‘स्पट फिक्सिङ’को मुद्दामा मोहमद आदिलसहित ५ जनालाई सफाइ

काठमाडौँ जिल्ला अदालतले खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी मुद्दामा मोहमद आदिल बलमसहित पाँच जनालाई सफाइ दिएको छ।

काठमाडौँ– खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी मुद्दामा मोहमद आदिल बलमसहित पाँच जनाले सफाइ पाएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनीहरूविरुद्धको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुरमा दाबी नपुग्ने फैसला गरेको हो।

उनीहरूमाथि नेपाल टी२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोग थियो। लिग २०७९ पुस ९ देखि २७ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो। 

उक्त लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्ने गरी मिलेमतो र अनलाइन सट्टेबाजी गरेको भन्दै तीन खेलाडीसहित पाँच जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

आदिल, महबुब आलम र नितेश साहविरुद्ध जनही तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिबाना माग गर्दै मुद्दा परेको थियो। त्यस्तै, नवीन कँडेल र रवि माझीविरुद्ध पनि मुद्दा दायर भएको थियो।

‘स्पट फिक्सिङ’ प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०७९ फागुन ५ गते आदिलसहित ५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।