सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।
फिक्कल– गत वर्षसम्म दुई लाख ५० हजार रुपैयाँ आम्दानी दिएको इलाम रोङ–६ सलकपुरका यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख रुपैयाँ मात्र आम्दानी दियो। सुन्तलाको मूल्य घटेर नभई रोगले बोट मरेपछि आम्दानी पनि घटेको उनले बताए।
“विगतका वर्षमा सुन्तला बिक्रीबाट दुईदेखि दुई लाख ५० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन,” उनले भने, “ उत्पादन नै कम भएपछि आम्दानी पनि घट्यो।”
अधिकारीको बगैँचामा पहिले १५० बोटसम्म सुन्तला थिए। अहिले यो ७० मा सीमित भएको छ। पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन्। केही बोट मर्न थालेका छन्। बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेनन्। फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनले बताए।
सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए। “रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ। विज्ञको टोली पनि आउनुभयो,” उनले भने, “तर पनि रोग पत्ता लागेन।” रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा रहेको उनले सुनाए।
उक्त गाउँका अन्य किसानको पनि अवस्था उस्तै छ। किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए। वार्षिक दुई लाख रुपैयाँको सुन्तला बेच्ने गरेका खनालको बगानमा यस वर्ष एक दाना पनि सुन्तला फलेन। “मेरो बगैँचामा ६० वटा सुन्तलाको बोट थियो, सिजनमा दुई लाखसम्म आम्दानी दिन्थ्यो,” उनले भने, “तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यस पटक बेचिएन।”
व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका दर्जनौँ किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताए। सुन्तलाको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ।
मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा अनौठो रोगले संक्रमण गर्न थालेपछि किसानहरू वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन्। सलकपुरका २५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगका कारण अहिले ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन्।
सलकपुरलाई कुनैबेला सुन्तलाको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको थियो। “विगत यहाँ वार्षिक करिब चार करोड रुपैयाँको सुन्तला उत्पादन हुने गरेको थियो,” अधिकारीले भने, “बगैँचाबाटै प्रतिकिलो १२० रुपैयाँका दरले बेच्दासमेत यस वर्ष करिब एक करोडको मात्र सुन्तला उत्पादन भएछ।”
यहाँ उत्पादित सुन्तला झापाको चारआली, बिर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत बजारमा निकासी हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
