लामो समयपछि भएको वर्षाले देशका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ भने किसानलाई राहत मिलेको छ।
काठमाडौँ– ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ का हर्कबहादुर सुनुवारले आफ्नो बारीमा दुई मुरी तोरी फलाउँथे। तर यस वर्ष उनले ६ पाथी मात्रै तोरी भित्र्याए। तोरी लगाएदेखि पानी नपर्दा जेनतेन बीउ मात्रै फर्किएको उनी सुनाउँछन्।
६ महिनापछि बुधबार आकाशे पानी परेपछि हर्कबहादुरले राहत महसुस गरेका छन्। “तोरी त राम्रो फलेन। पाक्न बाँकी गहुँ र जौ अलिअलि भए पनि आउने भयो। मकै लगाउन बेलैमा पाइने भयो,” उनले भने।
ताप्लेजुङ जिल्लामा गत असोजपछि पहिलो पटक पानी परेको हो। अहिलेको वर्षाले हर्कबहादुरजस्ता थुप्रै किसानले राहत महसुस गरेका छन्। पाथीभरा याङवरक गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङ लामो समयपछि परेको पानीले किसानहरू खुशी भएको बताउँछिन्। पानी नपरेपछि लेँकका किसान धुले मकै लगाउन बाध्य भएको र बेँशीका किसान पानी कुरेर बसेको उनले बताइन्।
पूर्वी नेपालको ओखलढुंगामा रहेका जलवायु विषयका जानकार ङमिन्द्र दाहाल बुधबार भएको वर्षाले मानिस, वनस्पति र पशुचौपायालाई एकैसाथ राहत भएको बताउँछन्।
“पानी साह्रै राम्रोसँग पर्यो र एक थोपा पनि खेर गएन। सबै माटोले सोस्यो। प्रतिघण्टा १० मिलिमिटरका दरले पानी पर्नु एकदमै राम्रो हो,” उनी भन्छन्, “एकै पटक ह्वार्ह्वार पानी परेको भए सबै बगेर खेर जान्थ्यो। तर लामो समयसम्म सिमसिम वर्षा भयो। त्यसले राम्रो गर्यो।”
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार कोेशी प्रदेशमा सबैभन्दा बढी पानी परेको छ। धनकुटा जिल्लाको पाख्रिबास केन्द्रमा ५९.४ मिलिमिटर वर्षा मापन गरिएको छ। देशभरका ८३ वटा वर्षा मापन केन्द्रमध्ये ४३ केन्द्रमा वर्षाको मात्रा नापिएको छ।
बिहीबार दिउँसोसम्मको विवरणअनुसार ३३ वटा वर्षा मापन केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। त्यस्तै, १७ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र दुई वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
फागुन १८ देखि जेठ १८ सम्म प्रि–मनसुनको समय हो। यस अवधिमा देशभरको सरदर वर्षा २५.७ मिलिमिटर भए पनि यसपालि अहिलेसम्म ११.४ मिलिमिटर मात्र वर्षा भएको छ।
प्रि–मनसुनको थालनीमै कोशी प्रदेशमा राम्रो वर्षा भएकाले त्यसले डढेलो र वायु प्रदूषण नियन्त्रणमा सहयोग पुगेको जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाकी प्रमुख सिनियर मेटेरियोलोजिस्ट विभूती पोखरेल बताउँछिन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. विनोद पोखरेल बंगालको खाडीमा विकसित न्यूनचापीय प्रभाव (लो प्रेसर) ले वर्षा गराएको बताउँछन्। “अहिले मौसम अनुमानै गर्न गाह्रो छ। शनिबारसम्म पानी पर्ने सम्भावना देखिन्छ,” उनी भन्छन्, “पूर्वी नेपालमा राम्रो वर्षा भए पनि प्रि–मनसुनमा पश्चिममा पानी परेको छैन।”
यस वर्ष पश्चिम नेपालमा हिउँदे वर्षा भए पनि पूर्वमा वर्षा भएको थिएन। त्यसको प्रभाव पूर्वी नेपालमा ज्यादा परेको थियो।
निभ्यो डढेलो
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको वर्षापछि सुदूरपश्चिम प्रदेशबाहेक अन्य क्षेत्रमा लागेको डढेलो निभेको छ। यस वर्ष हिउँदमा पानी नपर्दा पूर्वी नेपाल डढेलोको चपेटामा परेको थियो।
गत वर्ष पुस १६ देखि चैत २० सम्मका आगलागीका घटनामा ४८ जनाले ज्यान गुमाउनुका साथै १४५ जना घाइते भएका थिए। ५८ करोड १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको थियो भने ९८५ वटा पशु चौपायाको जलेर मृत्यु भएको थियो।
त्यस अवधिमा कोशी प्रदेशमा मात्र ४८७ ठाउँमा आगलागी तथा डढेलोका घटना भए। त्यसमा परेका आठ जनाले ज्यान गुमाए। प्राधिकरणका अनुसार जलेर ४५ जना घाइते हुनुका साथै १७६ वटा पशु चौपायाले ज्यान गुमाए। आगलागीमा परी २४ करोड ४० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
