कोशीमा ३ महिनामा ४८८ आगलागीका घटना, १२ जनाले गुमाए ज्यान

प्रहरीका अनुसार घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्।

मोरङको रंगेली–३ बाबुसाहेव टोलको सन्थाल वस्ती शनिबार आगलागीबाट नष्ट घरहरू । तस्वीर: विवेक मिश्र/रासस

झापा– कोशी प्रदेशमा सुक्खा याम शुरू भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रणबाहिर जाँदा आगलागीका घटना हुने गरेका उनले बताए।

स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रहरी उपरीक्षक पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दीप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए। 

“आमाबुवा खेतबारीमा काम गर्न जानुभएको रहेछ,” घटनाबारे जानकारी उनले दिँदै भने, “गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ। उनीहरू भाग्नै सकेनन्।”

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन्। झापाको गौरीगन्ज गाउँपालिका–१ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो।

गत पुस १ गते धनकुटा नगरपालिका–५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर ११ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका–१५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा १५ करोड रुपैयाँको क्षति भएको छ। काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठ वटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। 

यही चैत २ गते झापाको रतुवामाई वृक्षारोपण आयोजनामा ठूलो डढेलो लागेको थियो। आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको सथानीयको आरोप छ। 

प्रहरीका अनुसार घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्।