सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
सल्लेरी– टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए। हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो। त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन।
त्यसैले पर्यटक लट्ठीको सहारामा आधार शिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरू नवराज विक, मिंमार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए। विभिन्न देशबाट आएका पर्यटक भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरू भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए।
विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो। हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका सारथि भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा दुई हजार रुपैयाँ कमाउन पनि मुस्किल हुन्छ।
“आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ। त्यसमाथि ४० किलोको झोला बोकेर पर्यटकसँगै आधार शिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ,” भरिया नवराज विकले भने, “जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ। कठिनाइ थपिँदै जान्छ। तपाईंहरूले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन।”
उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो। सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उनी पर्यटकको भारी बोकेरै घरखर्च चलाउदै आएका छन्।
तर यही भारी बोक्ने काम पनि वर्षभरी भने पाइँदैन। सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ। पहिलो असोजदेखि मंसिर र दोस्रो फागुनदेखि वैशाख। यी दुवै यामको शुरूआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विक जस्ता भरिया काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन्। अनी लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन्। उनीहरू सो ‘सिजन’भर यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्किन्छन्।
“श्रीमती र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो। यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु। तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ,” विकले पीडा सुनाए।
विकका अनुसार दुई हजार ८६० मिटर उचाइको लुक्लादेखि पाँच हजार ३६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिन लाग्छ। त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ। यसरी उनीहरूले दैनिक एक हजार ५०० देखि दुई हजार रुपैयाँका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा १८ हजारदेखि २० हजारसम्म कमाउँछन्। कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ। खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन।
विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महंगो छ भरियाका लागि त्योभन्दा कम छैन। “भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन। महंगो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो,” उनले भने, “पर्यटक जसरी महंगा होटलमा कहाँ बस्न पाउनु। हामी त भट्टी खोज्दै हिँड्नुपर्छ।”
विकको जस्तै पीडा उनीसँगै थकाइ मार्दै गरेका मिंमारले पनि सुनाए। “ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ। पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन,” उनले भने, “भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ।”
उनका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको ५०० देखि ७०० सम्म तिर्नुपर्छ। “दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन्। त्यही कहिलेकाँही पाइने टिप्सले दुःख भुलाइदिन्छ,” हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उनले भने।
खुम्बुका लागि भरिया सस्ता ढुवानीकर्ता हुन्। “सवारी गुड्ने सडकको सुविधा छैन। हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महंगो हुन्छ,” गोरक्सेपमा भेटिएका जीवन कुलुङले भने, “ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम?” खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुंगा, खोटाङलगायत जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उनले सुनाए।
भरियालाई छैन सम्मान
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म भरिया हरपल साथमै रहन्छन्। भरियाको अभावमा लुक्लादेखि गह्रौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन। उनीहरू भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन्। कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ। खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन्।
तर भरियाले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ। “हामीहरू दिनभर भारी बोकेर उकालो चढ्छौँ। रात परेपछि बासको चिन्ताले सताउँछ,” उनले भने, “होटलमा बास बस्न मुस्किल हुन्छ। भारी बिसाउने वित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ।” कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ।
पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएको भरिया नवराज बस्नेतको तर्क छ। “होटल व्यवसायीले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ। त्यो हामीले भोग्दै आएका छौँ। हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ,” उनले गुनासो गरे।
‘पोर्टर हाउस’ बन्दै
खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियासँग प्रतिव्यक्ति २५ रुपैयाँका दरले शुल्क लिँदै आएको छ। तर भरियाका लागि भने उचित बन्दोबस्त हुन सकेको छैन। हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको गाउँपालिका अध्यक्ष मिंमाछिरि शेर्पाले बताए।
“भरियाका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ। जहाँ उनीहरूका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ,” उनले भने। पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उनले बताए।
खुम्बुको पर्यटन बचाउन भरियाले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण थालिएको उनको भनाइ छ। हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसल प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायत स्थानमा भने भरियाले समस्या भोग्नु परेको अध्यक्ष शेर्पाले बताए। भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दिगो रूपमा समाधान हुने उनको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
