विद्यार्थीलाई व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्दै प्राविधिक शिक्षालय

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुने गरेको छ।

गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन्। 

विद्यालयमा पढाइसँगै तरकारीखेती र मौरीपालन गरेर उनीहरूले यस वर्ष दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्। बाली विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारीखेती र मौरीपालन गरेका छन्। 

विद्यालय परिसरमा मौरीका छ वटा घार छन्। विद्यार्थीले मह उत्पादन प्रक्रिया, चाका संकलन, मौरीको घारको रेखदेख र मह निकाल्ने प्रक्रिया सिकेका छन्। वर्षमा दुईपटक मह निकालेर बिक्री गर्ने गरिएको प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए। 

प्राचार्य गर्बुजाका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास गरेका विद्यार्थीले अहिले आफ्नो घरमा घार राख्न थालेका छन्। विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरी पालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षा याममा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको ज्ञान विद्यालयमा सिकेपछि विद्यार्थी उत्साहित छन्। मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनेगरी अन्य कृषि कर्म पनि गर्दै आएको छ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै बाली विज्ञान, पशु चिकित्सा पद्धतिबारे पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। यहाँ २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटीए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर र तीनवर्षे पशु विज्ञानको पढाइ शुरू गरेको हो।

हाल ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको शिक्षालयका प्राचार्य गर्बुजाले बताए। “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौँ,” उनले भने। तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्दै आएको उनले बताए। विद्यार्थीलाई नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उनको भनाइ छ।

“विद्यार्थीले च्याउ, आलु, धान, किबीलगायत मौसमी र बेमौसमी तरकारीका साथै फलफूल उत्पादन गरेर वार्षिक दुई लाख ५० हजारभन्दा बढीको आम्दानी लिएका छन्,” उनले भने।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराइन्छ। “विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ। यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका छन्” शिक्षालयका संयोजक विष्णु सुवेदीले भने। 

संयोजक सुवेदीका अनुसार यहाँबाट वार्षिक ६ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ। विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर कमाइ गर्ने गरेका छन्। विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ। 

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुने गरेको छ। खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बाली विज्ञान पढ्न आएकी सिर्जना विकले बताइन्।