साहित्यकार परशु प्रधानको निधन

प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।

काठमाडौँ– साहित्यकार परशु प्रधानको निधन भएको छ। प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। 

प्रधानको मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा प्रतीक प्रधानले जानकारी दिएका छन्। प्रधानका दुई छोरा र दुई छोरी छन्। 

२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले नेपाली साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थिए। उनले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए। 

उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा संग्रह प्रकाशित कृति हुन्।

यस्तै, नानीको कथा, सुनको छाती, रीताको स्कूललगायत एक दर्जन बालकथा पनि प्रकाशित भएका छन्।