेन्द्र।
पछि खगेन्द्र तनहुँको चुँदीमा उस्तै लाल किताब बोकेर पुगे। स्कुले विद्यार्थीलाई औपचारिक किताब पढाउन त्यहाँ पुगेका उनले लमजुङकै लयमा गाउँलेलाई लालशिक्षा पढाए। सात साले क्रान्तिमा श्रीभद्र शर्मालगायतको भूमिकाका कारण शर्माहरूको गाउँका नाममा चिनिएको तियो। क्रान्तिको यो भूमिमा यद्यपि शोषण जारी तियो। शोषण सर्वत्र तियो।
मेला हिँडेका किसानलाई पूर्वेली शिक्षक खगेन्द्र सोध्थे, “यी राम्रा खेतबारी कसका? कसका घरमा दुहुना गाईभैँसी छन्? कोहीसँग उति धेरै सम्पत्ति छ, कसैसँग किन छैन, तिनले जन्मँदै सबै सम्पत्ति लिएर आएका हुन् या ब्रह्माजीले कतै शून्यबाट तिनका लागि झारिदिएका हुन्?” जिज्ञासु विद्यार्थी र युवाहरूलाई पनि यस्ता प्रश्न सोध्थे खगेन्द्र। यसैबाट समाजको शोषणको जरो पहिल्याउने यत्न गर्थे। खगेन्द्रले कतै दलितमाथि भएका दलनबारे नाटकै देखाए। गाउँकी गरिब महिलालाई परल मोलभन्दा ६ गुना बढी दाम लिने स्थानीय साहुको कठालो समाते। ‘अन्यायविरुद्ध आवाज उठाउन नसक्ने भए यो पढाइको के काम?’ भन्दै सरकारी अधिकारीलाई प्रश्न सोधे। चुँदीमा पनि स्थानीय ठूलाठालु र सरकारी तारो भएपछि यिनी लागे बन्दीपुर।
बन्दीपुरमा खगेन्द्रले खतरै गरे। बाहुनको छोरो भएर लाहुरेकी छोरी गुरुङ जमुनासँग माया जोडे। लाहुरे गुरुङले ‘नाथे मास्टरसँग, त्यो पनि विजातीय बिहे गर्ने?’ भन्दै छोरीलाई हकारे। ‘बिहे गर्छेस् भने हामी तेरा लागि मर्यौँ’ भने। आफ्ना लागि छोरी मरी भने। खगेन्द्रलाई खोज्दै बन्दुकै बोकेर बन्दीपुर आए। धन्न खगेन्द्र बन्दीपुरमा नभएको बेला पर्यो। जोगिए। अन्ततः आफ्नो आकर्षणलाई प्रेमको रूप दिए र अग्ली नर्स जमुनासँग फुच्चे मास्टरले घर बसाए। यसबीचमा खगेन्द्र दमौली र जुगेडी पुगे। जुगेडी त्यही ठाउँ तियो, जहाँका किसानले सामन्तविरुद्ध असफल विद्रोह गरेका थिए। जसमा चारजनाको ज्यान गएको तियो। जहाँजहाँ खगेन्द्र पुगे, त्यहाँत्यहाँ आफ्नो बर्कतले भ्याएको बागी चेत प्रसारण गरे।
पार्टी र संगठन
स्वनाम साथीको कम्युनिस्ट पार्टीमा संलग्न भए खगेन्द्र; सर्वहारावादी कम्युनिस्ट लिगको कोषाध्यक्ष भए। यसैबीचमा छत्तीस साल आयो। कतिपय कम्युनिस्ट पार्टीले ३६ सालको जनमत संग्रह बहिस्कार गरे, कतिपयले उपयोग गरे। खगेन्द्रको पार्टीले त्यसको कडा निन्दा गर्यो। उतिखेर विद्यार्थी आन्दोलनका कारण धेरै आन्दाेलनकारीहरूको मनोबल उच्च भएको थियो। त्यसकै आधारभूमिमा शिक्षकहरू संगठित हुन थाले। ३६ सालमै शिक्षकहरूको हकहितका लागि भन्दै शिक्षकहरूको अन्तरजिल्ला संघर्ष समिति बन्यो। खगेन्द्र त्यसका संयोजक बने। ३७ सालमा सम्मेलनबाट खगेन्द्र शिक्षक संगठनको उपाध्यक्ष बने। संगठनले आफ्ना माग जारी गर्दै सरकारलाई ‘अल्टिमेटम’ दिएर आन्दोलनको शंखनाद गर्यो। आन्दोलनकै क्रममा उनी पक्राउ परे। केही महिना जेल बसे र छुटे। र, फेरि फर्के काठमाडौँको ओत।
महेन्द्रको मृत्युमा देशभर कपाल खुइल्याउने माहोलमा बालबाल आफ्नो कपाल जोगाए। कृष्ण आचार्यको रारा चाउचाउमा टाइपिस्टको जागिरसमेत खाए। बाँच्नका लागि पिसकाेरे अमेरिकनहरूलाई अंग्रेजी पढाए। चाबेलमा डेरा जमाए। पछि 'पच्चीस हजारजतिमा' त्यहीँ जग्गा किने र चितवनको जग्गा बेचेर यता घर बनाए। निर्मल लामा, पारिजात, स्वनाम साथीहरूसँग हिमचिममा बसे। नियमित सैद्धान्तिक बहस र उठबस गरे। ४६ को चैत्र ३ लाई विशेष पार्ने इन्तजाम गरे। २०४७ सालमा निर्मल लामाले संविधान निर्माणताका लिएको 'ढाडमा टेकेर टाउकोमा हान्ने' विचित्रको रणनीतिबारे धेरै समय गम खाए। २०४६ को परिवर्तनपछि देशले सोचेको विकाश र उदारता हासिल गरेन। मूल्यहरू विघटित हुँदै गए। चित्त दुखाए। यसबीचमा खगेन्द्रका दोस्ती र दौँतरीमा विमल निभा, नारायण ढकाल र गोविन्द वर्तमान थपिए। अखबारी लेखनमा खगेन्द्र जबरजस्ती स्थापित भए। २०५२ सालमा शुरू भएको जनयुद्धको सन्त्रासपूर्ण वातावरणपछि आफूलाई कुन्साङ काका बनाएर लेख्न थाले।
किरिया विद्रोह र ‘जुनकिरी’को पिलपिल
२०५४ मा भौतिकवादी खगेन्द्रकी आमा बितिन् तर खगेन्द्र आम छोरा झैँ आमाको किरिया बसेनन्। बरू उनले कर्मकाण्डी परम्पराप्रति कटु टिप्पणी लेखेर पत्रिकामा छपाए :
कथित लाेकापावदका सामु बिनाप्रश्न, बिनातर्क बिनाअर्थ चुपचाप शिर झुकाउँदै मैले जुल्फी मुण्डन गरिनँ। जनै र कन्दनीको पासो मैले लगाइनँ। आमाको अस्तित्वहीन हंसलाई पिण्डपानी दिन ढिकुरोसम्म म गइनँ। मैले नुन बारिनँ, छाक छाडिनँ। कोराभित्र म पसारो परिनँ। छोटोमा भनूँ विभत्स गरुड पुराणको कुटिल पिँजराभित्र परपीडक, ठगाहा कर्मकाण्डको क्रूर चक्रव्यूहमा म पसिनँ। बीपी कोइराला, देवीप्रसाद उप्रेती, उदारमना जिम्दार बा चित्रबहादुर केसी, रामबाबु आदि यस बागी बाटोका मेरा सामान्य प्रेरकहरू हुन्।
खगेन्द्रले २०५६ मा जुनकिरीको संगीत नामको उपन्यास लेखे। एउटा मौलिक खालको एनजीओले कुनै दलित गरिब बस्तीमा छिरेर त्यसले त्यस गाउँमा थोरै भएपनि सुधार गर्न सफल भएको वास्तविक एउटा सन्दर्भलाई संग्राैलाले उपन्यासमा उतारेका छन् यसमा। तर, त्यस कथालाई लिएर खगेन्द्रको भौतिक कारबाही गर्नु पर्ने आशयको लेख नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले छपाए।
दरबार हत्याकाण्ड, माओवादी युद्ध र २०६२/६३ को जनआन्दोलन
यसबीचमा राजदरबार हत्याकाण्ड भयो। खगेन्द्रले सैन्य सुरक्षाको घेराभित्र भएको उत्रो हत्याकाण्डमा कैफियत देखे। भनिए झैँ उनले दीपेन्द्रलाई दोषी देखेनन् र ‘राजा भएर मरेका’ दीपेन्द्रलाई उनले भतिज सम्बोधन गर्दै लेख लेखे: ‘भतिज दीपेन्द्र मलाई माफ गर!’ माओका रचनाहरूको समेत अनुवाद गरेर माओवादीको वैचारिक धारलाई बलियो बनाउन भूमिका खेलेका खगेन्द्र यसरी माओवादीबाट समेत निशानामा परे।
त्यसअघि माओवादीले जनयुद्ध घोषणा गरेको छैटौँ दिन चाबेलबाटै सादा पाेशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो। खासगरी लेखकहरूको दबाब तथा प्रहरीले आशंका गरेको कारबाहीमा उनको संलग्नता पुष्टि नभएपछि उनी रिहा भएका थिए।
चिनियाँ जनक्रान्तिको नक्कल गरेको भनेर उनले माओवादीको आलोचना गरे। कम्युनिस्ट रूढताविरुद्ध सधैँ उभिए। तर यिनको कटु आलोचनामा उत्रे ऋषिराम बराल, सुरेश आलेमगर र मोहन वैद्य किरण। खगेन्द्रलगायतलाई नौलो साम्राज्यवादीको समेत आरोप लाग्यो। तर प्रतिक्रियात्मक र आवेगी स्वभावका खगेन्द्रले आफूलाई आरोप लगाउने जार्गनजडित सिद्धान्तवालाहरूलाई जवाफ पनि लेखिरहे। प्रचण्डपथको आलोचना गरिरहे। यति हुँदाहुँदै पनि खगेन्द्र जनयुद्धका कतिपय मागहरूप्रति सकारात्मक थिए।
राजाले जननिवार्चित सरकारलाई बर्खास्त गरेर सत्ता हातमा लिएको अवस्थामा उतिखेरका संसदीय पार्टीहरू राजाविरुद्ध प्रतिगमनविराेधी आन्दोलनमा थिए। खगेन्द्र चाहन्थे, प्रतिगमनिवराेधी आन्दोलनमा रहेका दल र माओवादी मिलेर गणतन्त्रका लागि लड्नुपर्छ। पुस्तकमा गगन थापाको उद्धरण छ: “युद्ध लडिरहेको माओवादी र संसदीय राजनीतिमा रहेका दलहरूबीच सहमति बनाएर गणतन्त्रका लागि संघर्ष गर्नुपर्छ भन्ने न्यारेटिभ स्थापित गर्न बौद्धिकहरूमा खगेन्दाइ अग्रपंक्तिमा हुनुहुन्थ्यो।”
२०६२/६३ को जनआन्दाेलनपछि माओवादी खुला राजनीतिमा ओर्लियो। खगेन्द्रले पनि राज्यपुनर्संरचना र समावेशितालगायतका माओवादी मत मन परेपछि तिनलाई काँधमा कमसेकम एक दशक राखे। तर मधेशको जनआन्दोलनका मुद्दामा माओवादी चुकेपछि उनले माओवादीप्रति दिक्दारी पोख्दै लेखे, जसलाई काँधमा राख्यो, उसैले बिस्ट्यायाे। मधेशी जनआन्दोलनमा यिनको संगत सीके लाल अनुभव अजितजस्ता बौद्धिक व्यक्तित्वहरूसँग भयो। खगेन्द्र वामपन्थी लेखकहरूको संगठन निर्माणमा पनि लागिपरे। त्यसमार्फत प्रगतिशील र बौद्धिक हस्तक्षेप गर्न सकिन्थ्यो भन्ने थियो उनलाई तर कालान्तरमा यसभित्र विभिन्न वाम भनिने दलहरूको चर्को राजनीति छिर्यो। ठूलाे उद्देश्य होइन खुद्रा मसिना मुद्दामा प्रगतिशील भनिनेहरू अल्झिए। उनी प्रलेसबाट बिस्तारै पाखा लागे। सम्भवतः उनी त्यहाँ कहिल्यै फर्कनेछैनन्।
निरन्तरको द्वन्द्व, भालेवाद र राष्ट्रवाद
मान्छे भन्नु नै निरन्तर अन्तर्द्वन्द्व र सुधार हो। त्यसो हुँदा मान्छेमा पूर्णताको अपेक्षा आदर्श मात्र हो। तर सुधार र परिवर्तन उद्विकासको अपेक्षा हो। आखिर 'डार्बिनको इभाेलुसन फ्याक्ट्री'को 'प्रडक्ट' हो मान्छे। सामाजिक न्यायका प्रखर पक्षपाती खगेन्द्र कुनै समय औसत मान्छे झैँ थिए। न्याय र समताका कुरा बुझ्दैनथे। कतिपय मुद्दा प्रगतिशील भएपनि कतिपय मुद्दामा पश्चगामी थिए। उग्र राष्ट्रवादी थिए। अनेकन् मुद्दाहरूमा खगेन्द्रमा अनेकन् अन्तर्द्वन्द्व आइरहे। यसैक्रममा उनी परिष्कृत हुँदै गए। उनी पारिजातको शून्यवाद र 'हिरो वर्सिपिङ' (वीर पूजन)सँग लडे, महाजनहरूका पुरस्कारसँग लडे। के प्रगतिशील, के अगतिशील, कुन न्याय, के अन्याय, के गलत र के सही भन्ने वरपर खगेन्द्रले सत्तरी बढी दशक बिताए।
सत्य र न्यायका परिभाषाहरू ढुंगाजस्ता ठोस देखिन्नन्। समाज-संस्थापन, सत्ता र धर्मले सत्य र न्यायका परिभाषाहरू बनाउँछन् र बाँड्छन्। खगेन्द्रका मस्तिष्कमा पनि समाज-संस्थापन, सत्ता र धर्मले त्यस्तै सत्यका परिभाषाहरू हालिदिएका थिए। र, त्यस्ता मान्यतालाई उतिखेरका लिला सरको आगोले भेट्न पाएको थिएन। उनीभित्र नजानिँदो स्त्रीद्वेषी, भाले चिन्तन थियो। जसका कारण पहिलो बच्चाका रूपमा छोरी जन्मँदा खगेन्द्र खिस्रिक्क परे। उनीभित्र नालापानी किल्ला र बलभद्र कुवँरहरूकाे कथामार्फत आरोपित राष्ट्रवादकाे राप थियो र पो त उनले 'खैरे छिनाल्ने' निचाेडसहितको 'नालापानीदेखि समरबहादुरसम्म' भन्ने उग्र राष्ट्रवादी कथा लेखे। पञ्चायती व्यवस्थाले भजाएकाे राष्ट्रवादकाे गहिरो प्रभाव छ त्यस कथामा। पहाडे राष्ट्रवादकाे नजानिँदो गन्ध आउने अर्को कथा पनि लेखे- पहाडियाहरूको बाक्लो बसोबास भएको धरान शहरमा एउटा साहु छ। हिन्दी लबजमा नेपाली बोल्ने उ गरिब आमाछोरीलाई दंग्याउँछ।
भाषिक संवेदनशीलतालाई अन्देखा गरिएको अर्को सन्दर्भ छ : २०६५ साउन गते उपराष्ट्रपतिका रूपमा परमानन्द झाले शपथ लिए। शपथ खाँदा उनले प्रयोग गरेको हिन्दी भाषालाई लिएर नेपाली-पहाडी समुदाय आक्रोशित भए। बाहिर उभिँदा मधेस र मधेसद्वेषी थिएनन् खगेन्द्र तर मनको अन्तरकुन्तरमा मधेसप्रति शंका र द्वेष लुकेर बसेकै थियो। र, 'बागी' संग्राैलाले समेत संसदमा हिन्दी भाषाको प्रयोग उचित होइन भन्ने आशयका लेख अखबारमा छपाए। तर, केही वर्सको अन्तरालमा तिनै खगेन्द्र ‘म किन राष्ट्रवादी होइन?’ भन्दै प्रवचन दिने अवस्थामा पुगे। यसरी खगेन्द्रले मनको मैलाे धुने यत्न गरे। उसो त जीवनको रोचक र रुमानी पाठशालामा खगेन्द्रले मनका कल्मषहरू धोइरहे। र, सम्भवतः आज पनि धोइरहेका छन्। यो नै खगेन्द्रको 'इभाेलुसन' हो। यो उनको स्वीकारोक्ति पनि हो। र, खगेन्द्रको इभाेलुसन आम मान्छेभन्दा द्रुत गतिमा भएको देखिन्छ। चित्तशुद्धि गर्ने र परिवर्तनलाई सहजै स्विकार्ने मामलामा खगेन्द्रले आफूलाई 'लाल किरण उग्र' र आजका क्रान्तिकारी 'दलाधीश'हरूभन्दा अघि राखेका छन्।
‘डार्बिन बाजे’ले निरन्तरको कर्म र प्रयासले, हामीले अपेक्षा गर्नेभन्दा अति नै सुस्त गतिमा जीव र वनस्पतिले हजारौँ-लाखौँ वर्ष गुजारेर आजको अवस्थामा आइपुगेका हुन् भनेर व्याख्यान दिएका छन्। त्यसलाई उद्विकास (इभाेलुसन) नाम दिइयो। एक बागीमार्फत खगेन्द्रको इभाेलुसन बुझ्दा हामी पनि त्यही निचोडमा पुग्न सक्छौँ, समाजभित्रका जटिलता, न्याय र अन्याय बुझ्ने विषय पनि त्यस्तै हो। ह्वात्त बाढी आए झैँ मानव चेतना विकसित हुन्न, नहुने रहेछ। सुस्तसुस्त परिष्कृत हुने रहेछ। तर अनेक संयोगहरूका कारण उनका युगका धेरै 'प्रज्ञाधीश'हरूभन्दा खगेन्द्रमा द्रुत इभाेलुसन भएझैँ लाग्छ।
आमरूपमा व्यक्तिका नाममा लेखिएका किताबहरू तिनको स्तुति र भजनभन्दा उति बेग्लै हुन्न। आत्मकथा लेख्नेले आफूलाई नायकका रूपमा चित्रण गर्छन् र आफ्नो दृष्टि नै जगत्दृष्टि झैँ व्याख्या गर्छन् या व्याख्या गराउँछन्। अतिशय भावनामा बहकन्छन्, कुण्ठा र क्लेश थुपार्छन्। बागी हुँदाहुँदै पनि आवेगी र प्रतिक्रियात्मक खगेन्द्रका नाममा लेखिएको जीवनी पनि कतै विरुदावली हुन पुगेको छैन भन्ने शंका थियो। तर, पुस्तकमा खगेन्द्रलाई नै प्रश्नहरू गरिएका छन्। खगेन्द्र जन्मिए यताको नेपाली समाजको राजनीतिक र आर्थिक घटनाक्रमसँगै पुस्तक अघि बढेको छ। खगेन्द्र आधी र नेपाली समाजको विकासक्रम आधी बन्न पुगेको छ पुस्तक। 'वीरपुजन'मा असहमति राख्ने खगेन्द्रलाई लिएर लेखिएको यो पुस्तकमा खगेन्द्रका कमजोरीलाई बारम्बार उल्लेख गरिएको छ। र, खगेन्द्र जान्नमात्रै होइन, नेपाली समाज जान्नका लागि यो पुस्तक सहयोगी बन्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
